• १७ जेठ २०८१, बिहिबार

बाढीले काठेपुल बगाएपछि लिमीको तील गाउँ जाने सडक अवरुद्ध

blog

बाढीले बगाएको काठेपुल । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार २० गते ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा बाढीले गाडी गुड्ने काठेपुल बगाएको छ । लगातारको वर्षासँगै आएको ढुङ्गासहितको बाढीले सो पुल बगाएको हो । बाढीले काठेपुल बगाएपछि लिमीको तील गाउँ जाने सडक अवरुद्ध भएको छ ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीका तीन गाउँमध्य हल्जी र तील गाउँ जोड्ने यातायातका साधन सञ्चालन हुँदै आएको काठेपुल बाढीले बगाएको बताउनुभयो । दुई गाउँ हल्जी र तीललाई सडक सञ्जाल जोड्नका लागि तिलचुङ खोलाको लिमी कर्णाली नदीमा आएको बाढीले काठेपुल बगाएर लगेको हो ।

उक्त काठेपुल गतवर्ष निर्माण भएको हो । सो पुल निर्माण गर्न ४२ लाख रुपियाँ लागेको थियो । सो पुल बाढीले बगाएपछि लिमीको तील गाउँमा यातायातका साधन सञ्चालन बन्द भएको छ ।

उहाँले काठेपुल बाढीले बगाएर लगेपछि यातायातका साधनका साथै दुई गाउँ र हिल्सा हुँदै ताक्लाकोट जाने स्थानीयलाई समेत समस्या देखिएको बताउनुभयो । हल्जी र जाङ गाउँबाट तील र हिल्सातर्फ जाने अन्य विकल्प छैन ।