• १४ मंसिर २०८१, शुक्रबार

सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

blog

काठमाडौं, असार ९ गते । नेपाली कांग्रेसले कांग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । लामो समयदेखि क्यान्सर पीडित ६३ वर्षीय लामाको उपचारका क्रममा शुक्रबार राति १२ बजेर ४५ मिनेटमा वीर अस्पतालमा निधन भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभएको छ, “नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति विकास लामाको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोकको नेतृत्वदायी भूमिकामा रहेर पार्टीको सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”

स्वर्गीय लामाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बौद्धको तिनचुलेस्थित ह्याल्मो गुम्बामा राखिनेछ र भोलि (आइतबार) बिहान ११ बजे सोही गुम्बाबाट शवयात्रासहित काठमाडौंको जोरपाटीस्थित जम्बोडाडामा अन्त्येष्ठी गरिने कार्यक्रम रहेको छ । मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

वि.सं. २०१६ असोजमा जन्मनु भएका लामा ब्लड क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । केही समय अघि थाइलैण्डमा उपचार गराएर उहाँ नेपाल फर्कनु भएको थियो । स्वर्गीय लामाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक होनहार सङ्गठनकर्तालाई गुमाएको छ र अपूरणीय क्षति पुगेको मुख्य सचिव पराजुलीको भनाइ छ ।