• १६ वैशाख २०८१, आइतबार

मेलम्ची खानेपानी आयोजना

बाह्रै महिना पानी ल्याउने डिजाइन बन्दै

blog

मेलम्ची, असार १९ गते । मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना पानी ल्याउने गरी डिजाइनको काम अघि बढाइएको छ। मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बर्खा लागेसँगै मध्यकालीन समाधानमार्फत इन्टेक स्थानान्तरण, बालुवा थिग्य्राउने प्रणालीलगायत सम्पूर्ण डिजाइनको काम अघि बढेको बताउनुभयो। अहिले वर्षमा १० महिना (करिब तीन सय दिन) पानी वितरण गर्ने अवस्था छ।

इन्टेक नसारी अहिले भएको ठाउँबाट बाह्रै महिना पानी ल्याउन बालुवा थिग्य्राउने सिस्टम जोड्न जरुरी रहेको र त्यो हुँदा धेरै खर्च गर्नु नपर्ने उहाँले बताउनुभयो। यसका लागि मौसम र अध्ययनको सीमा अनुसार आठदेखि ५० करोड रुपियाँसम्म खर्च लाग्न सक्ने उहाँको भनाइ छ। 

मुहानको इन्टेक सारिने

मेलम्चीमा पुनः दुई वर्षअघिकै जस्तो बाढी तत्कालै आउने सम्भावना अति न्यून रहेको विज्ञको ठम्याइ भएको उहाँले बताउनुभयो। विज्ञहरूका अनुसार यस्तो बाढी हजारौँ वर्षमा एक पटक आउने हो।  मेलम्चीको अहिले जुन बिन्दुबाट पानी आइरहेको छ, त्यहीँबाट पानी लान नसकिने तथा कुनै पनि बेला खोला बढेर त्यहाँको संरचना पुरिन सक्ने जोखिम भने कायमै छ। यसकारण इन्टेक सार्ने, अहिलेको मुहानभन्दा करिब तीनदेखि चार सय मिटरमाथि बालुवा थिग्य्राउने सिस्टम बनाउने र चारदेखि पाँच सय मिटरको थप टनेल बनाएर काम अगाडि बढाउने तयारी भइसकेको उहाँले जानकारी दिनुभयो। 

उहाँले इन्टेक सार्नका लागि अनुमानित दुई अर्ब रुपियाँभन्दा बढी खर्च हुने बताउनुभयो। खोलामा निर्माण हुने संरचनाको शतप्रतिशत ग्यारेन्टी नभए पनि बनाइएको संरचनाले कुनकुन परिस्थितिसम्म थेग्न सक्छ भनेर डिजाइन गरिएको उहाँको भनाइ छ। 

मौसम विज्ञान विभागले यो वर्ष औसतमा भन्दा कम वर्षा हुने प्रक्षेपण गरेअनुरूप अहिले मेलम्ची खोलाको मुहान अनुगमन गर्ने क्रममा रहेको उहाँले बताउनुभयो। 

यो पनि पढ्नुहोस

मेलम्ची बजार पुनः सञ्चालन हुने आशा

बाढीले अर्बको क्षति

मेलम्ची खानेपानी आयोजना अन्तर्गत गत आर्थिक वर्षसम्म साढे ३० अर्बभन्दा बढी खर्च भइसकेको छ। यससँगै १९ रोपनी जग्गा अधिग्रहण, सामाजिक उत्थान कार्यक्रम, अन्य अध्ययन, विभिन्न चरणमा भएको वातावरणीय अध्ययनदेखि विस्तृत डिजाइन, पहुँच मार्गसहित सो रकम खर्च भएको उहाँले बताउनुभयो। उहाँले यससँगै आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलको पानी घर घरमा वितरण गर्न त्यति नै रकम खर्च भएको जानकारी दिनुभयो।

दुई वर्षअघिको बाढीले मेलम्चीको मुहानको बाँध, इन्टेक संरचना, हेडबक्स गरी करिब एक अर्ब रुपियाँ हाराहारीको क्षति पुगेको थियो। उहाँले गत असार २ गते प्रधानमन्त्री प्रचण्डले भ्रमण गर्नुभएपछि मेलम्चीसम्म पुग्ने स्थलगत मार्गको अवलोकन भएको जानकारी दिनुभयो। उहाँले मुहानसम्म बाह्रै महिना पुग्ने बाटो सहज भए पानी नियमित वितरण गर्न सहज हुने बताउनुभयो। त्यसका लागि प्रधानमन्त्रीले निर्देशन दिइसक्नुभएको छ। 

अध्ययन जारी

मेलम्ची खानेपानी विकास समितिका इन्जिनियर हेमन्तकुमार साहले गेग्य्रान र लेदोसहित आएको अकल्पनीय बाढीले हेडबक्स र इन्टेकका सबै संरचना ध्वस्त बनाएको र तीन वर्षको बीचमा क्षतिग्रस्त संरचनाको अध्ययन एवं अवलोकन गर्ने काम जारी रहेको बताउनुभयो। 

बाढीले सबै संरचना बगाएपछि अहिले वैकल्पिक डाइभर्सनबाट मेलम्चीको पानी काठमाडौँ ल्याइएको छ। करिब १७० मिटर फ्लसिङको लेबल मिलाइएको उहाँको भनाइ छ। 

सरकारले मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउने काम तदारुकताका साथ अघि बढाइने जनाएको छ। यसका लागि इन्जिनियरको तर्फबाट इस्टिमेट, डकुमेन्टेसन तथा डिजाइन सबै सम्पन्न भइसकेको छ। इन्जिनियर साहका अनुसार अबको तीनदेखि चार वर्षभित्र याङ्ग्री र लार्के खोलाको काम सम्पन्न गर्न सकिन्छ तर काम अघि बढाउन सम्बन्धित पक्षको निर्देशन आइसकेको छैन।

भूगर्भविद् शिवकुमार बास्कोटाले विनाशकारी भूकम्पपछि मनसुनमा आउन सक्ने पहिरो झन्डै तीन गुणाले बढेको बताउनुभयो। जलवायु परिवर्तनका कारण मेलम्चीलगायतका तल्लोतटीय क्षेत्रमा असर पर्ने गरेको उहाँको भनाइ छ। 

उहाँले हिमताल फुट्ने, विस्फोट हुने जोखिम बढ्दै गएकाले पछिल्लो समय माथिल्लो क्षेत्रको प्रभाव तल्लोतटीय क्षेत्रमा पनि पर्दै आएको बताउनुभयो। यसर्थ बाढी तथा पहिरोअगावै आवश्यक सावधानी अपनाउनुपर्ने उहाँको सुझाव छ। 

भिडियो : मनोजरत्न शाही