• ११ असोज २०८१, शुक्रबार

लोकतान्त्रिक खेलकुद सङ्घद्वारा राखेप सदस्य सचिवको राजीनामा माग

blog

पत्रकार सम्मेलनमा लोकतान्त्रिक खेलकुद सङ्घका पदाधिकारी ।

काठमाडौं, असार १९ गते । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङको राजीनामा मागेको छ ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद सङ्घले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खेलकुदमा बेथिति,अनियमितता, भ्रष्ट्राचार तथा खेल सङ्घभित्र हस्तक्षेप बढ्दै गएको भन्दै यथाशीघ्र सदस्य सचिव घिसिङलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले भ्रष्टाचार मुक्त समाज र पारदर्शिता सबै नेपालीको चाहना भएकोले खेलकुदमा बढेको बेथिति रोकिनु पर्ने बताउनुभयो । 

सङ्घले गल्डकीमा नवौँ राष्ट्रिय खेलकुदमा आर्थिक अनियमितता भएको भन्दै खेलाडी, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी समेतको सङ्ख्या, पोसाक, खेल सामाग्री, समारोह, बसोबास, यातायात, खेलस्थल व्यवस्थापन लगायत समितिहरूले खर्च गरेको विवरण र निर्णय सहितको खर्च विवरण तुरुन्त सार्वजनिक माग गर्न र सरकारबाट अनुदानको खर्च विवरण ४५ दिन भित्र सार्वजनिक गर्न माग पनि गरेको छ । 

यस्तै सङ्घले खेलाडीहरूको खेलस्तरको मापनको प्रशिक्षण र सहभागी प्रतियोगिताको सफलताबाट बुझिने तर परिषद्ले राज्यबाट दिइएको उपदान माथिको स्वेच्छारी खर्च, अनियमितता र भ्रष्टाचारको नमुना बनेको उल्लेख गरेको छ । 

सङ्घले विभिन्न ११ बुँदे मागहरू राख्दै १९औँ एसियन गेम्सको छनोट र तयारी भनी नेपालीको प्रमुख चाड दसैँ र तिहारको बीचमा पर्ने गरी गरिएको नवौँ राष्ट्रिय खेलकुद २०७९ प्राविधिक सांस्कृतिक रूपले पनि सान्दर्भिक नभएको जनाउँदै एउटा उद्देश्य देखाई गरिएको भ्रष्टाचार क्षम्य नहुने पनि उल्लेख गरेको छ । १९औँ एसियन गेम्सको बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षणको तुरुन्त व्यवस्थाका साथै सहभागी खेल र खेलाडीको औचित्य पुस्टाइ गर्न आग्रह गरेको छ ।

यस्तै सङ्घले खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आफ्नो खर्चमा बस र ट्रेनबाट जाने तर खेलकुदको समस्या समाधान र विकास गर्न भनी आएका सदस्य सचिव सरकारी खर्चको दुरुपयोग गर्दै मासिक दुई लाख ६३ हजारको भाडाको गाडी चढी हिँडेकोले यस्तो खर्चलाई खेलाडीको हक हितमा प्रयोग गरेर खेलाडीको क्षमता वृद्धि गर्न माग पनि गरेको छ ।