• २७ वैशाख २०८२, शनिबार

नुवाकोटगढी विकास योजना निर्माण

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख २७ गते ।  बुटवलको सबैभन्दा नजिकको पर्यटकीय गन्तव्यका रूपमा रहेको नुवाकोटगढीको विकास गर्न योजना निर्माण अघि बढाइएको छ । 

बुटवल उपमहानगरपालिकाले बुटवलमा पर्यटक बढाउन बुटवलदेखि नुवाकोटगढीसम्मको पदमार्ग राम्रो गन्तव्य बन्ने लक्ष्यसहित काम अघि बढाएको हो । बुटवल उपमहानगरले शिवजीको मूर्ति स्थापना गर्नेदेखि बुटवल–नुवाकोटगढी पदमार्गलाई स्तरोन्नति गर्ने गरी बजेटसमेत विनियोजन गरेको छ । 

बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासमा नुवाकोटगढीको योगदान महत्वपूर्ण हुने भन्दै त्यसको विकासमा नगरको ध्यान पुगेको बताउनुभयो । 

उहाँले बुटवल उपमहानगरको बजेटले मात्रै धेरै काम गर्न नसकिने भएकाले यसमा सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउने कामसमेत भएको बताउनुभयो । बुटवलको सबैभन्दा पुरानो बुटवल माविपछाडिको बाटो हुँदै पाल्पाको नुवाकोटगढीसम्मको पदयात्रा पर्यटकको पहिलो रोजाइ बन्ने अपेक्षा गरिएको छ । 

दुई वर्षअघि लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री लीला गिरीले बुटवल–नुवाकोटगढी पदमार्गको उद्घाटन गरे पनि पूर्वाधारको कमी महसुस भएकाले बुटवल उपमहानगरले नयाँ योजना बनाएर थप विकासका लागि नयाँ योजना बनाएको हो । 

नेपाल–अङ्ग्रेज युद्धका बेला नेपाली फौजले यही नुवाकोटगढीबाट अङ्ग्रेज फौजमाथि आक्रमण गर्दा अङ्ग्रेज फौज भागेको इतिहासमा उल्लेख छ । बुटवलबाट नुवाकोटगढी पुग्न करिब साढे तीन किलोमिटर उकालो बाटो हिँड्नु पर्छ । 

करिब दुई घण्टामा पुग्न सकिने उक्त पदमार्गमा पर्यटकको सहजताका लागि बुटवलका संस्थाले गत वर्ष सिँढी निर्माण गरिदिएका छन् । बुटवलका पर्यटन व्यवसायी माधव नेपालका अनुसार बुटवलदेखि नुवाकोटगढीसम्म पदमार्गको बाटो हुँदै दैनिक ५० देखि दुई सय आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् । 

उहाँले पदमार्गलाई अझै व्यवस्थित बनाउने हो भने बुटवलको पर्यटन क्षेत्रको विकासमा नुवाकोटगढी छुट्टै पहिचान बन्न सक्ने बताउनुभयो । नुवाकोट विकास समितिले नुवाकोटगढीको विकास र संरक्षण गर्ने उद्देश्यले नुवाकोटगढीमा कालभैरव कामना मन्दिरसमेत निर्माण गरेको छ । स्थानीय समाजसेवीले नुवाकोटगढीमा भ्युटावरसमेत बनाएका छन् । 

बुटवलका स्थानीय लब जोशीले सुनौलीदेखि पोखरा जोड्ने सिद्धार्थ राजमार्ग निर्माण नहुँदा अहिलेको यही बुटवल नुवाकोटगढीको पुरानो मार्ग प्रयोग गरिन्छ । पाल्पा, गुल्मी, बागलुङ र स्याङ्जा जिल्लाका बासिन्दाले बुटवल बजार गर्न आउँदा घिउ लिएर आउने र नुन तथा कपडा खरिद गरेर लैजाने बाटोसमेत रहेकाले यसको ऐतिहासिक महत्व रहेको उहाँले बताउनुभयो ।