• १३ मंसिर २०८१, बिहिबार

गाउँ गाउँमा फैलियो योग अभियान

blog

राधाकृष्ण डुम्रे 

वालिङ, असार ११ गते  । पछिल्लो समय योग सिक्ने र यसको साधना गर्नेको सङ्ख्या बढेको छ। पतञ्जली योगपीठ वालिङबाट सुरु भएको योग अभियान अहिले जिल्लाभर फैलिएको छ। वालिङमा पतञ्जली योगपीठको आफ्नै सुविधा सम्पन्न भवन र योग गर्ने ठाउँ रहेको छ। 

जहाँ नियमित ठुलो सङ्ख्यामा योग गर्नेको सहभागिता रहन्छ। प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने योग साधनामा वालिङवासीको सक्रिय सहभागिता रहने गर्छ। आचार्य बालकृष्णको गृह जिल्ला भएर पनि यहाँको योगको प्रभाव राम्रो देखिन्छ। तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादव र बाबा रामदेवले २०६८ सालमा उद्घाटन गरेको योग साधना कार्यक्रमको अहिले पनि उत्तिकै प्रभाव देखिन्छ। समितिका अध्यक्ष नारायणप्रसाद तिवारी पतञ्जली योग समिति स्याङ्जाको सक्रयतामा वालिङका विभिन्न वडामा नियमित योग साधना सञ्चालन हुने गरेको बताउनुहुन्छ । 

पतञ्जली योगपीठ र यसमा योग सिकाउने बाबा रामदेवका कारण पनि योगप्रतिको आकर्षण बढ्दो छ। पहिले पहिले योग साधुसन्तले मात्रै गर्ने भन्ने हुन्थ्यो। अहिले योग जो कोहीले गर्न सक्छन् भन्ने जनचेतना सबै मानिसमा आइसकेको छ। योगबाट राम्रो शारीरिक व्यायाम हुने र शारीरिक तथा मानसिक रूपमा सक्रियता बढ्ने भएकाले यसप्रति आकर्षण बढेको तिवारीको भनाइ छ। 

काममा कुशल बन्न, मनमा आउने नराम्रा भावनालाई हटाई मानसिक सन्तुलन कायम गर्न योगले सहयोग पुग्ने योग प्रशिक्षकको भनाइ छ। योगले गाउँ समाजका अन्य कामका कुरामा पनि तालमेल बढ्दै गएको अध्यक्ष तिवारीको भनाइ छ। उहाँ आफैँ पनि योग प्रशिक्षक हुनुहुन्छ। 

योग गुरु तथा योगपीठका सचिव गिरमान गुरुङका अनुसार शारीरिक र मानसिक विकासका लागि योग गरिन्छ। उहाँ भन्नुहुन्छ, “स्वस्फूर्त रूपमा योग गर्न आउनेको सङ्ख्या ठुलो छ कहिलेकाहीँ त ठाउँको पनि अभाव हुने गर्छ।” पतञ्जली योगपीठ महिला समितिका संयोजक कविता भुसालले योगप्रति पछिल्लो समयमा नयाँ पुस्ताको आकर्षण बढेको बताउनुभयो।