• १४ जेठ २०८१, सोमबार

पहिलेकै स्वरूपमा सिन्धुलीगढी

blog

- फणीन्द्र फुयाल ज्वाला 

 मानिस मात्र होइन, उसले निर्माण गरेका संरचना पनि वयस्क हुँदै वृद्ध हुन्छन् । बुढो भएको मानिस पुनः युवावस्थामा फर्किन सक्दैन तर मानिसले बनाएका संरचना भने बुढो, जर्जर र भग्नावेशष भएपछि पनि पुनर्निर्माण गर्न सकिन्छ । ती फेरि तन्नेरी अवस्थामा हुन्छन् । यतिबेला बागमती प्रदेश अन्तर्गतको सिन्धुली जिल्लामा अवस्थित सिन्धुलीगढी क्षेत्र (रानी दरबार) चिटिक्क भएको छ । लाग्छ, सिन्धुलीगढीलाई वर्षौंपछि बैँस आएको छ ! 

‘‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई, 

कत्तिमा राम्रो दरबार मा-यो नि मायाले मा-यो...’’ 

यहीँको रानी दरबारका नाममा लोकगायक तथा गीतकार स्वर्गीय कृष्णविक्रम थापाले यो गीत गाएपछि दरबारको मात्र नभई सिन्धुली जिल्लाकै चर्चा चुलियो । यो गीत २०३६ सालमा रेडियो नेपालमा प्रथम भएपछि वर्षौंदेखि कालजयी बनेर गुञ्जिइरहेको छ । गीत कालजयी भएसँगै सिन्धुलीगढी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बिस्तारै बढ्न थाल्यो । 

दरबारको पुरानै शैलीमा पुनर्निर्माण कार्य करिब सम्पन्न भएको छ । दरबारलाई सिँगारेर बेहुली जस्तै चिटिक्क पारिएको छ । यो दरबारलाई ‘सिन्धुलीगढी दरबार’ भनेर पनि चिनिन्छ । बिपी राजमार्ग र सोलाभञ्ज्याङ–नागी सडक निर्माण भएकाले सिन्धुलीगढीको महत्व बढ्दै गएको स्थानीयबासी बताउँछन् । त्यसो त २० किमी तल रहेको सिन्धुलीमाढीमा गर्मीले आकुलब्याकुल भएकाहरू यतिबेला नागबेली परेको बिपी राजमार्ग हुँदै जङ्गलको बिचमा अवस्थित गढी क्षेत्रमा आएर चिसो हावा र रमणीय वातावरणमा भुल्ने गरेका छन् । हिउँदको खुला मौसममा यहाँबाट देखिने दोलखा जिल्लाको गौरीशङ्कर हिमाल र यहाँ फुल्ने लालीगुराँस पनि कम्ता लोभलाग्दो हुँदैन ! बर्खायाममा भने सिन्धुलीगढी भुइँ कुहिरोले ढपक्कै ढाक्छ । 

इतिहासमा उल्लेख भए अनुसार विसं १८२४ मा नेपाल एकीकरणको समयमा कप्तान किनलोकको नेतृत्वमा आएको अङ्ग्रेज फौजलाई तत्कालीन गोर्खाली सेनाले सिन्धुलीगढीको युद्धमा पराजित गरेकाले सिन्धुलीगढीले गर्बिलो इतिहास बोकेको छ । 

सदरमुकाम सिन्धुलीमाढीबाट २० किलोमिटर उत्तरमा रहेको सिन्धुलीगढी महाभारत क्षेत्रमा पर्छ । बिपी राजमार्गको सोलाभन्ज्याङस्थित गढी प्रवेशद्वारबाट उत्तरतर्फ करिब १० मिनेटको दूरी रहेको उकालो चढेपछि ऐतिहासिक सिन्धुलीगढी क्षेत्रमा प्रवेश गरिन्छ । सिन्धुलीगढी दरबार (रानीदरबार) को पुनर्निर्माण झन्डै ९० प्रतिशत सम्पन्न भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–३ मा रहेको सिन्धुलीगढी दरबार चार करोड ३८ लाख ९९ हजार ५२२ रुपियाँको लागतमा पुनर्निर्माण थालिएको कमलामाई नगरपालिका–३ का वडा अध्यक्ष खड्गप्रसाद चौलागाईं बताउनुहुन्छ ।

नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक क्षेत्र सिन्धुलीगढीको मौलिकतालाई यथावत् राख्ने गरी संरचना निर्माण हुनुले यस क्षेत्रलाई आगामी दिनमा विश्वसम्पदा सूचीमा सूचीकृत गर्न टेवा पुग्ने देखिन्छ ।   

पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने अड्डाको रूपमा परिचित गढी दरबार तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गराएको इतिहाससम्बन्धी पुस्तक र शिलालेखमा उल्लेख भएको पाइन्छ । सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन अङ्ग्रेज फौजलाई परास्त गर्दै नेपालको सार्वभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो । 

राणा शासनको अन्त्यपछि गढी दरबारलाई राष्ट्रिय स्वामित्वमा ल्याइएको थियो । २०२० सालमा जिल्ला सदरमुकाम सिन्धुलीमाढी बनाएपछि दरबार भग्नावशेषमा परिणत हुने क्रम सुरु भयो । २०२० सालअघि सिन्धुलीको सदरमुकाम सिन्धुलीगढीमै थियो । उक्त समयमा नेपाली सेना र प्रहरीले सुरक्षा दिएको कुरा अझै पनि गढी नजिकैको गाउँ चपौलीका वृद्धवृद्धाहरू स्मरण गर्छन् । 

सदरमुकामस्थित ढुङ्ग्रेबासमा रहेको सिन्धुली जिल्लाकै जेठो स्कुल कमला हाइस्कुल पनि उतिबेला गढीमै थियो । जिल्लाको प्रशासनिक भवन, जेलघर यहीँ सञ्चालित थिए । २०५२ सालमा तत्कालीन नेकपा (माओवादी)ले सिन्धुलीगढीमा रहेको प्रहरी चौकीमाथि आक्रमण गरेर सशस्त्र युद्धको सुरु गरेपछि यहाँ प्रहरी सुरक्षा पोस्टसमेत स्थापना हुन सकेको छैन । उतिबेला सिन्धुलीगढीको रेखदेखमा स्थापना भएको ‘सिन्धुलीगढी प्रहरी चौकी’ भने अहिले बिपी राजमार्गको खनियाँखर्कमा रहेको छ । गढीमा नेपालकै पहिलो ‘युद्ध सङ्ग्रहालय’ निर्माण भई केही वर्षदेखि सञ्चालनमा आएको छ । पृथ्वीनारायण शाहको शालिक स्थापना, वनभोज क्षेत्र, घेराबारलगायत काम सकिएका छन् भने नेपाल–अङ्ग्रेज युद्धका क्रममा अङ्ग्रेजहरूको मुत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गरिएको छ । पर्यटन वर्ष सन् २०२० का लागि सरकारले घोषणा गरिएको उत्कृष्ट एक सय पर्यटकीय गन्तव्य स्थलमध्ये एक स्थल पनि हो सिन्धुलीगढी ।

नेपालीको वीरतासँग जोडिएको ऐतिहासिक क्षेत्र सिन्धुलीगढीको मौलिकतालाई यथावत् राख्ने गरी संरचना निर्माण हुनुले यस क्षेत्रलाई आगामी दिनमा विश्वसम्पदा सूचीमा सूचीकृत गर्न टेवा पुग्ने देखिन्छ । गढीको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि नेपालीहरूको ऐतिहासिक महत्वको क्षेत्रको विकास मात्र नभएर स्थानीय सरकारको आर्थिक स्रोतसमेत बढ्ने देखिन्छ । सिन्धुलीगढीको पुनर्निर्माण र जिर्णोद्वारसँगै देशभर रहेका अन्य ऐतिहासिक, धार्मिक तथा पुरात्वातिक सम्पदाको काम अघि बढाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई पनि यसले थप प्रेरणा दिने विश्वास गर्न सकिन्छ । 

पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरेपछि तत्कालीन उपत्यकाका मल्ल राजाहरूले भारतमा शासन गरिरहेको ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग सहयोग मागेका थिए । ब्रिटिस इस्ट इन्डिया कम्पनीले कप्तान किनलकको नेतृत्वमा पठाएको सेनालाई गोर्खालीले सिन्धुलीगढीमा परास्त गरेर धपाएपछि अङ्ग्रेजहरू हायलकायल हुँदै कुलेलाम ठोकेको इतिहासका पानामा भेटिन्छ । अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा परास्त गरेको सम्झनामा सिन्धुलीगढीमा हरेक वर्ष विजयोत्सव पनि मनाइने गरिन्छ । काठमाडौँबाट १५० किलोमिटर पूर्व–दक्षिण दिशामा समुद्री सतहबाट ४,६४८ फिट उचाइमा यो क्षेत्र रहेको छ । 

समृद्ध सिन्धुली अभियानद्वारा सिन्धुलीगढीको प्रवर्धन गर्न काठमाडौँदेखि सिन्धुलीगढी हुँदै सिन्धुलीमाढीसम्म ‘राइड टु सिन्धुलीगढी’ नाममा केही वर्षअघि साइकल यात्रासमेत गरिएको थियो । यसै गरी, अभियानले सिन्धुलीगढी घुम्न जानेहरूलाई बसोबासको व्यवस्था गर्न वरपरका गाउँमा घरबास सञ्चालन गर्न स्थानीय बासिन्दालाई तालिमलगायत सहयोग पनि गर्दै आएको छ । अहिले यहाँ स्वदेशी मात्र नभई विदेशी पर्यटकहरूको समेत घुइँचो लाग्न थालेको छ । बिपी राजमार्ग हुँदै हुइँकिने सयौँ सवारी साधनका अधिकांश यात्रु सिन्धुलीगढी अवलोकन गरेर मात्र फर्किने गरेका छन् । अधिकांशको मुखमा उनै स्वर्गीय गायक कृष्णविक्रम थापाको गीत गुन्जिएको सुनिन्छ, ‘कत्तिमा राम्रो दरबार मा-यो नि मायाले मा-यो...।’