• १३ मंसिर २०८१, बिहिबार

धनसार भत्किँदा ४१ वर्षीय मीना बरामको मृत्यु

blog

नरेन्द्र ढकाल

गोरखा, असार १९ गते । गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा निर्माणाधीन धनसार भत्किँदा एक महिलाको ज्यान गएको छ । जङ्गबहादुर बरामको निर्माणाधीन धनसार भत्किँदा उहाँकी श्रीमती ४१ वर्षीय मीना बरामको ज्यान गएको गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

‘‘निर्माणाधीन धन्सारको तला छाप्ने क्रममा एक्कासि भत्किएर उहाँहरु च्यापिन पुग्नुभएछ,’ उहाँले भन्नुभयो,‘त्यसपछि त्यहाँ रहेका छिमेकी र आफन्तहरुले उद्धार घाइते अन्य २ जनाको उद्धार गर्नुभएको खबर प्राप्त भएको छ ।’’

धनसार भत्किँदा जङ्गबहादुरका छोरा २१ वर्षीय सुजन बराम र काम गर्न गएका छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते हुनुभएको छ । गम्भीर घाइते हुनुभएका रामकृष्णलाई थप उपचारका लागि  काठमाडौं लगिएको छ । उहाँको कम्मर मुनिको भाग ढुङ्गाले च्यापेको प्रहरीले जनाएको छ । छोरा सुजनको अवस्था भने सामान्य रहेको डिएसपी श्रेष्ठले बताउनुभयो । 

घटना अन्दाजी बिहान ९ बजे भएको थियो । घटनाको जानकारी आउने बित्तिकै ताङ्लीचोक प्रहरी चौकीबाट घटिएको टोली अहिले घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।