नेत्र शाही
जुम्ला, असार १८ गते। जुम्लाको तातोपानी ४ गिडिखोलामा घर जलाइएको आरोपमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तातोपानी ४ निवासी भरत नेपालीको घर जलेको थियो।सो विषयमा अनुसन्धान गर्दा प्रहरीले घर जलाउने व्यक्तिको पहिचान गरेर मुद्दा दर्ता गराएको हो।
प्रहरी निरीक्षक जोशीका अनुसार तातोपानी ४ कै हिक्मत गिरीसहित तीन जनाविरुद्ध जाहेरी परेपछि हिक्मतलाई पक्राउ गरिएको हो।हिक्मतले प्रहरीलाई प्रारम्भिक जानकारीमा गोठबाट आगो लगाएको स्वीकार गरेका छन्।
मुलुकी अपराधसंहिता २०७४ को दफा २८५ र १६६ अनुसार अपराधिक उपद्रव र जातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर मुद्दा अगाडि लगाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो।घटनाको चार दिनअघि घरधनी भरत नेपालीका भाइ मुकेन्द्र नेपालीले सोही गाउँकी एक किशोरी भगाएर विवाह गरेको जनाइएको छ।
प्रहरी निरीक्षक जोशीका अनुसार आइतबार बिहान अन्दाजी ३ बजे आगलागी हुँदा भरत नेपालीको तीन तले घर जलेको थियो।यता केटीका बुवाले छोरी हराएको भन्दै गत असार १३ गते निवेदन दिएको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार केटीका बुवाले दिएको निवेदनमा मुकेन्द्र नेपालीसँग विवाह गरेकी किशोरी अन्दाजी १६ वर्षीया रहेको उल्लेख छ।यता किशोरीले अध्ययन गर्ने विद्यालयको प्रमाणपत्रमा १४ वर्ष सात महिनाको मात्र रहेको खुलेको प्रहरीले जनाएको छ।
सरोकारवालाको ध्यानाकर्षण
यता घर जलाइएको विषयमा जातीय विभेद भएको भन्दै सरोकारवाला निकायबाट ध्यानाकर्षण गरिएको छ।दलित सेवा सङ्घ जुम्ला, दलित मुक्ति मोर्चाले अन्तरजातीय विवाह भएका कारण घर जल्ने विषय गम्भीर भएको भन्दै कानुनी कारवाही गर्न स्थानीय प्रशासनमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन्।