• ११ मंसिर २०८१, मङ्गलबार

सिरिजङ्घाका विद्यार्थीले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउने

blog

तेल्लोकस्थित सिरिजङ्घा गाउँपालिकाको कार्यालय । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार १९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा कक्षा १२ सम्म नै अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका छन् । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क रूपमा पढ्न पाउने भएका हुन् । 

आगामी आर्थिक वर्षका लागि गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीका लागि कक्षा १२ सम्म नै निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ । कक्षा ११ र १२ लाई यसअघिदेखि नै निःशुल्क गरेको गाउँपालिकाले आगामी आवका लागि पनि निरन्तरता दिने भएको हो । 

यस्तै पालिकाभित्रका ८ वटै वडाका सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सर्वोत्कृष्ट नतिजा ल्याउने चार जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने पनि गाउँपालिकाले निर्णय गरेको छ । 

गाउँपालिकाले प्राविधिक विधामा प्रवीणता प्रमाणपत्र तह वा सोसरहको शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने कार्यक्रमलाई कार्यान्वयन गर्ने भएको हो ।

त्यस्तै सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर वृद्धि गर्ने उद्देश्यले कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रत्येक वर्ष पोसाक र स्कुल झोला वितरण गर्नेसमेत गाउँपालिकाले नीति अवलम्बन गरेको छ । 

‘प्रविधिमैत्री कक्षा, आजको आवश्यकता’ भन्ने नाराका साथ माध्यमिक विद्यालयमा सेवा करार कार्यविधिअनुसार कम्प्युटर शिक्षकको व्यवस्था गरी कम्प्युटर कक्षा सञ्चालन गर्ने पनि गाउँपालिकाले योजना बनाएको छ ।