जानु पाण्डे
कपिलवस्तु, असार २० गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहमै पशु जाँच प्रयोगशाला स्थापना गर्ने भएको छ । मन्त्रालयले आगामी आव २०८०/८१ मा बजेट नै छुट्याएर यो कामको सुरुवात गर्न लागेको छ ।
आगामी आवमा एकै पटक १ सय ६१ पालिकामा पशु जाँच प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन भएको कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालका निजी सचिवालय पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिनुभयो ।
बुढाका अनुसार ७ प्रदेशबाट हरेक प्रदेशका २ जिल्लाका पालिकामा पशु जाँच प्रयोगशाला स्थापना हुनेछ । १४ जिल्लाका १ सय ६१ पालिकाका लागि ६ लाखका दरले मन्त्रालयले बजेट विनियोजन गरेको छ । तीन वर्षभित्र ७ सय ५३ वटै पालिकामा प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको तयारी छ ।
पहिलो चरण अन्तर्गत कोशी प्रदेशको इलाम र सुनसरी, मधेस प्रदेशको रौतहट र सर्लाही, बागमती प्रदेशको काभ्रेपलाञ्चोक र नुवाकोट, गण्डकी प्रदेशको तनहुँ र पर्वत, लुम्बिनी प्रदेशको कपिलवस्तु र अर्घाखाँची, कर्णाली प्रदेशको दैलेख र सुर्खेत, सुदूरपश्चिम प्रदेशको बैतडी र कञ्चनपुर जिल्लाका सबै पालिका समेटिएका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री भुसालले पशुधनको संरक्षण गरी पशुजन्य पदार्थको उत्पादनमा सहयोग गर्ने बताउनुभयो । साथै पशु स्वास्थ्य सुरक्षामा पनि यसले सघाउने उहाँको विश्वास छ ।
अहिले प्रयोगशालाको अभावमा अधिकांश पशुपालक किसानले अनुमानको भरमा पशुको औषधि उपचार गर्दैआएका छन् । मन्त्री भुसालले भन्नुभयो, ‘सरकारले नौलो प्रयोगको रूपमा हरेक पालिकामा प्रयोगशाला स्थापना गर्न लागेको छ । पशुका दूध, गोबर, पिसाब र रगतबाट देखिने रोगको निराकरणमा यसले भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
हाल स्थानीय तहमा पशुको आधारभूत चेकजाँच हुने प्रयोगशाला छैन । जसले गर्दा किसानले बर्सेनि पशुपालनमा घाटा व्यहोर्न परिरहेको छ । पशुमा देखिने सामान्य रोगको जाँच हुन नसक्दा अन्धाधुन्ध औषधि चलाउने प्रवृत्ति रहेको मन्त्री भुसालको बुझाइ छ । अब यो प्रयोगशाला निर्माणपछि त्यो समस्याको अन्त्य हुनेछ, उहाँले भन्नुभयो ।
पालिकाले पशुजाँच प्रयोगशालाका लागि चाहिने उपकरण आफै खरिद गर्न सक्नेछन् । माइक्रोस्कोप, रिएजेन्ट (चेक जाँच गर्ने रसायन), प्रयोगशालामा प्रयोग हुने उपकरण खरिद हुनेछ । पालिकाका कृषि तथा पशु विकास शाखामार्फत यसको काम हुने जनाइएको छ ।