• १४ पुस २०८१, आइतबार

आधारभूत विद्यालयमा विधार्थीको भर्ना बढ्दै

blog

श्री जनता आधारभूत विद्यालय बैरियाा गुँदीगाउँ लहान-१०मा साना बालबालिकाहरुलाई कक्षाकोठासम्म नियमित पुरयाउँदै अभिभावकहरु ।

जीवछ यादव

लहान, असार १८ गते । लहान-१० स्थित श्री जनता आधारभूत विद्यालयमा विधार्थीहरुको सङ्ख्या बढ्दै गएको छ । कक्षा एक र बालविकास कक्षा संयुक्त रुपमा चलिरहेको कक्षामा पचास जना विधार्थीहरु पुगिसकेको त्यस कक्षाका वर्ग शिक्षिकाहरु रोखा कुमारी महतो र रेखा कुमारी गुप्ताले बताउनुभयो । 

उहाँहरुका अनुसार स्थानीय अभिभावकहरुमा बालबालिकाहरुलाई पढाउनुपर्ने ध्यान गएपछि विधार्थी सङ्ख्या बढ्दै गएको हो भने नियमित पौष्टिक आहार खाजा खुवाउन सुरु गरिएपछि नियमित विधार्थी आउने सङ्ख्यामा वृद्धि भएको हो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य नथुनी पासवान भन्नुहुन्छ, “दलित समुदायहरुमा शिक्षाप्रति चासो बढाउन समाजका अगुवाहरुबाट पनि सकारात्म पहलहरु भयो ।  पढेपछि दलित विपन्नहरुको जीवन सुखी र खुसी हुने विषयमा दलित अभियन्ताहरु जनप्रतिनीधि लगायतका प्रयासबाट शिक्षाप्रति आकर्षित भइरहेका छन् ।”

प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीले आठ लाख रकम छुट्टयाएर विद्यालयको पर्खाल निर्माण गरिदिएको स्थानीय समाजसेवी विन्देश्वर पासवानले भन्दै नगरपालिका शिक्षा शाखाले एकजना स्वयम सेवक शिक्षिका र विद्यालयलाई माध्यमिक स्तरसम्म सञ्चालनको लागि स्वीकृति दिएको बताउनुभयो । 

दलित विपन्नहरुले पढेर के हुन्छ भन्ने सोच परिवर्तन गर्न निकै समय लागेको र अझैपनि मेहनेत गर्नुपर्ने दलित अभियानकर्मी उमेश विसुन्केले भन्दै विद्यालयमा चलिरहेको खाजा कार्यक्रम सबै कक्षाको विधार्थीहरुको लागि व्यवस्था गर्न नगरपालिकासँग पहल गरिरहेको बताउनुभयो । 

लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयहरुको भौतिक संरचना र शैक्षिक सुधारको लागि लहान नगरपालिकाबाट भइरहेको सकारात्मक प्रयासले शैक्षिक माहोल बन्दै गइरहेको श्री जनता माध्यमिक विद्यालय सोनमति गढाका प्रधानाध्यापक अरविन्द कुमार दासले बताउनुभयो । उहाँले थप्नुभयो, “लहान नगरपालिकाले यस वर्ष पनि शिक्षालाई प्राथमिकतामा राखेर ६ करोड बजेट विनियोजन गर्नु सकारात्मक पहल भएको छ । विद्यालय भर्नाको लागि जन्मदार्ता गारउनपनि नगरपालिकाको निःशुल्क गरिदिएपछि यसले पनि राम्रो प्रभाव पारेको छ ।”

सामुदायिक विद्यालयमा विधार्थी भर्ना गराउन अभिभावकहरुमा देखिएको रुचिले संस्थागत बोर्डिङग स्कुलमा भर्ना भएका विधार्थीहरु पनि सामुदायिक विद्यालयमा भर्ना हुन थालेको शिक्षा शाखाका प्रमुख अमिरी प्रसाद यादवले भन्दै शैक्षिक सुधारको लागि शिक्षा समितिका संयोजक समेत रहनुभएका लहान नगरप्रमुख महेश पसाद चौधरीको निर्देशनमा मासिक प्रधानाध्यपकहरुसँगको बैठक र सघन विद्यालय अनुगमनतर्फ शाखा क्रियाशिल भएको बताउनुभयो ।