• १४ मंसिर २०८१, शुक्रबार

अशक्त महिला माथि हुने हिंसा न्यूनीकरणमा पहल हुन्छ: सभापति कार्की

blog

राष्ट्रिय महिला आयोगले आयोजना गरेको अपाङ्गता भएका महिलाहरूको हक, अधिकार सम्बन्धी कार्यक्रममा सहभागी अतिथिहरू । तस्बिर: कविता थापा

काठमाडौँ, असार १९ गते । महिला तथा सामाजिक समितिका सभापति रोशन कार्कीले अपाङ्गता भएका महिलाले भोग्नुपरेको हिंसा, विभेद न्यूनीकरणका लागि सरोकारवालासँग बसेर समितिमा छलफल गर्ने बताउनुभएको छ । 

राष्ट्रिय महिला आयोगद्वारा सोमवार राजधानीमा आयोजित अपाङ्गता भएका महिलाले भोग्नुपरेको विविध समस्या न्यूनीकरण सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अपाङ्गता भएका महिलाले भोगेको समस्याबारे सम्बन्धित संस्था अभियन्ताको प्रस्तुतिको माध्यमबाट बुझ्ने अवसर पाएको र यस सम्बन्धमा अझै विस्तृत बहसका लागि समितिमा पनि सरोकारवालासँग बस्नका लागि समय मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलाभित्र पनि समस्यामा पर्ने वर्ग, क्षेत्रका आधारमा भिन्नभिन्नै प्रकृतिको हिंसा भोग्नेहरू छन् भन्दै अपाङ्गता भएका महिलाले भोगेको विभेद, समस्या निक्कै जटिल भएकोले यसको न्यूनीकरणका लागि विशेष व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा अपाङ्गता भएका महिलाको महासङ्घका अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका महिलाले भोग्नुपर्ने समस्या र अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका महिलाले दोहोरो मात्र होइन, तेहेरो समस्या भोगेको बताउनुभयो ।

उहाँले समाजमा अपाङ्गता भएको छोरीले केही गर्न सक्दिन भन्दै घरमा थन्क्याउने, शिक्षा, तालिमको अवसरबाट वञ्चित राख्ने, अपाङ्गता भएका महिला हिँडडुल गर्न नसक्ने, प्रतिकार गर्न र भन्न नसक्ने भएकाले बढी बलात्कारलगायत यौन हिंसामा पर्ने,  विवाह नहुने, भइहाले पनि अन्य महिलाले झैँ हक अधिकार नपाउने,  यौन हिंसामा परे न्याय पाउनेलगायतका समस्यामा परेको बताउनुभयो ।

उहाँले अपाङ्गता भएका छोरीलाई परिवारका सदस्यले घरमा राख्न नचाहने, कुनै संस्थाले लगेर पाल्दिए हुन्थ्यो भन्ने, सम्पत्तिको अधिकार नदिने यस वर्गले भौतिक संरचनाको अप्ठेरो, आर्थिक, सामाजिक विभेदका कारण निक्कै दयनीय अवस्था रहेको यसको न्यूनीकरणका लागि बनेका नीति, कानुनको पूर्ण कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।