• २० असोज २०८१, आइतबार

इनरुवा नगरपालिकाको बजेट ७५ करोड ७ लाख ६४ हजार

blog

जयकृष्ण यादव 

इनरुवा, असार १० गते । इनरुवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ७५ करोड ७ लाख ६४ हजार रुपियाँको बजेट विनियोजन गरेको छ । आइतबार इनरुवा नगरपालिकाको सभाहलमा एघारौं नगर सभामा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक विनिताकुमारी मेहताले सार्वजनिक गर्नुभएको हो । 

संघीय समानिकरण अनुदान १६ करोड ८२ लाख, संघीय सर्शत अनुदान ३० करोड ५२ लाख, समपुरक अनुदान एक करोड, विषेश अनुदान एक करोड ५० लाख, प्रदेश समानिकरण अनुदान एक करोड ९ लाख १५ हजार, प्रदेश सर्शत अनुदान ८८ लाख २५ हजार, प्रदेश समपुरक अनुदान एक करोड ३० लाख, राजश्व बाडफाँट(सवारी कर) ८८ लाख ३० हजार, मालपोत रजिस्ट्रेशन शुल्क र अन्य राजश्व सहित आन्तरिक स्रोत आठ करोड ८६ लाख ६५ हजार गरि ७५ करोड सात लाख ६४ हजार बजेट नियोजन गरिएको छ। इनरुवाले चालु आवका लागि ७५ करोड ८८ लाख चार हजार ९७६ रुपियाँको बजेट विनियोजन गरेको थियो । चालु आवको तुलनामा आगामी आवको बजेट करिब २४ लाखले मात्र बढी हो । 

आगामी आवको बजेटमा नगरको शैक्षिक गुणस्तर सुधार, फोहोरमैला व्यवस्थापन सहित स्वास्थ्य, व्यवसायीक कृषि पशुपालन आयआर्जन सहितको कृषिलाई र भौतिक पूर्वाधारलाई प्राथमिकता साथ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै १५ करोड, शिक्षामा ६० लाख र स्वास्थ्यमा एक करोड बजेट विनियोजन गरिएको छ । 

त्यसैगरी नगरको बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले समेटिएका छन् । नगरपालिकाले आठ विषयगत क्षेत्रका ४३ वडा गौरवको योजनाको रुपमा बजेट विनियोजन गरेको छ । 

इनरुवा नगरले पूर्वाधार, सामाजिक, शिक्षा, स्वास्थ्य, लक्ष्ति वर्ग, आर्थिक विकासमा कृषि तथा पशु विकास, सहकारी तथा वित्तिय सेवा, वन वतावरण तथा विपद् व्यवस्थापन, सुशासान तथा संस्थागत विकासको योजना अन्तर्गत ४३ वटा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको उपप्रमुख मेहताले जानकारी दिनुभयो । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि ६ करोड  विनियोजन गरिएको छ । घरदेखी घाटसम्म कार्यक्रम(दलित तथा अति विपन्नलाई किरिया खर्त बापत ) प्रतिपरिवारलाई १० हजार रुपियाँ दिने, अपाङ्गता भएको व्यक्तिको परिवार, दलित तथा अतिविपन्नका लागि स्वास्थ्य विमा गर्ने, दुई नम्बर वडा कार्यालय निर्माण गर्ने विषेश कार्यक्रमहरु बजेटमा उल्लेख छ ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको अध्यक्षतामा भएको सभामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु र सदस्य तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।