• २८ वैशाख २०८१, शुक्रबार

मेलम्ची र चौतारा जोड्ने पुल निर्माण अन्तिम चरणमा

मेलम्ची बजार पुनः सञ्चालन हुने आशा

blog

मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल । तस्बिर : मनोजरत्न शाही

मेलम्ची, असार १२ गते । मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल अबको १० देखि १५ दिनभित्र निर्माण पूरा हुने भएको छ । यो पुल निर्माणसँगै मेलम्ची बजार पुनः सञ्चालन हुने आशा स्थानीयबासीमा पलाएको छ । 

सिन्धुपाल्चोकको मेलम्चीमा म्याटियर प्यानल ब्रिज निर्माणको काम तोकिएको समयावधि अगावै निर्माण पूरा हुने देखिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले एमपीबी ब्रिज अर्थात् पुल निर्माणको कार्य अबको दशदेखि १५ दिनभित्र पूरा हुने बताउनुभयो । 

प्रमुख तामाङले भन्नुभयो, “दुई वर्षअघि २०७८ असार १ गते र त्यसयता निरन्तर आएको बाढी पहिरोका कारण मेलम्ची र चौतारा जोड्ने मोटरेबल पुल बगाएको थियो । यससँगै अरु पक्की पुल पनि बगायो । यस विषयमा सरकारको सम्बन्धित निकायमा समय–समयमा पुल निर्माणका लागि हामीले ध्यानाकर्षण गरायौं । प्रतिनिधिसभाका सांसद एवम् अहिलेका स्वास्थ्यमन्त्री, प्रदेश सांसद र मेलम्ची नगरको पहलमा यो पुल बन्दैछ । यो लगभग दश, १५ दिनभित्रै सम्पन्न हुन्छ ।”


नेपाली सेना इन्जिनियरिङ युनिटअन्तर्गत रहेको अड्डा नं. १४ ले करिब दश दिनदेखि उक्त पुल निर्माण कार्य अघि बढाएको हो । सेनानी चिरञ्जीवी चौलागाइँले मन्त्रिपरिषद्को निर्णय एवम् प्रधान सेनापतिको निर्देशन बमोजिम पुल निर्माणको कार्य तोकिएको समय अवधिभन्दा अगाडि नै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढेको बताउनुभयो । 

सेनानी चिरञ्जीवी चौलागाइँले भन्नुभयो, “सम्भवतः वर्षाको कारणले केही बाधा पुगेन भने यसलाई हप्ता, दश दिनको बीचमा पूरा गरेर स्थानीय जनप्रतिनिधि र जनतालाई हस्तान्तरण गर्ने मनसायले काम गरिरहेका छौं ।”

यो पनि पढ्नुहोस

मेलम्चीप्रति दिगो भरोसा

मेलम्चीमा बेलिब्रिज जडान सुरु भएपछि स्थानीय खुसी

सुरुको पहिलो हप्ता पुल कसरी बलियो बनाउन सकिन्छ भन्ने संरचना एवम् यसको संरक्षणमा ध्यान दिइएको उहाँको भनाइ छ । गएको दुई वर्षसम्म पुल हुन नसकेको तर चालु आर्थिक वर्षको अन्त्यमा निर्माण कार्य तीव्र गतिमा अघि बढेको जिज्ञासामा उहाँले विस्थापित पक्की पुलको ठाउँमा पक्की पुल नै स्थापना गर्ने उद्देश्यका साथ आर्थिक वर्षको अन्त्यमा पुल निर्माण गर्न लागिएको हुनसक्ने भनाइ राख्नुभयो । 

“विशेषज्ञ एवम् इन्जिनियरसहित निर्माण कार्यमा जम्मा ५५ जनाको फौज तैनाथ छौं”,  सेनानी चिरञ्जीवी चौलागाइँले भन्नुभयो, “नेपाली सेनालाई निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गर्ने भन्ने निर्देशन छ । मौसमले साथ दियो भने हाम्रो सबै स्रोत, जनशक्ति प्रयोग गरेर त्योभन्दा अगावै काम सक्ने लक्ष्य लिएका छौं”, दैनिक १४ देखि १६ घण्टा निर्माण कार्य जारी रहेको उहाँले बताउनुभयो ।  

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा

सेनानी चौलागाइँले एमपीबी ब्रिजको भारवाहन क्षमता २४ टनको हुने बताउनुभयो । यसको चौडाइ ४.२ मिटर रहने छ । वर्षातका कारण निर्माण कार्यमा बाधा पुग्ने गरेको भन्नुहुँदै उहाँले भन्नुभयो, “वास्तवमा यो पुल हिउँदको समयमा बनाउनुपर्ने हो । यो मौसममा बाढीले पनि असर गर्न सक्छ । विभिन्न अध्ययन तथा फिक्सिङ्का लागि खोलामा पनि जानुपर्ने हुन्छ ।”

हाल मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका जोड्ने उक्त ठाउँमा हिमपाइप राखेर बनाइएको अस्थायी मार्गबाट आवतजावत हुने गरेको छ ।

“अस्थायी रुपमा ठूलो हिमपाइप राखेर तलबाट गाडीहरु आवातजावत गर्ने मार्ग बनाइएको छ । पुल निर्माणपछि त्यसको जरुरत पर्दैन । यहाँका मान्छेहरु चार, पाँच किलोमिटर टाढा बाहुनेपाटीबाट वारपार गर्नुपरेको छ । पुल निर्माणपछि तीन, चारवटा गाउँपालिका प्रत्यक्षरुपमा लाभान्वित हुने देखिन्छ” उहाँले भन्नुभयो ।

स्थानीय जनप्रतिनिधि सँगसँगै मेलम्ची नगर विकास समितिका उपसभापति रामशरण गिरीले निर्माण कार्यमा प्रभावकारी सहजीकरण एवम् विशेष भूमिका खेल्नु भएको छ ।

मेलम्ची बजार पुन : सञ्चालन हुने आशा

स्थानीय एवम् मेलम्ची नगर उद्योग वाणिज्य संघका महासचिव तारा बानियाँले पुल निर्माण कार्यले यस क्षेत्रका व्यवसायी तथा सर्वसाधारणमा उत्साह दिएको र मेलम्ची बजार पुनः सञ्चालन हुनेमा आशा जगाएको बताउनुभयो । 

महासचिव बानियाँँले भन्नुभयो, “यो २०७८ मा आएको भीषण बाढीले पक्की पुल क्षति पु¥याएको हो, स्वास्थ्यमन्त्री मोहन बस्नेतको पहलमा यो पुल निर्माण हुँदैछ, यसले यहाँका व्यवसायी, सर्वसाधारणमा एकदम उत्साह दिएको र पुनः मेलम्ची बजार राम्रोसँग सञ्चालन हुनेमा हामी एकदम आशावादी छौं ।”


यही असारको पहिलो हप्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्चीलगायतका  क्षेत्रको अवलोकन गर्नुभएपछि स्थानीयबासीलाई प्रोत्साहित बनाएको भनाइ बानियाँको छ । 

मेलम्ची नपा वडा नंं. ६ का स्थानीय दलबहादुर गिरीले दुई वर्षअघि लेदो बाढीले बस्तीसँगै विभिन्न पक्की पुलसँगै दश, १२ वटा झोलुङ्गे पुल बगाएको स्मरण गर्नुभयो । 

सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची लगायतका क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षति न्यूनीकरण एवम् दीगो व्यवस्थापनका लागि विभिन्न राजनीतिक दलका नेताले आश्वासन दिने गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ । 

‘‘मेलम्चीमा प्रधानमन्त्री प्रचण्ड स्थलगत मार्गबाट आउनुभएको छ । जनतालाई राहत गराउँछु, पानी सुचारु गर्छु । याङ्ग्री र लार्के थप्न के गर्नुपर्छ भनेर अवलोकन गर्नु राम्रो कुरा हो” गिरीले थप्नु भयो । 

हरेक ठाउँमा विद्युतका पोलहरु बगाउने जोखिम भएकाले यसतर्फ पनि सरकारको ध्यान जानुपर्ने बताउँदै गिरीले भन्नुभयो, “जमिन गेगर नै गेगर भएको छ । खेतीयोग्य जमिन बनाउनु पर्‍यो । जनताको जग्गाको लालपुर्जा जनताले नै पाउने गरी अघि बढे लाभान्वित हुने थियौं ।”

सिन्धुपाल्चोकको मेलम्चीमा स्थलगत रिपोर्टिङ पछि...


भिडियाे  :  मनोजरत्न शाही


Author

सपना थामी/इन्दिरा अर्याल