• १५ मंसिर २०८१, शनिबार

बागमती मन्त्रिपरिषद् बैठक

पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय

blog

बागमती प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असार २० गते । बागमती प्रदेश सरकारले आफ्नो मातहतमा रहेका दुई वटा पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको छ । 

बागमती प्रदेश सरकारको बुधबार यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको पर्यटन उद्योग तथा सहकारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजना, हेटौँडा र पर्यटन विकास आयोजना एकाइ कार्यालय, काठमाडौँको म्याद दुई वर्षका लागि थप्ने निर्णय गरेको हो । 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आगामी साउनदेखि २०८२ असार मसान्तसम्म दुई वर्षका लागि म्याद थप्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै, बैठकले प्रदेशका दशौंं तहका डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवाको एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठले दोलखाको जिरी नगरपालिकामा मानवनिर्मित पर्यटकीय ताल निर्माण आयोजनाका लागि जग्गा प्राप्ति ऐनअनुसार करिब ५४१.२३ रोपनी व्यक्तिगत जग्गा प्राप्ति गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, दोलखाका प्रमुखलाई जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही चलाउन जिम्मेवारी तोकिएको बताउनुभयो ।

साथै बैठकले प्रमुख प्रतिपक्षी दललगायत प्रतिपक्षी दलहरूसँगको सहमतिअनुसार प्रतिपक्षी दलहरूको छुट्न गएका योजनाहरू आगामी आवको बजेटमा समावेश गर्ने निर्णय गरेको छ ।