• ११ असोज २०८१, शुक्रबार

उपराष्ट्रपतिसँग फ्रान्सेली राजदूतको भेटवार्ता

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादव ।

काठमाडौं, असार २० गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उपराष्ट्रपति कार्यालयमा मङ्गलबार भएको भेटवार्तामा उपराष्ट्रपति यादवले सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपाल र फ्रान्सबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्दपूर्ण रहेको उल्लेख गर्दै नेपालले दुई मुलुकबीचको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभएको थियो ।

उपराष्ट्रपति यादवले भन्नुभयो, “उच्च राजनीतिक नेतृत्व र कूटनीतिक तहमा भ्रमणको आदान–प्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि दुई मुलुकबीचको सम्बन्धका आधारस्तम्भ हुन् । नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको बैठकले दुई मुलुकबीचको आपसी सम्बन्धलाई थप फराकिलो तथा मजबुत बनाउन आवश्यक भूमिका खेल्नेमा आशावादी छु ।”

उहाँले दिगो शान्ति, स्थायित्व र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जनाउँदै नेपालको विकास पथमा मित्रराष्ट्र फ्रान्सको निरन्तर साथ र सहयोग रहनेमा आफू आशावादी रहेको बताउनुभएको थियो । उपराष्ट्रपति यादवले नेपालको पर्यटन प्रवर्द्धनका लागि फ्रान्सको सहयोग हुने विश्वास व्यक्त गर्दै फ्रान्सबाट प्रत्यक्ष वैदेशिक लगानीको अपेक्षा रहेको बताउनुभएको थियो ।

सो अवसरमा फ्रान्सेली राजदूत गिल्स बोरबाओले नेपालका हिमाल चढ्नका लागि फ्रान्सेलीहरू उत्साहित रहेको बताउँदै नेपालमा गणतान्त्रिक सङ्घीय लोकतन्त्रको स्थायित्वका लागि आवश्यक सहयोग गर्न फ्रान्स कटिबद्ध र प्रतिबद्ध रहेको बताउनुभएको थियो । साथै उहाँले नेपालमा फ्रान्सेली पर्यटकमार्फत आर्थिक विकासमा सहयोग गर्न फ्रान्स तत्पर रहेकामा जोड दिनुभएको थियो ।