• १२ मंसिर २०८१, बुधबार

किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले महत्त्व दिनुपर्छ : विज्ञ

blog

‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरु ।

काठमाडौं, असार ११ गते । किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले महत्त्व दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थकेयर पत्रकार समाजसँगको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको ‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा विज्ञहरूले मानसिक स्वास्थ्यका विषयमा अझै पनि सञ्चारमाध्यमको ध्यान नपुगेको औँल्याएका हुन् ।

कान्ति बाल अस्पतालका वरिष्ठ मनोचिकित्सक डा.उत्कर्ष कार्कीले नेपालमा ठुलो सङ्ख्यामा किशोरकिशोरीहरुले मानसिक समस्याको सामना गरिरहेको भए पनि सञ्चारमाध्यम त्यो समस्या प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । मानसिक समस्या उपचारपछि निको हुन्छ भन्ने सूचना सम्प्रेषण गर्नमा सञ्चारमाध्यले कन्जुस्याइँ गर्न नहुनेमा डा. कार्कीले जोड दिनुभयो ।

वरिष्ठ जनस्वास्थ्य विद् डा.अरुणा उप्रेतीले मानसिक समस्या गरिबीका कारण मात्र हुन्छ भन्ने भ्रम समाजमा व्याप्त रहेकाले यो समस्या सबै वर्ग, उमेर समूह र जातजातिलाई हुन सक्छ भन्ने सन्देश सञ्चारमाध्यमले सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । मानसिक स्वास्थ्यको विषयलाई जनचेतना अभियानकै रूपमा अगाडि बढाउनु पर्नेमा डा. उप्रेतीले जोड थियो ।

कार्यक्रममा किशोरावस्थाको मानसिक स्वास्थ्य र सञ्चारमाध्यमको भूमिका विषयक प्रस्तुतीकरण गर्दै हेल्थकेयर पत्रकार समाजका महासचिव पदमराज जोशीले मानसिक स्वास्थ्यका मुद्दालाई सञ्चारमाध्यमले प्राथमिकता दिँदै आइरहेको जिकिर गर्नुभयो । साथै उहाँले किशोरावस्थाको स्वास्थ्यलाई छुट्टै रूपमा हेर्नु पर्ने आवश्यकता रहेको महसुस भएको बताउनुभयो ।

विगत तीन वर्षमा सञ्चारमाध्यमले कोभिडलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दा किशोरावस्थाको मानसिक समस्याका मुद्दा ओझेलमा परेको हुन सक्ने बताउनुहुँदै उहाँले भविष्यमा यी मुद्दा सञ्चारमाध्यमको प्राथमिकतामा पर्ने बताउनुभयो ।