रमेश विश्वकर्मा
गुल्मी, असार १० गते । गुल्मीमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका –२ च्यानडाँडा निवासी ४१ बर्षीय लिलबहादुर घर्ती र उहाँकी ८ बर्षीया छोरी बिन्दु घर्तीको गए राति खहरे खोलाले बगाउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार ससुराली झर्केनीटोल जानेक्रममा बाबुछोरीलाई चिप्लेपहराको खोल्सामा आएको बाढीले बगाएको थियो ।
बाबु लिलबहादुर ८० मिटर तल खोल्सामा आइतबार बिहान १० बजे मृतअवस्थामा फेला परेका थिए । छोरी बिन्दु दिउँसो साढे ३ बजे १५० मिटर दक्षिणपट्टी रहेको दर्लिङ स्वास्थ्य चौकी नजिकै माथिबाट आएको भल डोजरले हटाउने क्रममा मृत अवस्थामा फेला परेकी थिइन् ।