• १३ मंसिर २०८१, बिहिबार

वडा कार्यालय भवन प्रयोगविहीन

blog

लीलाराज खड्का 

बिर्तामोड, असार २० गते । झापाको कनकाई नगरपालिका–६ का लागि बनाइएको भवन प्रयोग नहुँदा अलपत्र बनेको छ। गत वर्ष निर्माण सम्पन्न भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको छ। 

स्थानीय रामचन्द्र पौडेलले उपलब्ध गराएको दुई कट्ठा जग्गामा बनेको सो भवनको संरचना उपयुक्त नहुँदा हालसम्म प्रयोगमा आउन सकेको छैन। कार्यालय प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको छ भने शौचालयमा राखिएको पानी ट्याङ्की हावाले उडाएको छ। आफ्नै भवनमा कार्यालय राख्न नपाएपछि वडा कार्यालय भने स्वास्थ्यको भवनमा राखिएको छ।

नयाँ कार्यालय भवन साँघुरो र अपायक भएकाले वडा कार्यालय सार्न नसकिएको वडाध्यक्ष दीर्घबहादुर थापाले बताउनुभयो। उहाँले भन्नुभयो, “असुविधा, साँघुरो, कर्मचारी राम्ररी बस्ने ठाउँ नभएको सानो वडा कार्यालय बनेका कारण सुरक्षाको दृष्टिकोणले पनि एकान्त, भुइँतला र टिनको छानो मात्र भएकाले अहिले त्यहाँ सर्न सकिएको छैन।” कार्यालय भवन एकान्तमा टिनको छानो भएको र सुरक्षाका दृष्टिकोणले असुरक्षित भएकाले वडा कार्यालय तत्काल सार्न नसकिएको थापाको भनाइ छ।

इलामको सूर्योदय नगरपालिका–८ मा कार्यालय रहेको सिद्धिथुम्का निर्माण सेवा प्रालिले भवन निर्माण गरेको हो। नगरपालिकाले सूर्योदय निर्माण सेवालाई उक्त भवन निर्माणका लागि भ्याटसहित ३१ लाख ९८ हजार ९३० रुपियाँ ६५ पैसा उपलब्ध गराएको थियो। शौचालयबाहेक आठ वटा पिल्लर राखेर ४० फिट लम्बाइ र २२ फिट चौडाइको उक्त भवनको छानामा भने टिन लगाइएको छ। कार्यालयभित्र आल्मुनियमले पार्टिसन गरिएको छ। संरचना निर्माणको हिसाबले लागत मूल्य अत्यधिक महँगो भएको स्थानीयवासीको गुनासो छ। एक स्थानीयवासीले भन्नुभयो, “त्यत्रो पैसाले त त्यति सानो भवनको पक्की छत नै बनाउन सकिन्छ।” लागत अनुमान बढी गरेर कम मूल्यमा संरचना निर्माण गरिएको र अनियमितता भएको उहाँले आरोप लगाउनुभयो। 

यता भवन निर्माणका विषयमा वडाध्यक्ष आफू पनि सन्तुष्ट हुनुहुन्न्। उहाँले भवनको लागत अनुमानको कागजात आफूले मागे पनि हालसम्म उपलब्ध नभएको बताउनुभयो।

यता उक्त भवन ३२ लाख रुपियाँमा बनेको सुनेपछि स्थानीयवासीले भ्रष्टाचारको आशङ्का गरेका छन्। “हामीले आफ्नो घर बनाउने हो भने सात/आठ लाख रुपियाँमा यत्तिको टिनको घर बनाउन सक्छौँ, सरकारी काममा कसरी ३२ लाख खर्च भयो,” एक स्थानीयवासीले भन्नुभयो। यता भवन निर्माण भएको लामो समयसम्म वडा कार्यालय नसरेपछि वडा कार्यालयको भवनमा भने स्थानीयवासीले पानी परेका बेला मकै थन्काउने र बाख्रा बाध्ने काम गर्दै आएका छन्।