गणेश पौडेल
पर्वत, असार १९ गते । पर्वतको फलेवास नगरपालिकाको नगर शिक्षा शाखाले आफूले तोकेका पुस्तक सीमित स्टेसनरीमा मात्र खरिद गर्न निर्देशन दिएको पाइएको छ। विद्यालयले आफैँ खरिद गर्न सक्ने नियम हुँदाहुँदै पनि नगर शिक्षा अधिकारीले तोकेकै ठाउँमा पुस्तक खरिद गर्नुपर्ने बाध्यता सिर्जना गरिएपछि विद्यालयले समेत रोजेको ठाउँमा पुस्तक खरिद गर्न सकेनन्।
फलेवास नगरपालिकाका अधिकांश विद्यालयका प्राथमिक तहमा अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक पढाइ हुने गरेको छ। अङ्ग्रेजी माध्यमका पुस्तक खरिदका लागि नगर शिक्षा अधिकृत कृष्णप्रसाद आचार्य आफैँ संयोजक रहेको पुस्तक निर्धारण समितिले कमिसन बढी आउने खालका पुस्तक खरिदका लागि बाध्यता सिर्जना गरिदिएको विद्यालयको गुनासो छ। केही पुस्तक नेपाल सरकारले नै गुणस्तरहीन प्रमाणित गरेका आठराई पब्लिकेसन र ओएसिस पब्लिकेसनका पुस्तकसमेत सिफारिस गरेको पाइएको छ।
नगर शिक्षाले सिफारिस गरेपछि विद्यालयसमेत ती पुस्तक खरिद गर्नुपर्ने बाध्यतामा पुगेको उनीहरूको गुनासो छ। यता नगर शिक्षा अधिकारी कृष्णप्रसाद आचार्य भने पुस्तक खरिदमा विद्यालयलाई कुनै दबाब नदिएको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “हामीले यही पसलबाट खरिद गर्नुहोस् भनेका छैनौँ। पुस्तक छनोट भने मेरै संयोजकत्वमा रहेको समितिले निर्धारण गरेको हो।” समितिले छनोट गरेका पुस्तक सीमित पसलमा मात्रै पाइने भएकाले घटिघटाउमा खरिद गर्न सकिने भए पनि सोही पसलमा मात्रै खरिद गर्नुपरेको विद्यालय बताउँछ तर, विद्यालय भने खुलेर नगर शिक्षा समितिको विरोध भने गर्न सकेका छैनन्।
नगर शिक्षा अधिकृत आचार्यले विभिन्न पब्लिकेसनको पुस्तक हेरेर गुणस्तरीय पुस्तक मात्रै खरिदका लागि सिफारिस गरिएको बताउनुहुन्छ।
फलेवाससँगै जिल्लाका अन्य स्थानीय तहमा पनि पुस्तक छनोटमा शिक्षा शाखाले आफूखुसी निर्धारण गर्ने गरेको पाइएको छ। जनक शिक्षाले उपलब्ध गराउने अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक भन्दा निजी पब्लिकेसनका पुस्तक आकर्षक हुने भनाइ छ। त्यस्ता पुस्तक विद्यार्थीले पढ्न रुचाउने र निजी पब्लिकेसनले उत्पादन गर्ने अङ्ग्रेजी माध्यमका पुस्तक रङ्गीचङ्गी हुने भएकाले अभिभावक समेत तिनै पुस्तकमा आकर्षित हुने गरेको पाइएकाले सिफारिस गर्नुपर्ने बाध्यताभएको बताइएको छ।