अमृतप्रसाद पौडेल
म्याग्दी, असार १८ गते । हिमाली जिल्ला म्याग्दीको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजवादउन्मुख अर्थतन्त्र निर्माणको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको सहकारी क्षेत्रमाथि यतिबेला चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ ।
मालिका गाउँपालिका सहकारी शाखाले सञ्चालन गरेको तीन दिने सहकारी शिक्षा तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष गर्बुजाले यस्तो बताउनुभएको हो । विश्वका हरेक क्षेत्रमा समस्या छन्, सहकारी क्षेत्रमा पनि केही समस्या छन् । केही नियत खराव भएका सहकारीहरुले गरेको बद्मासीलाई देखाएर सबै सहकारीलाई तर्साउने गरी भएका प्रचारलाई निस्तेज पार्न सरकार गम्भीर बन्नुपर्ने उहाँले बताउनुभयो ।
बदमासी गर्नेलाई कारबाही गर्ने हो, उनीहरुले गरेको गल्तीको भारी आम सहकारीलाई बोकाउनेगरी जसरी प्रचार गरिएको छ, त्यसलाई चिर्न स्थानीय सरकारले पनि पहल लिनुपर्ने उहाँको भनाइ छ ।
सहकारीका सञ्चालक र कर्मचारीले कमजोरी गरेका छन् भने हामीले कार्वाही गर्छौ, तर देशमा आएको वित्तीय संकटका कारण समस्या देखिएका सहकारीलाई जोगाउनु पनि गाउँपालिकाको र सहकारी अभियानको जिम्मेवारी हो, अध्यक्ष गर्बुजाले भन्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तिमगर पुनले समुदाय केन्द्रित सहकारीले गरेको सकारात्मक विषय जनता र राज्यबीचमा लैजानु पर्नेमा जोड दिनुभयो । सहकारीले विपन्न वर्गका जनताको आर्थिक विकास र सामाजिक सशक्तिकरणमा धेरै योगदान गरेका छन, केही बदमास सहकारीका कारण सबैलाई एउटै तरिकाले हेर्ने र व्यवहार गर्न नुहने उहाँको भनाइ छ ।
मालिका गाउँपालिका भित्रका सहकारीकर्मीको सहभागिता रहेको तालिमको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नुभयो । तालिममा सहकारी ऐन र गाउँपालिका सहकारीको सम्बन्ध, सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यको भूमिका, सहकारीमा वचत परिचालन र ऋण जोखिम व्यवस्थापन, सदस्यका लागि वित्तीय साक्षरतालगायतका विषयमा सहजीकरण गरिएको गाउँपालिकाका योजना अधिकृत तथा सहकारी शाखा प्रमुख सोमबहादुर केसीले जानकारी दिनुभयो ।