• १२ साउन २०८१, शनिबार

इन्जिनियरको मृत्युपछि रत्नहरि अस्पतालमा तालाबन्दी

blog

अमरराज नहर्की

तनहुँ, असार १८ गते  । उपचारमा लापरबाही भएर  बिरामीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले दमौलीस्थित रत्नहरि अस्पतालमा तालाबन्दी गरिदिएका छन् ।

डेंगुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाको घर नक्सा शाखामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएपछि आइतबार साँझ तालाबन्दी गरिदिएका हुन् । व्यास नगरपालिका–१० दुम्सी निवासी शर्माको शनिवार राति ९ बजे पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शर्मा बिरामी भएपछि असार १३ गते  सो अस्पतालमा भर्ना हुनुभएको थियो । शर्मालाई निको नभएपछि  थप उपचारका लागि पोखरा लैजाँदै गर्दा निधन भएको थियो । 

अस्पतालले समयमा नै रिफर गरिदिएको भए बिरामीको निधन नहुने र अस्पताल मापदण्ड अनुसार सञ्चालन भएको या नभएको बारे छानबिनको माग राखेर तालाबन्दी गरिएको स्थानीय बासिन्दा श्रीकृष्ण आचार्यले बताउनुभयो । उपचार गर्ने डा. इन्द्रकुमार यादवले मानवीय संवेदनशीलतालाई ख्याल नगरीकन बोलेकाले तालाबन्दी गर्नुपरेको आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, हामीले क्षतिपूर्ति मागेका छैनौँ चिकित्सकको लापरबाहीले ज्यान गएको हो कि हैन, मापदण्ड अनुसार अस्पताल चलेको छ कि छैन भनेर छानबिनका लागि ताला लगाएका हौँ ।

बिरामीको स्वास्थ्यमा सुधार हुँदै गएकोमा एक्कासि बिरामीले पेट धेरै दुख्यो भनेपछि एम्बुलेन्स राखेर पोखरा लैजाने क्रममा निधन भएको अस्पतालका सञ्चालक ताराप्रसाद श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, स्वास्थ्य परीक्षणको क्रममा डेंगी लागेको पुष्टि भयो निको भइरहेको थियो, बिरामी राम्रोसँग बोलिरहनुभएको तर अचानक बिरामीले पेट फूलेको बताएर पोखरा जान्छु भनेपछि रिफर गरेका हौँ । यस घटनाप्रति व्यास नगरपालिकाले दुःख व्यक्त गरेको छ । 

नगरपालिका सभाकक्षमा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको अध्यक्षतामा शोक सभाको आयोजना गरी आधा दिन बिदा गरी स्व. शर्माको एक मात्र छोराको पठन पाठनका लागि तीन लाख सहयोग गर्ने निर्णय भएको नगरपालिकलाले जनाएको छ । 

रत्नहरि अस्पतालका सञ्चालक, स्व‍ कमल शर्माको उपचारमा रहेका चिकित्सक, शर्माका आफन्तहरू बीच उपचारका विषयमा व्यापक अन्तरक्रिया नगरपालिका बैठक कक्षमा  गरिएको थियो । अस्पतालमा आउने  बिरामीका उपचारमा संवेदनशील हुने र यस विषयमा पुनः छलफल गर्ने गरी सहमति गरिएको विज्ञप्तिमा जनाइएको छ ।

नगरपालिकाका अस्पतालहरूले दिने सेवा र प्रयोगशालाप्रति पटक पटक गुनासो आएको, नवीकरण, दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको सम्बन्धमा ५ दिनभित्र प्रभावकारी अनुगमन गर्ने र आवश्यक सुधारका लागि सम्बन्धित अस्पताललाई निर्देशन दिने, निर्देशन पालना नगरेमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरिएको सम्बन्धित सबैमा अनुरोध गरिएको विज्ञप्तिमा जनाइएको छ ।

तालाबन्दी गरिएको रत्नहरि अस्पताल । तस्बिर: अमरराज नहर्की