गोरखापत्र अनलाइन
काठमाडौं, असार १० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्ने बताउनुभएको छ । केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’ को आइतबार यहाँ लोकर्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा विभजन भयो भनेर मात्र बस्नु हुँदैन, किन र कसरी भयो भन्ने कारणसहितको विशेषण आवश्यक रहेको उहाँको भनाइ छ । विभाजनका कारणहरुको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने अध्यक्ष ओलीले बताउनुभयो ।
यत्रो ठूलो पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट विभाजित भयो ? भन्ने यथार्थ कुरा नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । “नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परचालित ? त्यसको सही विश्लेषणसहितको कुरा बाहिर आउनुपर्छ” अध्यक्ष ओलीले भन्नुभयो, “अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसको कारणहरु के थिए ? किन विभाजन भयो ? सबै आउनुपर्छ ।”
अध्यक्ष ओलीले नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषणसहितको दस्तावेज आए भावी पुस्तालाई पनि सहयोग पुग्ने उहाँले चर्चा गर्नुभयो ।