मुस्ताङका गाउँघरमा ‘टासिडेले’ भन्दै स्थानीय आमाहरू खुसीको आत्मीय आभास बाँड्दै हिँड्दै गरेका पाइन्छन् । भौतिकवादतिर अग्रसर आजको समाज मुस्ताङमा प्राचीन युगको झल्को दिने जीवनशैली र घर–व्यवहार देखेर तीनछक्क पर्छन् ।
मनमा बसेको मुस्ताङको प्रकृतिमा रमाउनुको मज्जा बेग्लै । अनौठो भूतलमा प्रकृतिको भव्य सुन्दरतामा पाइने आनन्द अर्कै । प्रकृतिको रचना वर्णन गर्नै नसकिने, अर्कै धर्तीमा पुगेको भान गराउने मुस्ताङ । मन रमाएर उल्लासले उन्मुक्त उडानमा वेग मार्न थाल्छ । अनन्तः यात्राको मिठा मिठा यादहरू थपिँदै जाँदो रहेछ । प्रकृतिको काखमा लुटुपुटु, छुनुमुनु गर्दै हिँड्न मन पराउने मैले देखेको धर्तीको स्वर्ग मुस्ताङ । अहिले म अनुभूतिको यात्रामा अभिव्यक्तिको उचाइ आरोहण गर्न खोज्दै छु । मैले केही समयअघि हिँडेको बाटो सम्झँदै अक्षरहरूमा आफूलाई अनुवाद गर्दै छु । नयाँ ठाउँमा घुम्ने रहर कहिल्यै मर्दो रहेनछ र त अचेल स्रष्टा पदयात्रामा रमाएर हिँड्दै छु ।
रहस्यमय भूधरातलमा अनेकन सौन्दर्यका स्मारक अवलोकन गर्दै दिनभरि हिँड्दा पनि तन र मन नथाक्ने । दिन ढल्किएर रात भित्रिएको पनि ख्याल नहुने रहेछ । बाटो हो कि खोला हो, सडक हो कि पहिरोको थुप्रो, जे देखे पनि भेटे पनि, जसरी पार लगाए पनि अहिले सम्झँदा रोमाञ्चक लाग्छ । मार्फामा पुगेपछि त अर्कै भूगोलको भूमिमा पाइलाले फड्को मार्न पुग्दो रहेछ । छर्लङ्ङ खुलेको आकाश । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं तालतलैया । पठारको प्राकृतिक सुन्दरता, तिब्बती संस्कृति, वास्तविक हिमाली जीवन र सांस्कृतिक सम्पदाको आकर्षण ।
विदेशी र आन्तरिक दुवै खाले पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु रहेको छ– मुस्ताङ । धवलागिरि र ‘हिमालपारिको जिल्ला’ भनेर मुस्ताङलाई चिनिन्छ । लाग्छ स्वर्ग भनेको यही नै हो । प्राचीन सभ्यताका अवशेषका कारण विशेष महत्वको मानिएको हो । मुस्ताङ पुग्ने दुई वटा मार्गमा एउटा हवाईमार्ग र अर्को हो सडकमार्ग । हवाईमार्गको प्रयोग चाहिँ पोखराबाट जोमसोमसम्म गर्न सकिन्छ । पदयात्रामा रुचि हुनेहरू मनाङ हुँदै मुस्ताङ पुग्ने गर्छन् । हवाई या मोटर यात्रा गर्दै जोमसोम पुगेपछि त्यहाँबाट ल्होमन्थाङ (उपल्लो मुस्ताङ) पुग्न पदमार्ग र सडकमार्ग दुवै प्रयोग गर्न सकिन्छ । पोखराबाट पर्वतको कुस्मा, बागलुङको बागलुङ बजार र म्याग्दीको बेनी बजार भएर भुरुङ तातोपानीबाट कालीगण्डकीको किनारैकिनार उकालो लागेपछि मुस्ताङतिरको यात्रा अघि बढ्छ । लाग्छ, नजिकै देखिने पहाडहरू नाकमै ठोक्किन आइरहेका छन् । म्याग्दीको दानास्थित रुपसे झर्ना बाटैमा पर्छ ।
रुपसे झर्नाको मुन्तिर कालीगण्डकीको गहिरो गल्छी रहेको छ । कालीगण्डकी तर्दै पहाड चढेर बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडा र ती डाँडामाथिबाट बग्ने झरनाको मनमोहक दृश्यले यात्रालाई अविस्मरणीय बनाउँछ । मुस्ताङको सिमाना प्रारम्भ भएपछि यात्रा झन् रोमाञ्चक बन्दै जान्छ र बाटो पनि सहज छ । मुस्ताङ जिल्लाको करिब करिब बिच भाग भएर कालीगण्डकी बग्छ । बस्ती जति धेरै जसो यही नदीको किनारमा अवस्थित छन् । कालीगण्डकीले बनाएको विशाल फाँट अत्यन्त सुन्दर लाग्छ । चारैतिर हिमाल र डाँडाले घेरिएको सानो समथर भूभाग उपत्यका जस्तो छ, जोमसोम । यहाँ आउनेको स्वागतमा मुस्कुराइरहेको हुन्छ– नीलगिरि हिमाल । १२ बजेपछि चल्ने हावा मुस्ताङको विशेषता हो । हिउँदको तीन/चार महिना पर्यटन र व्यापार व्यवसाय सबै हिउँसरी ठप्प हुँदो रहेछ । हरेक वैशाख र साउनमा यो जिल्लामा चौँरीको आलो रगत खाने मेला लाग्छ, जसमा मानिसको भिड लाग्ने गर्छ । मुस्ताङ जिल्लामा रहेका प्राचीन गुम्बा र बस्तीको पुरातात्त्विक अन्वेषणले यस जिल्लाको इतिहास करिब तीन हजार वर्ष पुरानो भएको पुष्टि हुन्छ । समुद्री सतहदेखि दुई हजार १० मिटर (घाँसा) देखि आठ हजार १६७ मिटर (धवलागिरि) उचाइमा रहेको मुस्ताङ जिल्लाको हावापानी सुक्खा ठण्डा रहेको छ । जिल्लाको तल्लो भागमा तुलनात्मक रूपमा बढी वर्षा भए पनि माथिल्लो भागमा अत्यन्त कम वर्षा हुन्छ ।
मेरो आँखा मुस्ताङका कौतुकमय दृश्यमा मग्न थियो । अहिले मेरो मन तिनै मनोरम प्रकृतिमा मक्ख छ । नीलगिरि हिमालले स्वागत गरेको बिर्सिएको छैन मैले । उत्तर र पश्चिममा रहेका सुक्खा पहाडबाट अलिकति शिर उठाएर चियाइरहेको लाग्छ हिमाली लस्करमार्ग । मास्तिर झन् उकालिँदै जाँदा सौन्दर्यको काया–कलेवर मनमोहक दृश्य । हिमाली लस्कर मरुभूमिका अनौठा अवस्थिति र नागबेली नदीको प्रवाह । साँच्चै लोभलाग्दो र अचम्मको प्राकृतिक वैभवको अनुपम परिवेशको सङ्गम । जहाँ रहस्यमय अर्थ–अभिव्यञ्जना अभिव्यक्त । जहाँ कलात्मक आकृतिहरू उहिल्यैदेखि पठारको उकालो पाटो हुँदै जाँदा दृश्यहरूले जिज्ञासा जगाइरहने । क्रमशः अगाडि बायाँतिर कौतुकमय पहाडी अवस्थितिले मन झन् झन् चञ्चल बन्दै गइरहने ।
माटैमाटोका प्रत्येक पहाडमा आँखीझ्याल जस्ता बुट्टैबुट्टाले चिरिच्याट्ट आकृतिहरूमा आँखाहरू झुम्मिँदै लुकामारी खेल्दै रहस्यको पर्दा खोल्न खोज्छ । घुर्मैलो रङका आवरणमा दृश्यमान प्रकृति । सुमधुर प्रेमका स्पन्दित आकृति । यहाँ क्रन्दन र तनावका हैरानीको नाम निसान पाइन्न । यहाँ पीडा र बेखुसीका सास्ती छैन ।
मनमा शान्ति र सन्तुष्टिको पृथक् मिठास सम्मिलित भएको हुन्छ । सुन्दर नेपालको मायालु धर्ती हो, हिमालपारिको मुस्ताङ । मुस्कुराइरहेको पाइन्छ, ल्होमन्थाङको लोभलाग्दो परिवेश । यात्राका यात्री अलग्गै अर्कै संसारको विचरणमा हराउन पुग्छ, हो निर्धक्क रमाउन पाउने प्रशस्त छन् ठाउँ । हिमाली घेराभित्र पनि सुक्खा धरातलमा अनगन्ती अनौठो दृश्य पाइन्छन् उचाइमा । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, कोरली नाका, टिटीताल, नीलगिरि हिमाल, धवलागिरि हिमाल, ठिनी घरपझोङ गढी, कौसाङ क्याम्प (खम्पा क्याम्प), दुम्बा ताल, तिलिचो बेस क्याम्प, थारुघाङ भ्यु टावर, रक क्लाइम्बिङ, फुक्केलिङ पुरानो गाउँ, मोमान्थाङको ऐतिहासिक दरबार, ल्होमन्थाङको सिटी वाल, मार्फा, तेताङ आदि मुस्ताङ जिल्लामा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं तालतलैया हुन् ।
तिब्बती संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेग पर्यटक र अनुसन्धानकर्ताका लागि अति नै महत्त्वपूर्ण तथा आकर्षणको केन्द्र रहेको छ । स्थानीय बासिन्दाले प्रयोगमा ल्याउने वेशभूषा र पहिरन यहाँको परम्परा, मौसम तथा हावापानी अनुरूपको पाइन्छ । मुस्ताङको उत्तरी भेग तिब्बती संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा छिमेकी जिल्लाको पनि केही प्रभाव परेको छ ।
सामान्यतया अन्य पर्वमा जस्तै उपल्लो मुस्ताङमा बसोवास गर्ने गुरुङ विष्टहरूको मुख्य पर्व तिजीमा पनि मानिस आफ्नो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा, गहना लगाउने, गुम्बा, छोर्तेनमा सामूहिक पूजा र नाचगान गर्ने गर्छन् । मुस्ताङको प्रसिद्ध धार्मिक स्थलका रूपमा रहेको कागबेनीमा पितृ तर्पण गरे दिवङ्गत आफन्तले सुख र मुक्ति पाउने जनविश्वास छ । बडादसैँको सोह्रश्राद्ध र चैते दसैँको अवधिमा यहाँ ७७ वटै जिल्लाबाट ठुलो सङ्ख्यामा धार्मिक पर्यटक आउने गरेका छन् । कागखोला र कालीगण्डकीको दोभान हो, कागबेनी । कागबेनीको थप विशेषता कालीगण्डकीको किनारमा अवस्थित हुनु पनि हो र कालीगण्डकीको विशेषता धार्मिक महत्त्वको शालिग्राम पाइनु ।
समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा हिन्दु तथा बौद्धमार्गीका लागि महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ रहेको छ । मुक्तिनाथलाई हिन्दुले ५१ शक्तिपीठमध्ये एक पीठका रूपमा लिन्छन् भने बौद्ध धर्म अनुसार यसलाई ‘च्युभिग ग्यातुसा’ भनिन्छ । मुक्तिनाथ धार्मिक स्थलमा १०८ पानीका धारा छन् । मुक्तिनाथमा पुग्दा कालीगण्डकीको शान्त, सुन्दर नदी जस्तै निर्मल, निर्भय, प्रवाहित र प्रभावित हुन्छ जोकोही पनि । मुस्ताङका गाउँ घरमा ‘टासिडेले’ भन्दै स्थानीय आमाहरू खुसीको आत्मीय आभास बाँड्दै हिँड्दै गरेका पाइन्छन् । भौतिकवादतिर अग्रसर आजको समाज मुस्ताङमा प्राचीन युगको झल्को दिने जीवनशैली र घर व्यवहार देखेर तीनछक्क पर्छन् । लामो बाटो तय गर्दै सुनसान गाउँघर पुग्न कतिपय पदयात्री मरिहत्ते गर्छन् । गाउँघर पुगेका पदयात्रीले जहाँ पनि उस्तै घरआँगन, पेटी पर्खाल र गल्लीहरू पाउँछन् । ढुङ्गा बिछ्याइएको बाटो, अनि ढुङ्गाका गल्लीका द्वार पनि उस्तै । घरैपिच्छे छानामा, छतमा दाउरा, गोबर गुइँठाका हार मिलाएर आगोका लागि, न्यानोका निम्ति राखिएका पाइन्छन् तर देखिने दृश्यहरू फरक फरक हुन्छन्; स्वरूप र संरचनाले गर्दा । हिमालपारि चौसार, चुसाङका शताब्दीऔँ पुरानो मानव इतिहास बोकेका अनकन्टारमा रहेका रहस्यले भरिएका भिरका गुफाहरू छन् ।
हो, जोमसोम कटेर माथितिर लागेपछि विचित्रको भूगोलमा पुगिन्छ । जोमसोमको तल्लो भेगमा डाँडापाखाभरि देखिने बोटबिरुवा र जङ्गल उपल्लो मुस्ताङमा देखिँदैन । नेपालको मरुभूमिको अनुभूति गर्नका लागि कागबेनी हुँदै गाडीमा माथितिर लागेपछि छुसाङ, समर, स्याङ्बोचे घमी, गिलिङ, चराङ हुँदै ल्होमन्थाङ पुगिन्छ । पदयात्रामा रुचि भएकाहरू जोमसोमबाटै यो बाटोमा हिँडछन् । उपल्लो मुस्ताङको समथर नाङ्गा र फुस्रा पहाडी शृङ्खलाले यात्रालाई रोमाञ्चक बनाउँछ । वरिपरि पहाड कुनै कलाकारका सुन्दर कालिगड रचना जस्ता देखिन्छ । बाटैभरि ठाउँ ठाउँमा ध्वजापताकासहित रचना जस्ता देखिन्छ । बाटैभरि ठाउँ ठाउँमा ध्वजापतासहितका बौद्ध छोर्तेनहरूमा रोकिँदै फोटो खिच्दै जाँदा करिब छ घण्टाको यात्रापछि ल्होमन्थाङ पुगिन्छ । त्यहाँ पुग्दा ल्होमन्थाङको रमणीय भव्यताले निकै लोभ्याउँछ ।
एक पटक हरेक नेपाली उपल्लो मुस्ताङको मनोरम दृश्यको अवलोकन गर्न जानैपर्ने ठाउँ हो– ल्होमन्थाङ । ल्होमन्थाङ विशाल मैदानको बिच भागमा बाक्लो पर्खालले घेरिएको बस्ती हो ।