• १४ मंसिर २०८१, शुक्रबार

सिन्धुलीको छ स्थानीय तहको बजेट सार्वजनिक

blog

दुधौली नगरपालिकाका उपमेयर चन्द्रकिसोर थारु आईतबार नगरसभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्नुहुँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असार १० गते । सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये छ वटाले आईतबार आगामी आर्थिक वर्ष ०८०-०८१ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

कमलामाई नगपालिका, दुधौली नगरपालिका, सुनकोसी गाँउपालिका, तीन पाटन गाँउपालिका, घ्याङलेख गाँउपालिका र गोलन्जोर गाँउपालिकाले आ–आफ्नो गाँउ तथा नगरसभा मार्फत बजेट सार्वजनिक गरेका हुन् । बाँकी मरिण गाँउपालिका, फिक्कल गाँउपालिका र हरिहरपुरगढी गाँउपालिकाले यसअघि नै नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएका छन् ।

कानुनी रूपमा असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद् टेबल गर्नुपर्ने प्रावधान अनुसार स्थानीय तहहरु आगामी आर्थिक वर्षका लागि यो वर्ष समयमा नै बजेट ल्याएको जनाएका छन् । स्थानीय तहले वस्ती, वडा स्तरबाट आएका योजना र लक्षित समूह लगाएत विषयगत क्षेत्रसँग लिईएको सुझावको आधारमा नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको जनाएका छन् । उनीहरुले महिला, दलित, जनजाती, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, जेष्ठ नागरिकलाई समेत बजेटमा समेटेका छन् । 

कमलामाई नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै एक अर्ब ३९ करोड ४१ लाख ३४ हजार ६२९ रुपियाँको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये पूँजीगततर्फ ५२ करोड ४३ लाख ५० हजार रुपियाँ र चालुतर्फ ६८ करोड ९७ लाख ८४ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोख्रेलले विगतका योजनालाई निरन्तरता दिँदै ग्वाङखोला करिडोर निर्माण, कार्यपालिका भवन निर्माण, शिव नगरमा पार्क निर्माण, वातावरण मैत्री वन करिडोर र पाँच वटा वडामा विपन्न नागरिकका लागि आयआर्जन कार्यक्रम लगायतका नयाँ योजना समाबेस गरिएको सुनाउनुभयो ।

त्यस्तै, दुधौली नगरपालिकाले पनि नीति तथा कार्यक्रमसँगै एक अर्ब आठ करोड ३२ लाख ५६ हजार २४१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये पूँजीगततर्फ ३४ करोड ३६ लाख रुपियाँ र बाँकी चालुतर्फ ७३ करोड ९६ लाख ५६ हजार दुई सय ४१ रुपियाँ रहेको उप–मेयर चन्द्रकिसोर थारुले जानकारी दिनुभयो ।

सुनकोशी गाँउपालिकाले नीति तथा कार्यक्रमसँगै २६ करोड ३६ लाख ६९ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये पूजीँगततर्फ चार करोड ८४ लाख रुपियाँ र चालुतर्फ २१ करोड ५२ लाख ६९ हजार रुपियाँ बजेट रहेको गाँउपालिका उपाध्यक्ष कपिल कोईरालाले जानकारी दिनुभयो ।

ता तीन पाटन गाँउपालिकाले पनि नीति तथा कार्यक्रमसँगै ७९ करोड ९० लाख २३ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमध्ये पूजीँगत ३१ करोड ४३ लाख २९ हजार रुपियाँ रहेको र चालुतर्फ ४८ करोड ४६ लाख ९४ हजार रुपियाँ रहेको गाँउपालिकाले जनाएको छ । 

नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता र त्यसपछि स्वास्थ्य, शिक्षालाई दिएको तीनपाटन गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो । बिगतमा सञ्चालित अधुरा योजनालाई प्राथमिकता दिदै नयाँ योजनालाई बजेट छुट्याएको पनि उहाँले बताउनुभयो ।

जिल्लाकै दुर्गम क्षेत्रमा रहेको घ्याङलेख गाँउपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आईतबार नै सार्वजनिक गरेको जनाएको छ । गोलन्जोर गाँउपालिकामा भने आईतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि विवादका कारण स्थगित भएको छ । नीति तथा कार्यक्रम र बजेटमा आफ्ना योजना नसमेटिएको भन्दै बहुमतमा रहेका विपक्षी गाँउसभा सदस्यहरुले अवरोध गरेपछि नीति तथा कार्यक्रम माथिको छलफल रोकिएको जनाइएको छ ।