• ८ वैशाख २०८१, शनिबार

महोत्तरीमा गोली चल्दा एक जना घाइते

blog

रवीन्द्र उप्रेती
बर्दिबास, असार २० गते ।
महोत्तरीको रामगोपालपुर–१ मा गोली चल्दा एक जना घाइते भएका छन् । आपसी विवादका क्रममा मङ्गलबार साँझ गोली चल्दा ४४ वर्षीय श्रवण यादव घाइते हुनुभएको हो ।

गाला र कुममा गोली लागेर घाइते हुनुभएका यादवको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।  यसअघि यादवको पर्सा देवाडस्थित जानकी एकेडेमी हस्पिटलमा उपचार भएको थियो । यादवको अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि जानकी हेल्थ केयर लगिएको हो ।

जिल्ला प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिलीप गिरीका अनुसार आपसी विवाद चर्किदै गएपछि २० वर्षीय कौशल मण्डलले कटुवा पेस्तोलबाट तीन राउण्ड फायर गरेका थिए । मण्डलले फायर गरेको गोली यादवलाई लागेको थियो ।

प्रहरी प्रवक्ता गिरीले मण्डललाई कटुवा पेस्तो र तीन थान खोखासहित घटनास्थलबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझको बेला रामगोपालपुर–१ स्थित बसपिट्टी र लक्ष्मीपुरका युवाबीच विवाद बढ्दै गएपछि मण्डलले गोली चलाएको स्थानीयको भनाइ छ ।