काठमाडौं, असार २० गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।
बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै सांसद झाले आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)सँग लागेर प्रधानमन्त्रीको राजीनामा नमागेको बताउनुभयो।
उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियाप्रति रास्वपाको प्रश्न रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पार्नुभयो। उहाँले आफूहरुलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘अरु दलले राजीनामा मागेको कुराको जिम्मेवारी हामी लिदैनौँ। हामीले बोल्नै पाएका छैनौँ भनेपछि हामीले के माग्यौँ भन्नेकुरा कसरी आंकलन गर्नुहुन्छ ? एकैतिर बसेको भएकोले उहाँहरु पनि उठ्नुभयो। हामी पनि उठ्यौँ। तर हामी फरक बेन्चमा बस्छौँ। उहाँहरु फरक तरिकाले बस्नुहुन्छ। उहाँहरुको राजनीतिक अस्तित्व र परिचय सदनमा फरक छ। त्यसैले गर्दा मिडियाले पटक–पटक हामीलाई एमालेसँग जोडेर जुन हाम्रो परिचय स्थापित गर्न खोजिरहेको छ। त्यो गलत हो। हामी फरक मत, फरक पहिचान, फरक सिद्धान्तले र फरक दलको परिचयले त्यहाँ पुगेका छौँ। प्रधानमन्त्रीले सार्वभौम सदन र यसको राजनीतिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रक्रिया सबैलाई अवहेलना गर्ने अभिव्यक्ति दिनुभएको छ। त्यो अभिव्यक्ति भावनात्मक रुपमा यत्तिकै आएर, उहाँले विवेक गुमाएर बोल्नुभएको हो कि कुन तर्कले बोल्नुभएको हो ? त्यो स्पष्ट पार्न चाहन्थ्यौँ। तर हामीले बोल्ने मौका पाएनौँ।’’
उहाँले मिडियाले रास्वपालाई एमालेले गर्ने गतिविधिसँग जोडेर हेर्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले आफूको फरक पहिचान र सिद्धान्त रहेको उल्लेख गर्दै फरक दलको परिचयसाथ आफू संसदमा रहेको स्पष्ट पार्नुभयो।