• १४ मंसिर २०८१, शुक्रबार

सहमतिपछि बागमती प्रदेशसभा बैठक सुचारु

blog

बागमती प्रदेश सभाको सोमबार बसेको बैठक । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, असार १८ गते । विपक्षी दलहरुको अवरोधका कारण अवरुद्ध बन्दैआएको बागमती प्रदेश सभाको बैठक आज सोमबारबाट सुचारु भएको छ । बागमती प्रदेशको गठबन्धन सरकारले विपक्षी दलका मागलाई बजेटमा सम्वोधन गर्ने प्रतिबद्धता जनाएपछि बैठक सुचारु गर्ने सहमति बनेको हो ।

सत्ता पक्षले बजेटमा कमजोरी भएको महसुस गर्दै बजेटलाई सन्तुलित बनाउने र त्रुटिहरु सच्याएर जाने सहमतिसँगै प्रदेश सभाको बैठक सुरु भएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेटमाथि छलफल गर्ने कार्य सूचीसहित बोलाइएको बैठक गत मङ्गलबारदेखि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बजेट असन्तुलित र पक्षपाती भएको भन्दै अवरोध गर्दैआएका थिए । नेपाल मजदुर किसान पार्टीले पनि बजेटको विरोध गरेको थियो ।

आइतबार एमाले र राप्रपाको अवरोधपछि सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । सहमतिपूर्व आज बसेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक सुचारु गर्ने सहमति भएको थियो । दलबीचको सहमतीपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे दुई घण्टा ढिलागरी सुरु भएको थियो ।

प्रदेश सभाको बैठक सुरु भएलगत्तै प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङलाई बोल्ने समय दिनुभएको थियो । 

मन्त्री लामाको प्रतिबद्धतापछि आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमाथि छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धब थापाले बजेट अन्यायपूर्ण र विभेदकारी भएकाले विरोध गरेको बताउनुभयो । 

उहाँहरुले सरकारबाट त्रुटि सच्याउने प्रतिबद्धता आएकाले बैठक सुचारु गर्ने सहमति भएको बताउनुभयो । त्यस्तै, नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्य सिर्जना सायजुले बजेटमा प्राथमिकता र सन्तुलन नरहेको बताउनुभयो ।

बजेटमाथिको छलफलमा उठेका प्रश्नको आर्थिक मामिला तथा योजनामन्त्री तामाङले जवाफ दिनुभएको थियो । बजेटमाथिको छलफल समाप्त भएपछि आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पेस गर्नुभएको छ । प्रदेशसभाको बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।