• २० वैशाख २०८१, बिहिबार

इलामका सबै पालिकामा बजेट : पर्यटनमा विशेष जोड

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असार १० गते । इलाम जिल्लाका १० वटै स्थानीय पालिकाले आइतबार आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट सार्वजनिक गरेका छन् । जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाले आर्थिक बर्ष २०८०-०८१ का लागि बजेट सार्वजनिक गरेका हुन । 

पालिकाले सार्वजनिक गरेको बजेटमा सामाजिक विकास, कृषि, पशुपालन र पर्यटनमा विशेष जोड दिएको पाइएको छ । 

इलामको देउमाई नगरपालिकाले कुल ७२ करोड ११ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख पविमाया राईले प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक विकास सबैभन्दा बढी रकम ३९ करोड १४ लाख रुपियाँ बिनियोजन गरेको छ ।

यस्तै, इलामको सूर्योदय नगरपालिकाले १ अर्व २६ करोडको बजेट पारित गरेको छ । नगरको १३ औं नगरसभामा उप प्रमुख दुर्गाकुमार बरालले पेश गर्नुभएको नीति कार्यक्रम र बजेट सभाले पास गरेको हो । नगरले कृषि पशुपालन, शिक्षा, पर्यटन र स्वास्थ्यमा जोड दिएको छ । नगरले नमुना पर्यटकीय भिलेज निर्माण गर्ने भएको छ । 

इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ४५ करोड ५६ लाख २५ हजार ७ सय रुपियाँको बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले १३ अधिवेशनमा पेश गर्नुभएको बजेट सभाबाट  पारित भएको हो ।

यस्तै, माईजोगमाई गाउँपालिकाले ४७ करोड ७५ लाख ६१ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । माईजोगमाईको १४ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रविना राईले प्रस्तुत गर्नु भएको बजेट गाउँसभाले पारित गरेको हो । माईजोगमाईले सबैभन्दा बढी सामाजिक बिकास तर्फ १९ करोड २२ लाख रुपियाँ बिनियोजन गरेको छ । 

रोङ गाउँपालिकाले ४९ करोड ६० लाख ८७ हजार बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभा गाउपालिका उपाध्यक्ष विष्णुमाया खवासले प्रस्तुत गर्नुभएको बजेट सभाले पारित गरेको हो । पारित गरेको बजेटमा सामाजिक विकासमा सबैभन्दा बढी ३ करोड १४ लाख ७८ हजार ३ सय १२ रुपियाँ विनियोजन गरेको छ । 

यस्तै, इलामको इलाम नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, सन्दकपुर गाउँपालिका र फाकफोकथुम गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेका छन् । यी पालिकाले पनि सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन र भौतिक पूर्वाधारमा विशेष जोड दिएका छन् । 

इलामको सूर्योदय बाहेकका अन्य पालिकाले बिपत व्यवस्थापनामा खासै बजेट विनियोजन गरेका छैनन् ।