• १४ मंसिर २०८१, शुक्रबार

खोलेसिमल–शक्तिखोर सडक कालोपत्रे हुँदै

blog

चितवन समाचारदाता

चितवन, असार ११ गते ।  चितवनको कालिका नगरपालिकाले शक्तिखोर फिस्लिङ जोड्ने सडकसम्म पुग्ने सडक फराकिलो बनाउने कार्यलाई तीव्रता दिएको छ। 

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङ, उपरदाङगढी हुँदै शक्तिखोर खोलेसिमल भएर टाँडी निस्कने सडक निर्माण भइसकेको छ। कालिका नगरपालिका अन्तर्गत पर्ने खोलेसिमलदेखि शक्तिखोरसम्मको १३ किलोमिटर सडक विस्तार गर्दै कालोपत्रे गर्ने काम अगाडि बढाइएको छ। 

यो सडकलाई नगरपालिकाले गौरवको आयोजनाका रूपमा लिएको छ। नालासहित ११ मिटर रहेको यो सडकलाई दुवैतर्फ डेढ/डेढ मिटर थपेर १४ मिटर फराकिलो बनाइँदै छ। शक्तिखोरदेखि फिस्लिङसम्मको बाटो निर्माण भएर कालोपत्रे भइसकेको छ। 

कालिका नगरपालिकाभित्रको मुख्य सडककारूपमा रहेको यो मार्ग कालोपत्रे गर्ने कार्य भइरहेको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो। यो सडकमा यात्रुलाई पैदल यात्रा गर्न सहज होस् भनेर मोजाइक टायल प्रयोग गरी फुटपाथ बनाउने काम भइरहेको छ। फुटपाथ तयार भएपछि पैदल यात्रुलाई सजिलो हुने प्रमुख रेग्मीले बताउनुभयो। 

नगरपालिकाका अनुसार चालु आवमा तीन किलोमिटर खण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आगामी आवमा थप सडक बनाउने गरी योजना बनिसकेको छ। यो सडकमा यसअघि पनि कालोपत्रे भएको थियो तर चौडाइ कम भएकाले अहिले फराकिलोसहित फुटपाथ निर्माण गर्ने कार्य भइरहेको हो। 

बागमती प्रदेश सरकारको डेढ करोड र नगरपालिकाको डेढ करोड रुपियाँ लागत साझेदारीमा निर्माणाधीन सडकका दुवैतर्फ सडक बत्तीसमेत राखिने छ। “क्लब चोक र सगुन चोक दुई ठाउँमा ‘हाइमास्ट लाइट’ राख्ने काम पनि अगाडि बढेको छ। कालिका नगरपालिकाका मुख्य बजार क्षेत्र जोड्ने सडक भएकाले यसलाई उच्च प्राथमिकतामा राखेका छौँ। सगुन चोकका जनता त खुसी भएर सडकलाई २० मिटर बनाउन तयार हुनुभएको छ,” नगर प्रमुख रेग्मीले भन्नुभयो। 

शक्तिखोरबाट धादिङको फिस्लिङ जोड्ने वैकल्पिक सडकको ४५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। यसैबिच कालिका नगरपालिकामा चालु आवमा १४ किलोमिटर बाटो कालोपत्रे भएको छ। पहाडी क्षेत्रमा पाँच सय मिटर बाटो ढलान भएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

सङ्घीय बजेट र प्रदेशसँग सहकार्य गरेर नगर क्षेत्रको बाटो कालोपत्रे गर्ने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख रेग्मीको भनाइ छ। यो एक वर्षको अवधिमा कालोपत्रेसँगै ग्राभेल बाटो, पहाडी क्षेत्रमा नयाँ ट्र्याक खोल्ने कामसमेत भएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो।