काठमाडौँ, वैशाख २५ गते । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज तोलामा रु. एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला रु. पाँचले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९६० मा बेचबिखन भइरहेको छ ।
बिहीबार प्रतितोला सुन रु. एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९५५ मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस