• १० मंसिर २०८१, सोमबार

विदेशी चलचित्रमा नेपाली छटा

blog

- युवराज गौतम

 जोमसोममा सन् १९९० को दशकमा खुलेको एउटा मौलिक होटल छ । होटलको नाम हो– ओम्स होम । स्थानीय विष्णुराज हिराचन संस्थापक रहनुभएको होटलको लबीकै वरिपरि बलिउड अभिनेतासँगको उहाँका तस्बिर लस्करै छन् । कालो चस्मामा विष्णुराज र बलिउड स्टार अमिताभ बच्चनसँगै उभिएको एउटा फ्रेम भित्तामा झुन्डिएको छ । बेग्लै फ्रेममा छिन् – नायिका श्रीदेवी । अनि डेनी डेङजोङ्पालगायत अन्य । सन् १९९१ मा मुस्ताङमा चर्चित चलचित्र ‘खुदा गवाह’ छायाङ्कन हुँदा कैद भएका तस्बिर हुन् यी । 

‘खुदा गवाह’ छायाङ्कन भएपछि चलचित्र छायाङ्कनको ‘हब’ नै बन्दै गयो मुस्ताङ । “नेपाली, हिन्दी र अङ्ग्रेजी चलचित्रहरू भटाभट छायाङ्कन हुन थाले । चलचित्रमा देखिएका दृश्यले विश्वको ध्यान तान्यो,” ७२ वर्षीय विष्णुराजले स्मरण गर्दै भन्नुभयो, “चलचित्रमा देखिएका दृश्यसम्म पुगेर फोटो खिच्ने भारतीयले सपना नै बनाए । सपना पूरा गर्न बर्सेनि सयौँ पर्यटक मुस्ताङ आइपुग्छन् । हिन्दी र नेपाली निर्माता/निर्देशकले पनि आफ्नो चलचित्रको सानो भागमा यहाँको दृश्य कैद गर्न अनिवार्य ठान्न थाले ।”

हुन त त्यसअघि सन् १९७१ मा बलिउडका अभिनेता, निर्देशक, निर्माता देवानन्दले ‘हरे राम हरे कृष्ण’ काठमाडौँमा छायाङ्कन गर्नुभएको थियो । समीक्षक प्रकाश सायमीका अनुसार सन् ७० को दशकदेखि नेपाल चलचित्र छायाङ्कनको आकर्षणको केन्द्र बन्यो । “सन् १९७० मा ‘जोनी मेरा नाम’को छायाङ्कनपछि वैवाहिक उत्सवमा काठमाडौँ आउनुभएका देवानन्दले तत्कालीन राजासँग अनुमति लिएर नेपालकै परिवेशमा चलचित्र बनाउँछु भनेपछि ‘हरे राम हरे कृष्ण’ को छायाङ्कन भएको थियो,” सायमीले एउटा आलेखमा उल्लेख गर्नुभएको छ । त्यसपछि बलिउडका केही निर्देशक नेपालमा आकर्षित भए ।

वास्तवमा सन् ७० को दशकपछि विश्वका चलचित्र निर्माताका लागि नेपालको प्राकृतिक छटा, रहनसहन, संस्कृति, मौलिकता, सम्पदा रोजाइमा पर्न थाल्यो । यही बेलादेखि नेपाल विदेशी चलचित्र छायाङ्कनका लागि सुन्दर ‘हब’ बनिरहेको छ । पछिल्ला केही वर्षमा ठूल्ठूला ब्यानरका हलिउड तथा बलिउड चलचित्र छायाङ्कन भए । सगरमाथाको बेसक्याम्पदेखि जनकपुरधामसम्म, इलामको चियाबगानदेखि खप्तडका हरिया फाँटसम्म र उपत्यकाका मौलिक तथा पुरातात्त्विक  सम्पदा विदेशी चलचित्रमा कैद भएको हेर्न पाइन्छ । मनाङ, मुस्ताङ, डोल्पाका हिमाली फाँट मात्र होइन, कास्की, पर्वत र चितवनका हरियाली दृश्य पनि चलचित्रमा कैद छन् ।

क्यानडामा नेपालको पर्यटन प्रवर्धन गरिरहनुभएका नरबहादुर टन्डनको विचारमा नेपाल हिमालमा धनी, गौतम बुद्धको भूमि, बहादुर गोर्खाको जन्मभूमि र प्राकृतिक छटाले सजिएको देश भएकाले विश्वका चलचित्र निर्माताको ध्यान तानिएको हुन सक्छ । “तर हाम्रो देशका सुटिङ स्थलको प्रचार विदेशमा भएकै छैन । सरकारी निकायबाट त्यस्तो बेग्लै प्याकेज तयार भए जस्तो लाग्दैन । यसका लागि सरकारले विश्वका फिल्ममेकर र कलाकार केन्द्रित प्रचार गर्न आवश्यक छ ।”

नेपाल नयाँ र ‘फ्रेस लोकेसन’ हो । सहज र सस्तोमै यहाँ चलचित्र छायाङ्कन गर्न सकिन्छ । यहाँका दृश्यले चलचित्र आकर्षक बन्ने गरेका छन् । राजनीतिक द्वन्द्व, महाभूकम्प र कोभिडका कारण खस्किएको चलचित्र क्षेत्रले लय समातेसँगै हलिउड र बलिउडका कलाकार नेपाली माटोमा रमाउन थालेका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको स्वीकृतिपछि चलचित्र छायाङ्कन गर्न पाइन्छ । यसका लागि तोकिएको शुल्क र मापदण्ड पनि पूरा गर्नु पर्छ । २०७८ सालमा २६ वटा विदेशी चलचित्र छायाङ्कन भएको नेपालमा यो सङ्ख्या बढेर २०७९ मा ४५ पुगेको छ । पछिल्ला छ वर्षमा २४३ वटा विदेशी फिचर फिल्म, वेब सिरिज र डकुमेन्ट्री छायाङ्कन भएको नेपाल चलचित्र विकास बोर्डको तथ्याङ्क छ ।

आकर्षक गन्तव्य

समीक्षक सायमीले उल्लेख गर्नुभएको इतिहासलाई हेर्ने हो भने नेपालको भूमि विदेशी चलचित्र छायाङ्कनका लागि आकर्षणको केन्द्रबिन्दु बनेको सन् १९४५ पछि मात्र हो । सुरुवाती दिनमा एस रामनाथनको ‘महान’ चलचित्रमा नेपालको दृश्य कैद भएको थियो । त्यसपछि ‘हरे राम हरे कृष्ण’ छायाङ्कन भयो । ‘ईश्क ईश्क ईश्क’मा काठमाडौँको वसन्तपुर, ठमेल, न्युरोड, भक्तपुरका सांस्कृतिक स्थल कैद भएको पाइन्छ । ‘हरे राम हरे कृष्ण’मा काष्ठमण्डपको दृश्य रमाइलोसँग देखाइएको छ ।

यश चोपडाद्वारा निर्देशित ‘जोसिला’को गीतमा नेपालका सांस्कृतिक सम्पदा देख्न पाइन्छ । ‘लम्हेँ’ चलचित्रको गीतमा पनि पोखराको काहुँडाँडा, फेवाताल समेटिएको छ । गोविन्दा अभिनीत ‘बनारसी बाबु’ र अनिल कपुर अभिनीत ‘घरवाली बाहरवाली’ मा नेपालको दृश्य देखाइएको छ । ‘खोज’ चलचित्रमा पनि नगरकोट, साँखु, धुलिखेल जस्ता स्थान देखाइएको छ । त्यसपछि सत्यजित रेको ‘गोपी गाये बाघा बाये’, ‘किस्सा काठमाडौँ’ मा उपत्यकाका रमाइला दृश्य देख्न सकिन्छ । 

चलचित्र विकास बोर्डका अनुसार धेरै जसो भारतीय चलचित्र नेपालमा छायाङ्कन हुने गरेका छन् । हिन्दी, बङ्गाली, अङ्ग्रेजी, जापानी, डच, फ्रेन्चलगायत भाषामा बन्ने चलचित्रका लागि नेपालको स्थल रोजाइमा पर्छन् । त्यसबाहेक फ्रान्स, बेलायत, अमेरिका, पोल्यान्ड, जर्मनी, जापान, नेदरल्यान्ड, डेनमार्क, स्विडेन, साउथ अफ्रिकालगायत देशबाट पनि चलचित्र छायाङ्कनका लागि ठुलो टोली नेपाल आउने गरेको छ । फिचर फिल्मबाहेक वेब सिरिज र डकुमेन्ट्रीहरूमा नेपालका रमणीय स्थान समेटिएको पाइन्छ । 

बलिउड निर्देशक अनुभव सिन्हाको ‘फिफ’ नामक वेब सिरिजमा ठमेल, पनौती, त्रिभुवन विमानस्थल, पोखरालगायतको दृश्य समेटिएको छ । स्वयम्भू, त्रिभुवन विमानस्थल, मनाङ, लुक्ला, नाम्चेलगायतका स्थानमा छायाङ्कन भएको सुरज बडजात्यको 

‘उचाइ’ले नेपाली भूमिको प्रचारमा सहयोग पु¥याएको छ । चलचित्र निर्माण टोलीको बसाइका कारण पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको ठमेलका पर्यटन व्यवसायी एकराज अधिकारीको भनाइ छ । “नेपालमा आएका फिल्म निर्माण समूहले काठमाडौँ उपत्यका, मनाङ, मुस्ताङ, इलाम, पोखरा, राष्ट्रिय निकुञ्ज, चितवन, नगरकोट, ककनी, खुम्बु, एभरेस्ट र अन्नपूर्ण बेसक्याम्प क्षेत्रलगायतका रमाइला हिमाली फाँट रोज्ने गरेका छन्,” अधिकारीले भन्नुभयो । ती फिल्म निर्माण टोलीले औसतमा २० देखि ४० दिन नेपालकै सुटिङ स्थलमा बिताउने गरेका छन् । गत वर्ष छायाङ्कन भएको ‘उचाइ’को निर्माण टोलीले ३७ दिन बिताएको थियो भने ‘फिफ’ सिरिज टोलीले १९ दिनको छायाङ्कन अनुमति लिएको चलचित्र विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ ।  ६२ दिनसम्म नेपालमा बिताएको हिन्दी चलचित्र ‘सुप्रवत’ र ३२ दिन बिताएको ‘सुकुन्तला’को टोलीले नेपालको दृश्य धेरै नै कैद गरेका थिए । स्विडेनको ‘दी एक्सपेडिसन’ले पनि १९ दिनसम्म नेपालमा हिमाली भेगहरूमा बिताएको थियो । 

निर्देशक भीषण राईका अनुसार नेपालमा चलचित्र छायाङ्कन गर्न आएको विदेशी टोलीले हिमाली क्षेत्र, जङ्गल र जनावर, मौलिक र पुरातात्त्विक  क्षेत्र, संस्कृति, व्यस्त हाट बजार, चोक र गल्ली रुचाउने गरेका छन् । “उनीहरूको विचित्रको दृष्टिकोण र  स्क्रिप्ट  हुन्छ । हामीले नदेखेको, नसोचेको स्थल र कल्पनै नगरेको विषयवस्तुको दृश्य कैद गर्न रुचाउने गरेको मैले पाएको छु,” निर्देशक राईले भन्नुभयो ।

सगरमाथा क्षेत्रमा निर्माण भएका विदेशी चलचित्र तथा डकुमेन्ट्रीहरूले सबैभन्दा धेरै दिन बिताएको बोर्डको रेकर्डमा छ । सन् २०२२ मा अमेरिकी चलचित्र ‘फुल सर्कल एभरेस्ट’ले ६७ दिनसम्म छायाङ्कन गरेको थियो भने क्यानडाबाट आएको ‘एभरेस्ट डन’ नामक अङ्ग्रेजी चलचित्रको टोलीले ९० दिनसम्म छायाङ्कनमै बिताएको थियो । ‘एलिट एक्सपेड एभरेस्ट ल्होत्से’ले ६४ दिन र ‘लाइफ एट दी एक्सट्रिम एभरेस्ट’ले पनि छायाङ्कनका लागि ७५ दिनको अनुमति लिएको पाइन्छ ।

विदेशबाट आएका फिल्म मेकरहरूले पाटन, भक्तपुर र वसन्तपुर दरबार क्षेत्र लोकेसनका लागि धेरै रोज्ने गरेका छन् । यसको उदाहरणमा अमिताभ बच्चनको ‘महान्’मा देखिएका दृश्य अधिकांश काठमाडौँ, ललितपुर र भक्तपुरका छन् । ‘डक्टर स्ट्रेन्ज’मा पनि काठमाडौँकै न्युरोड, पाटन, ठमेल, असन, स्वयम्भूलगायत स्थान देखिन्छन् । ‘दस गिन्ने से पहले’मा पनि स्वयम्भू, भक्तपुर, भैँसेपाटी, मुडेलगायत क्षेत्र कैद भएका छन् ।

चर्चाका चलचित्र

नेपालमै छायाङ्कन भएको धेरै जसो चलचित्र चर्चित हुनुका साथै कतिपयले राम्रो व्यापार पनि गरेका छन् । ‘खुदा गवाह’ त्यसको पहिलो उदाहरण हो । हलिउड फिल्म ‘एभरेस्ट’ सगरमाथा आधार शिविर र काठमाडौँमा छायाङ्कन भएको हो । वाल्टसमर कोर्माकुरले निर्देशन गर्नुभएको ‘एभरेस्ट’ चलचित्रले बक्स अफिसमा धमाका पिट्दै १९८ मिलियन डलर कमाएको निर्माण पक्षको दाबी थियो । देवानन्दको ‘हरे राम हरे कृष्ण’, एडमन्ड हिलारीको जीवनीमा आधारित न्युजिल्यान्डको टेलिभिजन ड्रामा ‘हिलारी’ले पनि राम्रो तारिफ पाएको थियो ।  पछिल्लो समय अर्को बलिउड चलचित्र ‘उचाइ’ले पनि उसै गरी चर्चा बटुल्यो । सगरमाथा क्षेत्र घुम्ने र हिमालमा पदयात्रा गर्ने बुढ्यौली उमेरका चार पदयात्रीको कथा देखाइएको यस चलचित्रले राम्रो तारिफ बटुल्यो । नेपालमै छायाङ्कन भएका बङ्गाली, भोजपुरी, हिन्दी गीतको भिडियोले पनि राम्रो चर्चा पाइरहेका छन् । चलचित्रमै देखाइएको दृश्यबाट आकर्षित भएर घुम्नलाई सौखिनहरू नेपाल उत्रिने गरेका छन् ।