• ८ जेठ २०८१, मङ्गलबार

मेलम्चीमा बेलिब्रिज जडान सुरु भएपछि स्थानीय खुसी

blog

मेलम्चीमा बेलिब्रिज जडानको काम गर्दै नेपाली सेना । तस्बिर : चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, असार ६ गते । यही असार १ गतेको मेलम्ची बाढीले बगाएको मेलम्ची पुलमा अहिले बेलिब्रिज जडान थालिएको छ । नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको काम अघि बढेपछि मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिकाका स्थानीय हर्षित भएका छन् ।

नेपाली सेनाले बुधबारबाट सो बेलिब्रिजको सेटिङ आउटको काम थालेको नेपाली सेना इन्जिनियरिङ विभाग १४ नम्बर अड्डाका सेनानी चिरञ्जीवी चौलागाँइले बताउनुभयो ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्वाचन क्षेत्र रहेको सो स्थानमा मन्त्री बस्नेत, बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङको पहलमा मेलम्चीमा बेलिब्रिज निर्माण थालिएको हो ।  


दुई साताभित्र बेलिब्रिज जडान भइसक्ने बेलिब्रिज जडान समन्वयकर्ता एवम् नेपाली कांग्रेस मेलम्ची नगर सभापति रामशरण गिरीले जानकारी दिनुभयो । बाढीले पक्की पुल बगाएपछि दुई वर्षसम्म मेलम्ची नदीमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिएको थियो । हालै आएको बाढीले सो ह्युमपाइप पनि बगाएर लगेपछि आवतजावत ठप्प भएको छ ।

त्यही कारण मेलम्ची, हेलम्बु, पाँचपोखरी, इन्द्रावती क्षेत्रका हजारौँ नागरिकले पुल अभावमा सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ । सरकारले बेलिब्रिज जडान थालेपछि राहत महुशस भएको स्थानीयको भनाइ छ ।