• ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति असामान्य : एमाले

blog

नेकपा (एमाले) संसदीय दलको बैठकमा संसदीय दलका नेता तथ अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २० गते । नेकपा (एमाले) को संसदीय दलको बुधबार बसेको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति असामान्य रहेको भन्दै आपत्ति जनाएको छ । एमाले सचेतक महेश बर्तौलाले बैठकपछि सञ्चारकर्मीसँग बोल्दै देशको स्वाभिमान, सार्वभौमसत्ता र संसद्को गरिमा विपरीत सो अभिव्यक्ति सार्वजनिक भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्रीले यो देशको स्वाभिमानको विपक्षमा, देशको सार्वभौमसत्ता, देशको संसद्को गरिमा विपरीत अभिव्यक्ति दिनुभयो । संसद्ले बनाएको प्रधानमन्त्रीलाई व्यक्तिले बनाएजसरी सार्वजनिक रूपमा दिएको अभिव्यक्तिलाई यो संसदीय दलको बैठकले गम्भीर रूपमा लिएको छ ।”

उहाँले संसदमाथि, जनादेशमाथिको अपमानको विषयमा सदनमा जोडदार रूपले आवाज उठाउने बताउनुभयो । “संसद्ले बनाएको प्रधानमन्त्री स्वयम् कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको विषय सामान्य विषय होइन । यसलाई कडा ढङ्गबाट उठाउँछौँ” उहाँले भन्नुभयो ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीको गरिमालाई कायम राख्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ । बैठक आज बानेश्वरस्थित संसद् भवनमा बसेको थियो ।