• १४ मंसिर २०८१, शुक्रबार

नेपालगन्जलाई डुबानबाट जोगाउन नाला र ढलको निकास खोलियो

blog

सफा गरिएको नाला क्षेत्र। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, असार २० गते। वर्षायाम सुरु भइसकेकोले नेपालगन्जलाई डुबानबाट जोगाउन उपमहानगरपालिकाभित्र रहेका नहर तथा नालाको निकास खोलिएको छ। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले वर्षायाम सुरु हुनु भन्दा अगाडि नै सबै नालाको निकास खोल्ने अभियान नै सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँले सरसफाइसँग सम्बन्धित कर्मचारीलाई नाला निकास र सरसफाइमा केन्द्रित गरिएको जनाउनुभयो। नगर प्रमुख विष्टले थप्नुभयो, ‘‘निकास नभएकै कारण बर्सेनि डुबानको समस्या थियो, त्यस्तो अवस्था अब नहोस् भन्नेमा हामी पहिल्यैदेखि सचेत थियौँ।’’

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार नेपालगन्जका सानाठुला सबै नाला सफाइ गरिएको छ। नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठुलो नाला सफाइको काम गरिएको छ। जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिएको छ। 

नेपालगन्जका उपप्रमुख कमरुद्दीन राईले उपमहानगरपालिकाको मुख्य समस्याको रूपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताउनुभयो। 

उपमहानगरपालिकाका अनुसार पहिलो चरणमा ठुला नाला र दोस्रो चरणमा साना नाला सफाइ गरिएकोले नेपालगन्ज डुबान हुनबाट जोगिने छ। केही ठाउँमा सफाइ गर्ने काम भइरहेकोले केही दिनमा सफाइ सक्ने गरी काम अघि बढाइएको छ।