• १२ मंसिर २०८१, बुधबार

हुम्लामा पन्चानब्बे प्रतिशत रोपाइँ

blog

हुम्ला समाचारदाता

हुम्ला, असार २० गते । हिमाली जिल्ला हुम्लामा हालसम्म ९५ प्रतिशत मार्सी धानको रोपाइँ सम्पन्न भएको छ । समयमा पानी पर्नु र अधिकांश खेतका लागि सिँचाइ कुलोको व्यवस्था भएका कारण समयमै रोपाइँ पूरा भएको हो । 

कृषि विकास कार्यालयले उपलब्ध गराएको विवरण अनुसार असार १८ सम्म जिल्लाको कुल धान खेतीमध्ये ९५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । 

हुम्लाका सात वटामध्ये छ वटा गाउँपालिकामा मार्सी धान खेती हुने गर्छ । कार्यालयका अनुसार यस वर्ष दैनिक पानी पर्नु र अधिकांश खेतका लागि सिँचाइ कुलोको व्यवस्था भएका कारण रोपाइँ कार्य अन्तिम चरणमा पुगेको हो । अब रोपाइँ हुन बाँकी रहेका पाँच प्रतिशत खेतमा पनि कुलो लगाउन पालो कुर्नु परेका कारण केही ढिलाइ भएको हो । 

जिल्लाभरि ५८० हेक्टर खेतमा धान खेती हुने गर्छ । सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुल नेत्रबहादुर शाहीले यस वर्ष जिल्लाभरि समयमै रोपाइँ कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले सिमकोट गाउँपालिकामा १३ हेक्टर खेतमा मार्सी धान खेती हुने गरेको र सबै रोपाइँ पूरा भएको बताउनुभयो । जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा धान खेती हुने गर्छ ।