• २८ वैशाख २०८१, शुक्रबार

मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको पूर्ण सहयोग रहन्छ : प्रधानमन्त्री

blog

मेलम्ची खानेपानी आयोजनाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, खानेपनी मन्त्री महेन्द्र राय यादव र स्वास्थमन्त्री मोहन बस्नेतलगायत । तस्बिर : सुजन गुरुङ

मेलम्ची, असार २ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ । शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका –१ अम्बाथानस्थित परियोजना मुहान तथा बाँध क्षेत्रको निरीक्षणमा पुग्नुभएको प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसका बारेमा आवश्यक निर्णय सरकारका तर्फबाट लिइन्छ । थप बजेटको प्रबन्ध गर्छौँ, बजेटको व्यवस्था भयो भने भइपरी आउने काम गर्न सहज हुन्छ ।” प्रधानमन्त्रीले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताउनुभयो ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउने विषयमा काठमाडौं पुगेर गृहकार्य गर्ने जानकारी दिनुभयो । उहाँले यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाउने बताउनुभयो ।

साथै, प्रधानमन्त्री प्रचण्डले मेलम्चीमा आएको बाढीले आसपासका चार सय घर नष्ट भएको र ती क्षेत्रका जनताको भोग्नु परेको समस्याका बारेमा चासो लिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ ।  बजेटसँग सम्बन्धित विषयहरूलाई प्राथमिकतामा राखिने छ ।’’ प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्थालाई गम्भीरतापूर्वक लिएको  बताउनुभयो ।

यसैगरी, निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे व्याख्या गर्नुभएको थियो । सो क्रममा निर्देशक श्रेष्ठले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराउनुभएको थियो ।

गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री प्रचण्डले  स्थलगत अवलोकन गर्दै आउनुभएको छ । उहाँका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहनुभएको छ ।

वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो ।

वि.सं. २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायीरुपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो । वि.सं. २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो । 

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।