• १३ मंसिर २०८१, बिहिबार

नमुना सदरमुकाम निर्माण अलपत्र

blog

नमुना सदरमुकाम निर्माण स्थल, कावासोती । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, असार २० गते । देशकै कान्छो जिल्ला नवलपुरको नमुना सदरमुकाम निर्माण स्थल कावासोतीमा निर्माणको काम सुरु गर्ने विषयमा अन्यौलता बढ्दै गएको छ । शिलान्यास भएको चार वर्ष पुग्दा समेत कार्यालय बन्नु त पर, कामसमेत सुरु भएको छैन । 

सङ्घीयता अगाडि सामान्य कामका लागि परासीसम्म पुग्नुपर्ने बाध्य भएका स्थानीय अहिले खुसी भएका छन् । तर जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरु गर्ने विषयमा नै अहिले अन्यौलता सिर्जना भएको छ । काम कहाँ कसरी सुरु गर्ने भन्ने विषयमा नै अहिले अलमल भएको छ ।

शिलान्यास गर्दा निर्माण गरिएको ताम्रापत्र र शिलालेख पनि अत्तोपत्तो छैन । वर्षायाममा नमुना सदरमुकाम निर्माण स्थलमा पानी भरिएर ताल बन्ने गरेको छ । स्थानीय हरिकला भण्डारीले भन्नुभयो, “नजिकै सदरमुकाम भएपछि प्रशासनिक काम छिटो हुने आशामा बसेका स्थानीय ४ वर्षसम्म काम नहुँदा निराश बनेका छन् । सुरुमा एकीकृत रूपमा सबै कार्यालयको सेवा एकै स्थानबाट दिने गरी भवन बनाउने योजना रहेको थियो तर पछि उस्तै प्रकारका सेवाका प्रकृति भएका दुई कार्यालय जोडेर भवनको डिजाइन तयार पारिएको थियो । 

करिब रु १६ अर्ब लागतमा नमुना सदरमुकाम निर्माण गर्ने योजना रहेको थियो । तर भवन निर्माण कुन ढङ्गबाट अघि बढाउने अझै अन्यौलता रहेको छ । नमुना सदरमुकाम निर्माणको काम वातावरण प्रभाव मूल्याङ्कन, डिजाइन लागत अनुमान तथा सबै भवनलाई पुग्नेगरी बजेटको सुनिश्चितता हुन नसक्दा निर्माण कार्यले गति लिन नसकेको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताउनुभयो । 

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले सोही अनुसार काम अघि बढाउने योजना बनाएको भएपनि वहुवर्षीय कायम गर्ने विषय अर्थ मन्त्रालयबाट निर्णय नहुँदा काम कसरी बढाउने भन्ने नै अन्यौलता सिर्जना भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । एकै वर्षमा निर्माणको काम सम्पन्न गर्न नसकिने हुनाले आफूहरूले वहुवर्षीय योजनामा राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो । 

नमुना सदरमुकाम निर्माणस्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरी प्रारम्भिक गुरुयोजना तयार पारिएको थियो । साथै पुस्तकालय, सभा हल, बैङ्क, अतिथिगृह, आवास गृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ । यी संरचना निर्माणका लागि चार वर्ष पहिले योजनाअघि सारिएको थियो । तर निर्माणस्थलमा कच्ची बाटो बनाउने कामबाहेक हालसम्म कुनै कार्य अघि बढ्न सकेको छैन ।