• २७ वैशाख २०८२, शनिबार

काठमाडौँमा वसन्त बहार

blog

तस्बिर : ध्रुवकुमार सिंह राजपुत

सहरको हरियाली तथा सुन्दरता वृद्धि गर्न अनेक किसिमका बोटबिरुवा लगाउने गरिन्छ । सदाबहार अर्थात् सधैँ हरिया रहने वृक्ष र पतझर खालका वृक्ष हुन्छन् । पतझर वृक्षको पनि आफ्नै विशेषता हुन्छ । शरद्देखि शिशिर ऋतुको आगमनको सङ्केत पतझर वृक्षले दिने गर्छन् । त्यस्तै गरी फूल फुल्ने वृक्षको पनि आफ्नै महत्व छ । यी वृक्षका फूलहरूले सहरको सैन्दर्यमा विशेष रङ भर्छन् । 

खास गरी वसन्त ऋतुको आगमनलाई सङ्केत गर्ने फूलका वृक्ष लोभलाग्दा हुन्छन् । गुराँस प्रजातिका फूल फुल्ने ऋतु पनि यही नै हो । लालीगुराँसले यसबेला नेपालका डाँडाकाँडालाई राताम्मे पारेका छन् । अझ पूर्वी नेपालको तीनजुरे, मिल्के र जलजले क्षेत्र गुराँस फूलले सजिएको छ । यस क्षेत्रलाई गुराँसको राजधानी नै भन्ने गरिन्छ । यहाँ नेपालमा पाइने ३२ प्रजातिमध्येका २८ प्रजातिका गुराँस पाइन्छन् । सहरमा यी गुराँसले आफ्नो प्रभुत्व अझै जमाउन सकेका छैनन् ।  काठमाडौँलगायत नेपालका तराईदेखि पहाडसम्मका सहरमा स्वदेशी वृक्षले स्थान पाएका छैनन् । नेपालका सडकका दायाँबायाँ, उद्यान वा पार्कमा विदेशी मूलका बिरुवाको नै बाहुल्यता देखिन्छ । खास गरी काठमाडौँ सहरमा त यस्ता बिरुवा नै बढी मात्रामा देखिन्छन् । असारमा फुल्ने असारे फूलको मूल स्थान विदेश नै हो । त्यस्तै गरी यहाँ लगाइएका अन्य फूल फुल्ने बिरुवामध्ये सुगा फूल, रुख कमल, क्यलियान्ड्रा, आरुफूल, नीलकमल आदि सबै विदेशी मूलकै हुन् । 

काठमाडौँमा विदेशी फूल

काठमाडौँ सहरको हरियाली तथा सुन्दरता हेर्न लायकको छ, यतिबेला । सडक किनारा, उद्यान तथा पार्कमा लगाइएका रुख बिरुवामा नयाँ पालुवा पलाएका छन् । सहरको हरियालीमा सौन्दर्य थपिएको छ । त्यसै गरी सडकमा लगाइएका केही वृक्ष फूलैफूलले ढकमक्क छ । काठमाडौँका सडकमा अहिले निलो रङका फूलले ढाकिएका वृक्षको सुन्दरता हेर्नलायकको छ । यसले रत्नपार्क, घन्टाघर, दरबारमार्गका क्षेत्रलगायत सहरका अन्य भित्री स्थानलाई निलाम्मे बनाएको छ । त्यस्तै गरी कोटेश्वर–कलङ्की रिङरोडको सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक पनि त्यतिकै आकर्षक बनाएको छ । यो बिरुवाको मूल थलो ब्राजिल मानिन्छ तापनि यसको आकर्षक फूलहरूले गर्दा विश्वका न्यानो समशीतोष्ण वा उष्णप्रदेशीय हावापानी रहेका क्षेत्रमा लगाइएको पाइन्छ । नेपालको हिसाबमा एक हजार दुई सयदेखि दुई हजार एक सय मिटरसम्मको उचाइमा रहेका स्थानमा यो लगाउन सकिन्छ । यो एक पतझर वृक्ष हो । पात पलाउनभन्दा पहिलेको अवस्थामा यसको बोटै निला रङका फूलहरूले ढाकिएर फुल्छ । राणाकालीन समयमा दरबारका बगैँचा तथा सडकमा लगाउन भित्र्याइएका बिरुवामध्ये यो पनि पर्छ । यसको वैज्ञानिक नाम जाकारान्डा माइमोसिफोलिया हो । नेपालमा पनि जाकारान्डा नामले नै चिनिन्छ तैपनि धेरैले यसलाई निलो शिरिष भन्ने गर्छन् । हुन त साहित्यकार पारिजातद्वारा लिखित (२०२२) शिरिषको फूल नामक उपन्यासमा यसलाई निलो शिरिषको रुखका रूपमा वर्णन गरेको पाइन्छ । यसका पातहरू हेर्दा शिरिषकोे वृक्षसँग मिल्छन तर फूलहरूले मेल खाँदैनन । यसलाई वीरेन्द्र फूलको नामले पनि चिनिन्छ । वीरेन्द्र फूलको नाम कसले र कहिले दिइयो त्यो चाहिँ अज्ञात नै छ ।  त्यसै गरी अहिले काठमाडौँभित्रका सडकमा पहेँलो रङको फूलले लटरम्म भएका वृक्ष पनि देख्न पाइन्छ । अमेरिकी मूल भएको यो फूललाई नेपालीमा घटपुष्प भनिन्छ । यसको अङ्ग्रेजी नाम यलो बेल हो । झुप्पामा फुलेका घन्टी आकारका पहेँला फूलहरूले यसको सौन्दर्य झल्किएको देखिन्छ । त्यसै गरी अहिले बगैँचा, सडक र अन्य स्थानमा फुलेका देखिने फूलहरूमा कल्की पनि एक हो । यसका फूलहरू ब्रुस आकारमा फुल्ने भएकाले यसलाई अङ्ग्रेजीमा बोटल ब्रस भन्ने गरिन्छ । त्यस्तै एकदमै अग्लो रुखका रूपमा चिनिने तर आकर्षक फूलहरूको कारणले सुन्दर देखिने काँगियो पनि अहिले ढकमक्क फुलिरहेको देखिन्छ । काँगियो आकारमा फुल्ने फूलबाट पूर्ण रूपपमा ढाकिएको यो रुखले पनि सौन्दर्य थपेकै छ ।  

ओझेलमा नेपाली फूल 

ढकमक्क फूलले सजिएर आकर्षक देखिने वृक्षमा हाम्रा आफ्नै देशका बिरुवाका प्रजाति पनि नभएका होइनन् । त्यसमध्ये एक हो, कोइरालो । यसले अहिले जङ्गल तथा केही घरका बगैँचामा आफ्नो सौन्दर्य प्रदर्शन गरिरहेको छ । त्यसभन्दा पनि यो अचार खाने फूलका रूपमा बढी चर्चित छ । अहिले तरकारी बजारमा कोइरालोले आफ्नो महìव र उपस्थिति देखाएको छ । फलेदो पनि आकर्षक राता फूलले ढाकिने अर्को वृक्ष हो । अहिले पोखराका केही सडक किनारामा यसको सुन्दरता हेर्न पाइन्छ । त्यस्तै गरी शरद्  ऋतुको सुरुवाततिर ढकमक्क फूलले ढाकिएर फुल्ने अर्को वृक्ष हो, पैयुँ । पैयुँलाई अङ्गे्रजीमा हिमालयन चेरी भन्ने गरिन्छ । यो जापानको प्रसिद्ध जापानी चेरी (जापानी भाषामा साकुरा) प्रजातिसँग मिल्दो बिरुवा हो । जापानको साकुरा वसन्त ऋतुमा फुल्छ र त्यहाँ हरेक वर्ष चेरी उत्सव मनाउने गरिन्छ तर नेपालको पैँयु शरद् ऋतुमा फुल्छ । त्यसकारण यसको महìव झन् बढी छ किनकि शरद् ऋतुमा फूल कमै देख्न पाइन्छ । 

यसका बिरुवा जापानमा पनि पु¥याइएको छ । हामीचाहिँ जापानी चेरीका बिरुवा जापानबाट ल्याएर लगाउने गर्छौं । काठमाडौँ नगरपालिकाका पूर्वप्रमुख पिएल सिंहका पालामा जापानबाट जापानी चेरीका बिरुवा ल्याएर टुँडिखेल र रानीपोखरीको किनारमा लगाइएको थियो । अनि गुराँस त झन् वर्णन गरी नसकिने सुन्दरताले भरिएको वृक्ष हो । त्यसै गरी तराई क्षेत्रमा पाइने राजवृक्ष र पलाँस जस्ता वृक्ष पनि छन, जसले वसन्त ऋतुमा हाम्रा तराईका भूभागको सुन्दरतामा आकर्षण थप्ने गर्छन् । काठमाडौँको प्रदर्शनीमार्ग र बुद्धनगरनिर बागमती किनारमा लगाइएका राजवृक्षले सौन्दर्य थपेको छ । यिनले पनि जाकारान्डाले काठमाडौँलाई निलाम्मे बनाए जस्तै तराई पहाडमा सुनौलोपन भर्न सक्छन् । यस्ता अनेकन वृक्ष हाम्रो आफ्नै देशमा नभएका होइनन् । काठमाडौँलगायत नेपालका तराईदेखि पहाडसम्मका सहर तथा पालिकामा नेपाली रैथाने फूलका बिरुवाले स्थान पाएको छैन ।   

Author

कुवेरजङ्ग मल्ल