अविनाश चौधरी
धनगढी, असार १७ गते । कर्णाली नदीको सहायक नदीहरूमा दुर्लभ जलीय जीव डल्फिन आइपुगेका छन् । कैलालीको मोहना र पथरैया नदीमा डल्फिनको आएका हुन् ।
नदीहरूमा पानीको सतह बढेपछि दुर्लभ जलप्राणी डल्फिन आइपुगेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार हिजोदेखि मोहना र पथरैया नदीमा गरी चार वटासम्म डल्फिन देखा परिरहेका छन् । जसमध्ये एउटा बच्चा छ । टीकापुर नगरपालिका –७ बैदीस्थित नदीमा यी डल्फिन देखा परिरहेका छन् ।
कर्णाली नदीमा वर्षभरि नै बस्ने डल्फिन मोहना, पथरैया, कान्द्रा, काँढालगायतका सहायक नदीमा भने मनसुन अवधिभरि मात्रै बस्ने गर्छन् । नदीमा पानीको सतह बढेपछि यहाँ बच्चा हुर्काउन डल्फिन आउने गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो । वर्षाभरि सहायक नदीमा रमाउने डल्फिनहरू मनसुन बाहिरिएसँगै पानीको गहिराइ खोज्दै तल्लो तटीय क्षेत्रतर्फ जानेगरेका छन् ।
हरेक मनसुनमा यहाँ डल्फिन अवलोकनका लागि देशविदेशबाट पाहुनाहरू आउने गर्छन् । कैलालीमा अत्यन्त नजिकबाट डल्फिन अवलोकन गर्न सकिने स्थान मानिन्छ ।