• १० मंसिर २०८१, सोमबार

गलैँचा उद्योगको संरक्षण

blog

नेपालको प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहँदै आएको गलैँचा उद्योगलाई प्रवर्धन गर्न दिइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकरमा छुट सुविधा आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत एकै पटक खारेज भएको छ । कुल १२ अर्ब रुपियाँभन्दा बढी लगानी रहेको गलैँचा उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष करिब दुई लाख स्वदेशी श्रमिकले रोजगारी पाइरहेका छन् । यसै गरी ७० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि हुँदै आएको यो क्षेत्रले आव २०७८/७९ मा मात्रै १० अर्ब ६२ करोड रुपियाँ बराबरको गलैँचा निर्यात गरी वैदेशिक मुद्रा भित्र्याएको थियो । यो निर्यात अघिल्लो आर्थिक वर्षको भन्दा ३३ प्रतिशत बढी हो । कुनै समय वार्षिक साढे ३४ अर्बको गलैँचा निर्यात ओरालो लाग्दै वार्षिक पाँचरछ अर्बमा पुग्यो । नीतिगत सुधारका कारण पुनः उकालो यात्रा सहज हुँदै गएको अवस्थामा यी दुई सुविधा एकै पटक कटौती गरिँदा उद्योग नै सङ्कटमा पर्ने चिन्ताले व्यवसायी छट्पटिएका छन् । रोजगारीमा दुबिधा उत्पन्न भएको छ ।

विगत पनि हेर्नुपर्ने हुन्छ । २०५४ सालमा मूल्य अभिवृद्धि कर लागु भएदेखि गलैँचा उद्योगले ‘भ्याट’ छुट प्राप्त गर्दै आएको थियो । आगामी आवको बजेटमार्फत मूल्य अभिवृद्धि कर ऐन २०५२ संशोधन गर्दै सरकारले यो उद्योगलाई उक्त सूचीबाट हटाएको छ । योसँगै बजेट घोषणाकै दिनदेखि १३ प्रतिशत कर कार्यान्वयन सुरु भइसकेको नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घको गुनासो छ । ५० लाखभन्दा कम कारोबार हुने उत्पादनमूलक उद्योगको हकमा सरकारले भ्याटमा दर्ता अनिवार्य गरेको छैन । भ्याटमा दर्ता नहुने कम्पनीले कच्चा पदार्थ खरिदमा तिरेको भ्याट फिर्ता पाउँदैन । धेरै गलैँचा उद्योग यस्ता छन् । भ्याट फिर्ता नपाउने अनि कच्चा पदार्थको मूल्य पनि नघट्ने अवस्थामा उनीहरूको लागत १३ प्रतिशतले बढ्न सक्ने छ र प्रतिकूल असर पर्ने छ । 

तीन दशकअघि विकसित मुलुकहरूमा नेपाली गलैँचा ख्यातिप्राप्त थियो । आव २०४६/४७ देखि अमेरिकी तथा युरोपेली मुलुकदेखि जापानसम्म यसको माग बढ्दै गयो । २०५०/५१ तिर नेपाली गलैँचामा विषादीयुक्त रङ मिसाएको र बालश्रम प्रयोग भएको भन्ने गैरसरकारी संस्था तथा बाह्य षड्यन्त्रमूलक प्रचारधन्दाका कारण यसबारे अन्तर्राष्ट्रियस्तरमा नराम्रो सन्देश गयो, निर्यात ह्वात्तै ओरालो लाग्यो । राजनीतिक अस्थिरता, मजदुर समस्यालगायत कारण पनि २०६१ सालपछि उत्पादन घट्यो । बालश्रम निषेध अनि कर छुट सुविधालगायतका नीतिगत सुधार गरिएपछि भने विस्तारै यो उद्योग बौरिन थालेको हो । 

अझै पनि विश्व बजारमा नेपाली गलैँचाको माग उच्च छ । अमेरिका र युरोपका बजारमा नेपाली गलैँचाको साख कायम भएकैले निर्यात सङ्केत रेखा उकालो सोझिँदै गएको हो । तर कच्चा पदार्थको लागत तथा ढुवानी र श्रमिकको ज्यालादर आदिका कारण नेपाली गलैँचा भारत तथा पाकिस्तानको भन्दा करिब ३० प्रतिशत महँगो लागतमा उत्पादन भइरहेको व्यवसायीहरूको भनाइ छ । भूपरिवेष्टित र अति कम विकसित राष्ट्रका नाममा नेपाली गलैँचाले कर छुट प्राप्त गरेकाले मात्रै विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिरहेको छ । यस्तो अवस्थामा भ्याट र आयकर छुट खारेजीले उत्पादन अझ महँगो हुने र प्रतिस्पर्धामा ठुलो असर पर्न सक्ने तर्क मननीय छ । उत्पादन बढी महँगो भए साख हेरेर मात्र खरिद गर्नेहरूकै भरमा यो निर्यातजन्य उद्योग थेगिन कठिन हुने छ । 

व्यवसायीहरूले बैङ्कबाट १० प्रतिशत ब्याजदरमा लिएको कर्जा १६ प्रतिशतसम्म पुग्छ, उद्योग पूर्ण क्षमतामा चल्न सक्दैन । निर्यातयोग्य गलैँचाको एउटै ब्रान्ड स्थापित गर्न सकिएको छैन । कच्चा पदार्थको मूल्यवृद्धि, आपूर्ति, ढुवानी आदिका समस्या छन् तर अर्कोतिर साना तथा घरेलु अनि मझौला उद्योगका रूपमा यसले स्वदेशी सिप र श्रमलाई पुँजीमा बदलेको छ । लाखौँ बेरोजगार नेपाली युवामा सिप विकाससहित गलैँचा उद्योगहरूको विस्तार, प्रवर्धन गरिए ऊन उत्पादनदेखि निर्यात प्रक्रियासम्म ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने छ । यसलाई मौलिक हस्तकलाको उदाहरणका रूपमा प्रवर्धन गर्दा मेसिनबुना गलैँचाभन्दा घरेलु तानबुना गलैँचा नै  अन्तर्राष्ट्रिय उपभोक्ताको खास रोजाइमा पर्ने छ । समस्या समन गर्दै साख र सम्भावनाको लाभ लिन यसको औद्योगिक विकासका लागि सरकारको नीति व्यवसायीमैत्री र स्थिर हुनु पर्छ । भ्याट र आयकरबाट राज्यकोषमा थपिने रकमभन्दा निर्यात वृद्धिबाट बढी लाभ लिन सकिन्छ भने किन वैदेशिक मुद्राको मुहान थुन्ने ? नेपालको प्रतिष्ठा तथा पहिचानसँग घनिष्ठ गलैँचा उद्योग सङ्कटमा पारिनु अर्थतन्त्रका लागि स्वस्थकर हुने छैन ।