• ९ मंसिर २०८१, आइतबार

छलेर जानुभयो

blog

१४ वैशाख २०८०, बालकोट, सूर्यविनायक श्रद्धेय दाजु कृष्ण जोशी, 

यो पत्र तपाईं समक्ष पु-याउने कुनै हल्कारा यस धर्तीमा जन्मेको छैन भन्ने थाहा पाउँदा पाउँदै पनि यो पत्र म लेख्दै छु । जुन पत्र तपाईंले पढ्न पनि पाउनु हुन्न, कति कुरा यस्ता छन् । जो तपाईं र मबाहेक अरूलाई थाहा छैन । हो, तिनै नितान्त निजी र व्यक्तिगत कुरा म लेख्न गइरहेको छु । यसरी लेख्दा तपाईंसँगै बसेर आफ्नो कुरा सुनाइरहेको र तपाईंले चुपचाप सुनिरहनुभएको जस्तो लाग्छ । दाजु यो पनि म बाँचुन्जेल त हो नि, त्यसपछि त साराका सारा कुरा जसरी तपाईंसँग तपाईंका सपना, चाहना र इच्छा आर्यघाटमा सेलिए, मलाई पनि यो भरोसा नभएको जीवन सम्झेर अझ हतास र हतारोमा छु । भोलि तपाईंले जस्तै मैले धेरैका बारेमा लेख्न पर्ने भ्याउँछु कि भ्याउँदिनँ भन्ने मनमा चटारो छ, औडाहा छ ।

दाजु हिजो प्रद्युम्न जोशी र म तपाईंको घर गएका थियौँ, सरस्वती भाउजूलाई भेट्न । घट्टेकुलो चोकभित्र तपाईंको घर जाने बाटोमा पर्ने ‘सिजी एलेभन बेकरी क्याफे’ छ, जहाँ वेतको कुर्सीमा बसेर तपाईंले हामीलाई पर्खिरहनुभएको हुन्थ्यो आज पनि त्यही झझल्को आइरह्यो । त्योभन्दा अगाडि प्रद्युम्नजीको व्यापार प्रबन्ध केन्द्रमा जागिर हुन्जेल हाम्रो अड्डा प्रद्युम्नजीकै कार्यालयमा जम्थ्यो । जहाँ कहिले कहिले श्याम प्रधान, राधेश्याम लेकाली, जयदेव भट्टराई, ध्रुव मधुकर्मी, ठाकुर बेलबासे पनि थपिन्थे ।  तर पछि हाम्रो चिया अड्डा स¥यो र सिजी एलेभन बेकरी क्याफेमा आइपुग्यो । अनि त्यही क्याफेमा तपाईं, प्रद्युम्न म तीन भाइ प्रायः हप्तादिन जस्तोमा भेट्ने र चिया कफी पिउँदै खाजा खाने अड्डा त्यहीँ थियो । तपाईं जानुभएपछि त्यो क्याफेमा जानु त के बाटो हिँड्ने पनि मन हुँदैन र गएको पनि थिइनँ । हिजो जाँदा त्यही बाटो हिँड्यौँ, त्यहाँ बसेर घण्टौँ दुःखसुखको कुरा गरेका सम्झेर मन भारी भएर आयो । जुन कुरामध्ये कतिपय कुरा खुलस्त भएर लेख्न चाहेर पनि लेख्न सकिँदैन । 

दाजु तपाईंको घर पुग्दा घरमै हुनुहुँदो रहेछ भाउजू । प्रद्युम्नजीले बिहानै हामी आउने जानकारी दिनुभएकाले भेट्न सजिलो भयो । अघिल्लो पटक जाने भन्दा भाउजू दिदीको घर जानु भएको समय परेछ, त्यस पटक त्यस्तै भयो । 

तपाईंको घर पहिले जस्तै साधारण बैठक कुनै परिवर्तन थिएन । जहाँ भुइँमा बिछ्याइएका चकटीहरू... सोफाको रूपमा प्रयोग गरिने लोबेड,  छेउमा एउटा टेबल छ । तर तपाईं हुनहुन्न । टेबलमाथि फ्रेममा सजिनुभएको अहिले नै बोल्ला जस्तो तपाईंको तस्बिर छ, जो राष्ट्रिय पोसाकमा छातीभरि विभिन्न तक्मा विभूषणहरू झुन्डिएका छन् । यो घरको बैठक अवकाश प्राप्त श्री ५ को सरकारमा जागिर खाएर नेपाल सरकारको पालामा निवृत्त भएका उपसचिव स्व. कृष्णप्रसाद जोशीको बैठक थियो । जसका चारभाइ छोरामा एक भाइ सञ्जीव जोशी  बिसौँ वर्ष भयो अमेरिकामै, माहिला छोरा राजिव जोशी घरमै, बुहारी निमा छोराछोरीसमेत अस्ट्रेलियामा, साहिला छोरा नसिब जोशी बुहारी पूजा नातिसँगै घरमा सँगै र कान्छा छोरा असिम जोशी भने परिवारसँग छुटानाम भएर घरै छन् । भनौँ कि तीन भाइ छोरा घरैमा बेकारी छन् भन्ने लेख्दा छोराहरूले दाजु मन दुखाउँछन् होला मसँग । तर नलेखी सकिनँ । किनभने तपाईंसँगको नाता उपसचिव हाकिमको नाता होइन, मैले किशोर अवस्थामा कवि कलाकारको रूपमा भेटेको नाता, मानवीय नाता, साहित्यिक लेखनको नाता जसले हामीलाई आत्मीयतासँगै जोड्यो । मन र भावनासँग जोड्यो र नै लेख्न आँट गरे, नत्र धेरै छन् यस्ता भोजपुरेहरू, जोसँग तपाईं जस्तो सम्बन्ध हुन सकेन ।

दाजु भर्खरै खाना खाएर आएका थियौँ हामी । भाउजूलाई भने खाजा ख्वाउने जोड, हामीले पर्दैन भन्यौँ तर उहाँले मान्नु भएन । साह्रै जिद्दी गर्नुभयो । कहिले फलफूल ल्याएर दिनुहुन्छ अथवा यसो भनौँ उहाँ के दिऊँ कसो गरौँ भन्ने हडबडाउँदै, छिनमा बाहिर, छिनमा भान्सातिर, छिनमा बेडरुमतिर । हामीप्रतिको खातिरदारी दाजु तपाईंले हामी भाइहरूलाई जसरी गर्नु हुन्थ्यो त्यो माया र अपनत्व सर्लक्कै भाउजूमा सरेको सम्झेँ । तपाईं हुँदा पनि त्यस्तै गर्नु हुन्थ्यो हामीलाई । 

दाजु, खाजा खाँदै धेरै कुरा भए तपाईंका, तपाईं जीवित रहनुभएको भए कि त बाडुली लाग्थ्यो तपाईंलाई कित घाँटी खसखसाउने थियो । हामीले मज्जाले तपाईंको कुरा काट्यौँ । त्यसमा केही  गुनासा थिए भाउजूका, केही हाम्रा पनि । केही इच्छा भाउजूका थिए । जो तपाईं हुँदा भन्न सक्नु भएको थिएन, अहिले वारिस भएर म तपाईंलाई लेख्दैछु । हुन त तपाईंका नितान्त घरायसी कुरा लेख्ने हक छ कि छैन मलाई त्यो थाहा छैन । तर आँटै गरेर लेख्दैछु दाजु, मलाई क्षमा गर्नुस् । 

दाजु, भाउजू भन्दै हुनुहुन्थ्यो– “केही वर्ष यता बढी नै पिउन थाल्नुभएको थियो । मैले चाहेर पनि त्यो लत रोक्न सकिनँ । पहिला पहिला एक क्वाटर ल्याएर दुई दिन पु¥याउनु हुने, म पनि प्रत्येक साँझ मासु अन्डा जे सितन छ त्यही बनाएर दिन्थे । पछि क्वाटरबाट हाफमा गयो । हाफबाट अलिक उकालो लाग्न थालेपछि मैले पनि हार खाएर सम्झाउँनै छोडेँ... दिक्क लाग्यो । कोठामा एक्लै बस्नु हुने, धुमधुम्ती बसेर पिउन मन पराउने । मनको कुरो यसो भनेर कहिल्यै नखोल्ने, साह्रै गोप्य मान्छे, तपाईको दाजु । तर अहिले लाग्दैछ... उहाँ सधैँ परिवारको चिन्ता, मेरो चिन्ता, छोराबुहारी, नातिनातिनीहरूका चिन्ता लिनुहुने रहेछ भन्ने लाग्दैछ मलाई ।” 

“अब त हिँड्न पनि गाह्रो लाग्यो । एउटा गाडी किनौँ, ड्राइभर राखौँ भनेँ तर उहाँले त्यस्तो सोख कहिल्यै गर्नुभएन । घर थोत्रो भइसक्यो, रङ खुइलिसके । ठाउँ ठाउँ सिमेन्टी उप्कियो । अलिक मर्मत गरौँ भन्यौँ, मान्दै नमान्नु हुने । एक पटक उहाँ नहुनु भएको बेला घर रङ्ग्याए, आउनासाथ घर रङ्गाएको देख्नु भएर खुसी हुनुभएन । उल्टै मसँग ‘किन वाहियात खर्च गरेको ?’ भनेर रिसाउनु भयो । यस्तो फजुल खर्च गर्नुहुँदैन भनेर टकटकिनु भयो । 

दाजु, भाउजू भन्नुहुन्थ्यो– “उहाँको स्वभाव बिरामी छु भनेर कसैलाई देखाउने नचाहनुहुने तर स्वास्थ्य भने त्यति राम्रो थिएन । अस्पताल जाऊँ भन्यो भने डराउनु हुने, पटक्कै मान्दै नमान्नु हुने । अचम्मैको स्वभाव । एक पटक हर्नियाको व्यथाले निक्कै नै च्यापेपछि बाध्य भएर अस्पताल जान मञ्जुर गर्नुभयो । डाक्टरले भने तुरुन्त अपरेसन गर्नुपर्छ भनेपछि बल्ल बल्ल अपरेसनका लागि तयार हुनुभयो । 

दाजु अपरेसनको दिन भाउजूले छोराहरूसँगै अस्पताल पु¥याउनु हुँदा म, प्रद्युम्न र श्याम प्रधान पनि सँगै गयौँ । अपरेसन गर्नु अगाडि तपाईंले हामीलाई हेर्दै भन्नुभयो– “भाइ प्लिज, तपाईंहरू मेरो अपरेसन सकेर बाहिर नल्याइन्जेल घर नजानु होला है ।” भन्दै मायालाग्दो अनुहार पारेर हात हल्लाउँदै भित्र जानुभएको मेरो आँखासामु अझै झझल्ती छ ।

हामीले भन्यौ– “केही हुँदैन, केही हुँदैन दाइ, डराउनुपर्दैन, सब ठीक हुन्छ ।”

दाजु, अपरेसन गरेर तपाईंलाई बाहिर निकाल्दा तपाईंको राम्रो होस आएको थिएन । हामीले बोलायौँ । तपाईंले यसो दुई आँखा खोलेर हेर्नुभयो र विस्तार हात उठाउनुभयो । तपाईंलाई क्याबिनतिर लगियो । हामी घर पुग्दा रातको झन्डै १ बजिसकेको थियो । 

“बाबु, दाजुको साह्रै ठूलो इच्छा थियो, त्यो चाहिँ पु¥याउन नसकेकोमा पछुतो छ भन्नुहुन्थ्यो । तिमीसँगै भोजपुर जाने साह्रै मन छ, जहाँ म जन्मेँ, हुर्कें, बढेँ र तिम्रो माइतीघर चैनपुर पनि पुग्ने...  जहाँ हाम्रो विवाह भयो । हाम्रा छोरा जन्मिए, हुर्किए । जाऊँ भन्दाभन्दै यही घरपरिवारको व्यवहारले समय काटिहाले छ । खै के भनुँ बाबु चित्तै बुझ्दैन । हामीलाई केही नभनी जानुभयो ।” भाउजूका गला अवरुद्ध भए । बोल्न गाह्रो भयो । प्रद्युम्नजी र मेरो अवस्था पनि त्यस्तै रह्यो । 

दाजु, भाउजूका कुरा सुन्दासुन्दै तपाईंले त्यो क्याफेमा बसेर म र प्रद्युम्नजीसँग बसेर घन्टौँ कुराकानी गर्दा मनभित्रको कुरा अलिकति भन्नु भएको सम्झिएँ– “भाइ मलाई त कहिले कहिले यस्तो लाग्छ, म सुटुक्क कसैलाई थाहै नदिईकन, भोजपुरको तल बग्ने हाम्रो पिखुवा खोलामा गएर झ्वाम्म हाम फालेर आत्महत्या गर्ने मन हुन्छ हौँ भाइ ।” 

अहिले मलाई भाउजूको कुरा सुन्दा तपाईंको भोजपुर जानुको पछाडि कतै आत्महत्या गर्ने मनसाय त थिएन ? नत्र किन केका लागि कसको मायाले भोजपुर जाने ? आफू जन्मेको घर छैन । आफ्नो दाजुभाइ नरनाता जग्गाजमिन पनि केही छैन । साथीभाइहरू पनि छैनन् । दाजु नियति या प्रारब्धले भनौँ तपाईंको जन्म १९९६ साल माघ २० गते भोजपुरमा, मरन भने २०७९ मङ्सिर १२ गते काठमाडौँमा । 

दाजु तपाईंको चोला उठेको दिन म काठमाडौँमा थिइनँ । नयाँ दिल्लीमा आफ्नो स्वास्थ्य परीक्षणका लागि राजिव गान्धी क्यान्सर अस्पताल धाउँदै थिएँ र दुई दिनपछि मात्र काठमाडौँ फर्कदै थिएँ म तर एकाबिहानै  प्रद्युम्नजीले फेसबुकमा राख्नुभएको तपाईंको स्वर्गारोहणको समाचार पढ्दा पत्यारै लागेन । अघिल्लो दिन मात्र हाम्रो लामो कुराकानी भएको थियो मेसेन्जरमा । मैले भनेको थिएँ– “दाजु म पर्सि फर्किंदै छु काठमाडौँ । उत्तै भेट होला ।”

“ठीक छ भाइ । आउनु भएपछि प्रद्युम्न, श्याम तपाईं र म अलिक पर कतै रिसोर्टतिर जाउँला । दिनभरि बसौँ, रात बस्न त मन लाग्छ । तर ट्वाइलेट गइरहनुपर्छ । तपाईंहरूलाई डिस्टर्ब हुन्छ । साँझपख फर्कुलाँ है भाइ ।” 

“हुन्छ नि दाजु,” मैले  भनेँ । 

तर त्यस्ता कार्यव्रmम थुप्रै पटक भएका थिए हामीबिच तर समयको चाँजोपाजो मिलिरहेको थिएन । म पर्सि आउँछु त भनेको त थिएँ । त्यति पनि पर्खने समय भएन छ दाजु तपाईंलाई । तेह्रौँ दिनको पुण्य तिथिको दिन पनि म काठमाडौँ भएर पनि आउन सकिनँ, आफ्नो स्वास्थ्यका  कारणले । म साह्रै दुःखी छु दाजु । 

दाजु, तपाईंलाई मैले चिनेको ६५ वर्षभन्दा धेरै भएछ । त्यतिबेला तपाईं लोर्के तन्देरी हुनुहुन्थ्यो । म छिनामखु गाउँबाट विद्योदय हाई स्कुलमा कक्षा ६ मा पढ्न आएको किशोर केटो, मेरो बसाइको डेरा थियो । तपाईंकै छिमेकी डम्बर तामाङ दाइको घर । उहाँकै दुई जना भाइ गणेश योञ्जन र कुशलसँगै स्कुल जान्थ्यौँ । तपाईंको घर अगाडि फराकिलो ठाउँ... जहाँ टक्सारबाट जात्राको समयमा विरकुश नाटक पाल टाँगेर मैन्टोलको उज्यालोमा हप्तौँ दिन देखाएको र त्यहाँका दृश्यहरू अझै मेरा आँखामा झलझल्ती छन् । यसैताका सायद ‘ऊ मरेकी छैन’ भन्ने नाटक आफ्नै लेखन, निर्देशन र अभिनेत्रीको भूमिका पनि आफैँ निभाउनु भएको मलाई अझै सम्झना छ । जुन नाटक अहिलेको गेस्ट हाउस पहिलाको धनसारमा पाल टाँगेर बनाइएको हलमा मञ्चन गरिएको थियो । एउटा प्रेममा असफल भएकी युवती टेबुलमा बसेर रुँदै आत्महत्या गर्न अगाडि पत्र लेखरका दृश्य देखेर दर्शकहरू भावविभोर भएका थिए । त्यो समयमा केटाले नै महिला पात्रको भूमिका निर्वाह गर्नुपर्ने, धेरैले तपाईंको अभिनय देखेर कसको छोरीले यो अभिनय गर्ने भनेर हलभरि चर्चा चलेको मलाई स्मरण छ । 

दाजु, जतिबेला तपाईंहरू स्कुल पढ्नुहुन्थ्यो, तपाईंका मिल्ने साथी थिए– बलबहादुर सुन्दास र परशु प्रधान । जब तपाईंहरू तीन जना बजारमा ओहोरदोहोर गर्नुहुन्थ्यो रे तब बजारका केही युवतीका मातापिता सशङ्कित हुन्थ्ये । त्यस विगतलाई मैले एक दिन बलबहादुर सुन्दास दाइसँग कोट्याएँ । उहाँले भन्नु हुन्थ्यो– “भाइ, बडो रमाइलो समय थियो । परशु र कृष्णले मन पराएका केही मनचरीहरू थिए बजारमा । जसलाई एक झलक देख्दा खुसीका कविता र नदेख्दा भने पीडाका र विछोडका कविता लेख्थे । ती कविताको सिर्जनास्थल थियो । माथि सिद्धकाली डाँडा, जहाँ हामी जान्थ्यौ । त्यहीँ दुई भाइ कविता लेख्थेँ र दुवैको स्रोता थिएँ म ।” 

दाजु, त्यसपछि धेरै समय हाम्रो भेट भएन, तपाईंले के गर्नुभयो ? कसो गर्नुभयो ? के गर्दै हुनुहुन्थ्यो ? कहाँ पुग्नुभयो ? मैले थाहा पाउन सकिनँ । २०२८ सालमा जब म भोजपुर गएको थिएँ । मेरो पिताजी भरखरै स्वर्ग हुनुभएको थियो । तपाईंकै घर अगाडिको बाटो भएर जानु पथ्र्यो गाउँ । तपाईं आमाको शोक बार्न घरै आउनुभएको खबर सुनेँ, भेट्न मन लाग्यो । घर पुग्दा तपाईं कोरामा बस्नुभएको थियो । धेरै कुरा भए । यसै प्रसङ्गमा दाजु, तपाईंले भन्नुभएको अझै सम्झिरहेको छु । “भाइ, तपाईंको ‘धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै हुन्छ’ भन्ने गीत तपाईंको सिर्जनाको मास्टर पिस गीत हो भन्ने लाग्छ मलाई ।” मैले पनि कुरा थपिहालेँ । “दाजु, बच्चु कैलाश दाइले पनि यसै भन्नुभएको थियो ।”

दाजु, लामो अन्तरालपछि ४०÷४१ सालतिरको कुरा हो, जतिबेला म सांस्कृतिक संस्थानको महाप्रबन्धक थिएँ । हाम्रो भेट सिफलको मेरै घरमा भयो । यो जुराउने संयोग थियो २००७ सालका पूर्वी पहाडमा एकतन्त्रीय राणा शासनको विरुद्धमा भएको व्रmान्तिका नायक स्व. नारदमुनि थुलुङको नाममा ‘नारदमुनि थुलुङ स्मृति परिषद्’ गठन भएको दिन । स्वयं नारदमुनि थुलुङले खोलेर उहाँले नै पढाउनुभएको विद्यालयको विद्यार्थी तपाईं, त्यस नाताले संस्थाको उपाध्यक्ष । अध्यक्षमा पूर्वसिडिओ प्रेमकुमार वान्तवा, कोषाध्यक्षमा सुधा जोशी र सदस्यहरूमा कमला भट्टराई, ध्रुवदेव राई, बलबहादुर सुन्दास र म पनि रहेको मलाई सम्झना छ । सो संस्थामा दुई अवधि काम गरेर तपाईंले छोड्नुभयो । 

दाजु त्यसपछि फेरि तपाईंसँग मेरो भेट भएन । एकै चोटि २०४५ सालमा जोमसोम (मुस्ताङ) मा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘राष्ट्रव्यापी लोकनृत्य तथा दोहोरी गीत प्रतियोगिता’ मा भेट भएको थियो । त्यतिबेला तपाईं जिल्लाको स्थानीय विकास अधिकृत र सभापति थिए विष्णु हिराचन । यो प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मा जिल्ला विकास समितिको थियो । म भने राष्ट्रिय खेलकुद सांस्कृतिक परिषद्को अध्यक्षको हैसियतले पहिलो पटक जोमसोम पुगेको थिएँ । 

दाजु, तपाईंलाई जोमसोममा देख्दा त म पहिला त अचम्ममा परेँ । दाजु भाइको भेटमा धेरै लामालामा कुरा भए । त्यही बेला मैले कुरैकुरामा भोजपुरका तपाईंहरूका मनचरीका प्रसङ्ग कोट्याउँदा तपाईं मज्जाले हाँस्नुहुँदै भन्नुभयो– ‘ककसले तपाईंलाई यस्तो वाहियात कुरा सुनाउँछ हौ भाइ, अचम्म लाग्छ ।”

तपाईं त्यो समय नरिसाउनु भएको देख्दा ‘दालमा कुछ काला हे’ भन्ने पुष्टाइँ चाहिँ मलाई भएकै हो । अथवा जे भनौँ त्यो रहस्यमय कुरा रहस्यमै रहनु राम्रो पनि देखिन्छ... सुन्दर पनि देखिन्छ । त्यसलाई उदाङ्गो पार्दा कुरूप देखिन्छन्, अनैतिक हुन्छन्, गैरजिम्मेदारी पनि हुन्छन् दाजु क्षमा गर्नु होला । यसरी तपाईंको चरित्रमा मैले औँला ठडाएको चाहिँ पटक्कै हैन किनभने त्यस्तो उमेर भनेकै सबैको त्यस्तो हुन्छ, कि मैले पनि त्यस्ता धेरै एकतर्फी प्रेम गरेको थिएँ भन्दा मलाई कुनै शङ्कोच लाग्दैन ।

दाजु, २०४६ सालको जनआन्दोलनपछि पञ्चायतकालीन धेरै जना जागिरबाट निवृत्त भए । तपाईंको पनि अवकास भएको खबर सुनेँ । फाटफुट कार्यव्रmममा भेट्नेबाहेक त्यस्तो लामो कुराकानी हुन पाएन । तर तपाईं र मलाई जोड्ने काम भने वासुशशी  स्मृति परिषद्ले ग¥यो । सचिव प्रद्युम्न जोशी र एकजना सदस्यको रूपमा म पनि जोडिन पुगेँ । हिरण्यकुमारी पाठक, श्याम प्रधान, ध्रुव मधुकर्मी, जयदेव भट्टराई, यावद भट्टराईलगायत केही नयाँहरूसित परिचय हुन पुग्यो । केही पुरानासँग नवीकरण हुन गयो । यसरी सबैलाई जोड्ने कामको जस परिषद्को नाममा प्रद्युम्न जोशीलाई दिनैपर्छ । अहिले परिषद्को अध्यक्ष म छु र सल्लाहकार हुनुहुन्थ्यो तपाईं । 

दाजु, यस पटक चैत १३ गते २०७९ वासुशशीको स्मृति दिवशको कार्यव्रmममा तपाईंलाई हामी सबैले सम्झिरह्यौँ... संजोग त्यस्तै प¥यो । परिषद्ले भोजपुरकै हिरण्य भोजपुरेलाई सम्मान, कवि श्यामललाई पुरस्कार र यसपटक पहिलो चोटि डा. गोपीकृष्ण खतिवडालाई वासुशशी कृति शोध सम्मान पनि ग¥यौँ । त्यहीँ कार्यव्रmममा तपाईंका अमेरिकामा बस्ने जेठा छोरा सञ्जीव जोशी र दाजुका छोरा कवि सुन्दर जोशीले आगामी वर्षदेखि ‘कृष्ण सरस्वती जोशी स्रष्टा सम्मान’ प्रदान गर्नका लागि रु. पाँच लाखको अक्षयकोष खडा गरी सञ्चालन गर्ने जिम्मा यस वासुशशी परिषद्ले पाएको छौँ । दाजु, एउटा कुरा भन्छु, मान्छेका जीवनमा तीन वटा अभिन्न मित्रहरू हुन्छन् भन्छन्, पहिलो मित्र भनेको आफूले कमाएको धन सम्पत्ति हो, जो आफूलाई बाँचुञ्जेल साथ दिन्छन् । दोस्रो मित्र भनेको घरपरिवार इष्टमित्रहरू जसले आफूलाई घाटसम्म पु¥याउँछन् । दाह संस्कार गर्छन् र विभिन्न कर्महरू पूरा गर्छन् । तेस्रो मित्रले मात्र तपाईंको मृत्युपर्यन्त पनि साथ दिन्छन् ती भनेका तपाईंको कथा, कविता, उपन्यास, गीतका दस साहित्यिक कृति र योगदानहरू, हुन त तपाईं जीवित छँदै एक अक्षयकोष खडा गरिदिनुभएको थियो । जसको व्याजबाट बर्सेनि भोजपुरका युवा प्रतिभालाई सम्मान र पुरस्कृत गर्ने गरिएको छ ।  जसको सञ्चालन व्यवस्थापन हरिमञ्जुश्रीद्वारा सञ्चालित शब्द यात्रा प्रकाशनलाई जिम्मा दिने आफ्नो इच्छा पूरा गर्नुभयोे ।

दाजु, तपाईंलाई मर्छु भन्ने पटक्कै थिएन । माथि नै भनिहालेँ ।  बाहिर रोग देखिने पनि थिएन तपाईंको । हट्टाकट्टै मान्छे, खानपिन पनि दह्रो, कुनै तन्देरी ठिटाभन्दा कम थिएन तर भित्रभित्रै मक्किसकेको रहेछ तपाईंको ज्यान । एउटा ठुलो पीपलको सद्दे रुखजस्तो । भनौँ हुरी चलेको थिएन, बतास चलेको थिएन, एक्कासि ढलेसर ी गल्र्याम्म ढल्नुभयो । आफ्नो केही कुरा भन्न पाउनुभएन । घरमा भाउजूसँग सरसल्लाह पनि हुन पाएनछ । हामीले पनि केही कुरा पनि सोध्नै पाएनौँ । यति चाँडै जानुहुन्छ भन्ने सोचेका पनि थिएनौँ । 

भाउजू भन्नुहुन्थ्यो, “एका बिहानै साह्रै नै डाढ दुख्यो, मलाई त सहनै गाह्रो भयो, के गर्ने होला ?” भाउजूले “अब अस्पताल जाने” भनेर बिहान ७ बजेतिर नजिकैको मोडल अस्पतालमा भाउजूले पु¥याउनुभएछ । दिउँसो विभिन्न उपचार गर्दागर्दै राति १२ बजेतिर त तपाईं त सुटुक्कै थाहै नदिन जानुभएछ ।

दाजु अब त तपाईं मात्र हाम्रो सम्झनामा रहनु भयो, मायामा रहनु भयो, हाम्रो श्रद्धामा रहनुभयो । बस् यति भन्दा के लेख्न सक्छु र दाजु र लेख्ने कुरा त धेरै छन्, पछि लेख्दै गरौँला, बस् मायाका यिनै शब्दहरू अर्पण गर्दै आजलाई यत्ति नै । 

तपाईंलाई सम्झिरहने भाइ– गणेश रसिक