• १२ साउन २०८१, शनिबार

नौलो प्रयोगमा बनेको कथा ‘परस्त्री’

blog

काठमाडौँ, असार १९ गते । पछिल्लो समय नेपाली चलचित्रका कथा, विषय र त्यसमा प्रयोग गरिने भाषा र प्रस्तुतिको शैलीमा ठुलै परिवर्तन देखिन थालेको छ । चलचित्रका निर्माता तथा निर्देशकले कुन पात्र र कस्तो प्रविधि प्रयोग गर्दा चलचित्र विकाउ हुन्छ भन्ने कुरा बुझिसकेका छन् । त्यसैले निर्माता र निर्देशक नयाँ सोचका विषयवस्तुलाई  लिएर कथा बुन्ने र प्रस्तुत गर्न थालेका छन् । 

यस्तै फरक सोचका विषयवस्तु भएको चलचित्र ‘परस्त्री’ हालै प्रदर्शनमा आएको छ । अलि बढी अश्लील दृश्य भएको भनेर सेन्सर बोर्डले चलचित्रका केही दृश्यमा कैँची पनि चलायो भन्ने चर्चा भएको थियो तर बजारमा हल्ला चलेजस्तो अश्लील दृश्यको चलचित्र छैन । 

श्रीमान् श्रीमतीको जीवनमा आउने सामान्य उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पीडा चलचित्रको मुख्य कथा हो । चलचित्रमा प्रमुख तीन पात्र विश्वास (कोसिस क्षेत्री), आयान (गौरव विष्ट) र आव्या (शिल्पा मास्के) को वरपर घुमेको छ । चलचित्रमा यी तीनै पात्रको जीवन यौन कुण्ठाले भरिएको छ । तीनै जनालाई यौनको भोक छ । आव्या आफ्नो श्रीमान् विश्वासबाट खुसी हुन्नन् । त्यसैले पनि उनी आयानसँग सम्बन्ध राख्न मन पराउँछिन् तर आयान भने आव्यासँगको सम्बन्ध क्षणिक समयका लागि मात्र राख्न चाहन्छ । यता विश्वासको सौख अलग्गै छ । ऊ नेक्रोफिलिया (लाससँग यौन सम्बन्ध राख्न रुचाउने) भन्ने रोगले पीडित हुन्छ । विश्वास मरिसकेका महिलासँग आफ्नो यौन प्यास मेटाउन रुचाउँछ । विश्वासको यही बानीबाट आव्या पनि पीडित हुन्छिन् । विश्वास र आयानबिच आव्याले के कस्तो दुःख झेल्छिन् भन्ने कुरालाई चलचित्रमा देखाउन खोजिएको छ । एउटा पुरुष जो परस्त्रीको सङ्गतमा फसेको छ र ऊ त्यहाँबाट उम्कन सक्दैन । परस्त्रीसँग लागेपछि उसको जीवनमा आउने उतारचढावले पनि चलचित्रमा धेरै कुरा दर्शाउँछ । चलचित्रलाई सस्पेन्स थ्रिलर पनि भन्न सकिन्छ । दिमागी हालत ठिक नभए पनि मान्छेभित्र अनेकन सोच उत्पन्न हुन्छ । त्यो सोचमध्ये एउटा नेक्रोफिलिया पनि हो । नेपालमा यस्तो खालको साइको प्रवृत्तिको घटना  भएको खासै नसुनिए पनि विदेशमा भने प्रायः सुनिन्छ । नेपाली चलचित्रका लागि यो नौलो प्रयोग पनि हो ।  

निर्देशक दीपेन्द्र के. खनालको लेखनीयको जति तारिफ गरे पनि कम हुन्छ । उहाँले दर्शकलाई चलचित्रबाट नौलो कथाको स्वाद चखाउन खोज्नुभएको छ । सुरज पाण्डेको निर्देशकीय पक्षलाई कम ठान्नु हुन्न । लेखक खनाल र निर्देशक पाण्डेले नयाँ कथानक चलचित्र दर्शकलाई उपहारस्वरूप पस्कन खोज्नुभएको छ । साथै उहाँले चलचित्रबाट आफ्नो निर्देशकीय पक्षमा बलियो सम्भावना देखाउनु भएको छ । यस्तै चलचित्रमा तीनैजना कलाकारको अभिनय प्रशंसायोग्य छ । बेला बेलामा नायिकालाई आँखा लगाउन झुल्कने कलाकार आशान्त शर्माको अभिनय अन्य चलचित्रभन्दा केही नयाँ छ । सस्पेन्स थ्रिलर कथामा निर्माण भएको चलचित्रलाई निर्देशक पाण्डेले दर्शकलाई दुई घण्टा कसिलो फ्रेमभित्र बाँध्न सफल हुनुभएको छ । चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुतिले दर्शकलाई आँखा झिमिक्क पनि पार्न दिँदैन ।