• १७ असार २०८१, सोमबार

दाङमा बढ्दै लागुऔषध दुर्व्यसनीका घटना

blog

लीलाधर वली 

घोराही, असार १२ गते । दाङमा लागुऔषध दुर्व्यसनीका घटना बर्सेनि बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङको बितेका तीन वर्षको तथ्याङ्कले जिल्लामा लागुऔषधका घटना बर्सेनि बढेको देखाउँछ । 

दाङमा प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनाको अवधिमा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जनालाई पक्राउ गरेको छ ।  गत वर्षको साउन महिनादेखि जेठ महिनासम्म दर्ता भएका विभिन्न प्रकृतिका ५६ वटा लागुऔषधसम्बन्धी मुद्दामा ११३ जना लागुऔषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ परेका हुन् । जसमा २३४ ग्राम ६७२ मिलीग्राम ब्राउनसुगर (खैरो हिरोइन) सहित सबैभन्दा धेरै ९४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरीक्षक गौतमका अनुसार १० किलो दुई सय ग्राम चरेससहित पाँच जना, १३ किलो ३७५ ग्राम गाँजासहित पाँच जना र ३८४  ट्याब्लेटसहित नौ जनालाई पक्राउ गरेको छ । 

आर्थिक वर्ष २०७८/७९ मा लागुऔषधसम्बन्धी ५९ मुद्दामा ११६ जना पक्राउ परेका थिए । जसमा ३९१ ग्राम ४१८ मिलीग्राम ब्राउनसुगर (खैरो हिरोइन) सहित ९३ जना, १७ किलो ५१ ग्राम चरेससहित चार जना, आठ ग्राम ७६० मिलीग्राम अफिमसहित चार जना, सात किलो ३८५ ग्राम गाजासहित छ जना र १०१६ ट्याब्लेटसहित नौ जना गरेर गत आर्थिक वर्ष ११६ जना लागुऔषध कारोबारी तथा प्रयोगकर्ताहरू पक्राउ परेको जिल्ला प्रहरीक कार्यालय दाङले जनाएको छ । 

प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका विभिन्न ठाउँबाट ३९ वटा मुद्दामा ७६ जना लागुऔषध प्रयोगकर्ता एवं कारोबारीलाई पक्राउ गरेको थियो ।