• १२ मंसिर २०८१, बुधबार

धादिङमा डेंगुका बिरामी बढ्दै

blog

मुरारी अधिकारी

धादिङ, असार १८ गते । धादिङमा डेंगुका बिरामीको सङ्ख्या एक्कासि बढेको छ । वर्षात सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेसँगै डेंगुका बिरामी पनि बढ्न थालेका छन् ।

जिल्ला अस्पताल धादिङमा मात्रै पछिल्लो समय दैनिक तीन जनामा डेंगुको सङ्क्रमण भेटिएको अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिनुभयो । जेठ पहिलो सातादेखि असार १७ गतेसम्म धादिङ अस्पतालमा उपचारका लागि आएकामध्ये ८८ जनामा डेंगु सङ्क्रमण भेटिएको रिजालले बताउनुभयो ।

“दिनहुँ सङ्क्रमणको दर बढ्दै गएको छ । खासगरी सदरमुकाम आसपासका क्षेत्रमा सङ्क्रमणको सङ्ख्या बढ्दो छ । स्थानीय त्रसित बनेका छन् । ग्रामीण बस्तीहरुमा पनि डेंगुको सङ्क्रमण फैलिएको छ”, रिजालले भन्नुभयो ।  

धादिङ अस्पतालका डाक्टर माधव पौडेलका अनुसार अस्पतालमा जाँच गर्न आएकामध्ये दिनमा तीन जना जतिलाई डेंगुको सङ्क्रमण भेटिने गरेको छ । डेंगु रोगको सङ्क्रमण दिनहुँ बढ्दै गएकाले डेंगुको लार्भा खोजेर नष्ट गर्नु नै नियन्त्रणको सबैभन्दा उत्तम उपाय रहेको चिकित्सकहरु बताउँछन् । 

डेंगु सङ्क्रमण भेटिएका अधिकांश बिरामीलाई भर्ना गरेर राख्नुपर्ने अवस्थामा अस्पताल आइपुग्ने पौडेलको भनाइ छ । सङ्क्रमण भएपछि शरीरमा सेतो रगतको मात्रा घट्ने र पानी मात्रा कम हुने भएकोले बिरामीको अवस्था चाँडै कमजोर बन्ने भएकोले भर्ना गर्नैपर्ने अवस्था आउने डा. पौडेलले जानकारी दिनुभयो । 

बर्खायाममा आकाशबाट पानी पर्न थालेपछि खाल्डाखुल्डीमा पानी जम्ने र लामखुट्टेले डेंगुको सङ्क्रमण फैलाउने गरेको पाइएको छ ।