• १५ असार २०८१, शनिबार

बल्ल बुझियो हिमनदीको महत्त्व

blog

हिमनदीको पानी ब्रान्डेड गर्ने भनेर सरकारले बजेट तथा कार्यक्रममा ल्याएको छ । २०६६ देखि २०७० सम्म नेपाल सरकारको सेवामा महिला विकास अधिकृतको जिम्मेवारीमा जुम्ला जिल्लामा कार्यरत थिएँ । जिम्मेवारी सम्हालेको सुरुदेखि नै मलाई त्यहाँका तिला नदी र हिमा नदीले आकर्षण गरिरहेका थिए । यी नदीको पानी पिउने पानी (मिनरल वाटर ) का रूपमा सहरी क्षेत्रमा र तराईमा पठाउन सकेमा शुद्ध पानीको उपयोग हुने थियो भन्ने लागि रहन्थ्यो । यस्तै सन्दर्भमा जिल्ला स्तरका बैठकमा र कार्यालय प्रमुखका बैठकमा समय समयमा कुरा उठिरहन्थ्यो –जुम्लामा समान लिएर आउने गाडी रित्तै फर्कन्छन् भन्ने विषयमा । त्यतिबेला मैले जिज्ञासा राख्ने गरेकी थिएँ, ‘यहाँको पानी ती रित्ता गाडीमा पठाउन सके राम्रो हुन्थ्यो नि ।’ जवाफ पाउँथे यहाँको पानी शुद्ध छैन, दूषित छ भन्ने । यहाँको पानी कसरी दूषित छ त भनेर पनि सोध्थेँ तर चित्त बुझ्दो जवाफ पाउँदिनथेँ । मलाई कौतूहलता लागिराख्थ्यो । म पनि आफ्नो जिम्मेवारीमा व्यस्त हुँदै गएँ । यो विषय मेरो कार्यक्षेत्रभन्दा भिन्न भयो । मन बुझाउन बाध्य थिएँ । मनमा कुरा त खेलिरहन्थ्यो ।

वार्षिक स्वीकृत कार्यव्रmमका सिलसिलामा हामी कर्मचारीको टिम सिजा गयौँ । सिजाका तत्कालीन पाँच वटा गाविसमा दुई चरणमा कार्यक्रम  सञ्चालन गर्नु पर्ने थियो । प्रसिद्ध कनकासुन्दरी देवीको दर्शन गरेर कार्यक्रम सुरु गर्ने निधो भयो । हामी कनकासुन्दरी देवीको दर्शनका लागि हिँड्यौँ ।

कनकासुन्दरी मन्दिर नजिकै हिमा नदीको झोलङ्गे पुल छ । पुलमुनिको निलो पानीले हिमा नदीको गहिराइको साथै कनकासुन्दरी मन्दिरको सौन्दर्यता नै बढाएको छ । स्वच्छ र सफा पानीको आभास दिएको हिमा नदी सिजाको जलजला हुँदै बगेको छ । कनकासुन्दरी मन्दिर नजिकको त्यो पुल तरेर १५–२० मिनेटको उकालो बाटो हिँडेपछि कनकासुन्दरी मन्दिर पुगिन्छ । 

पुलमुनि हिमा नदीको सफा र निलो पानी देखाउँदै मलाई सम्बोधन गरेर एक जना सहकर्मी साथीले भने, “त्यो निलो पानीको बिचबिचमा देखिएको कालो छ नी त्यो त मरेका कुकुर हो । कुकुरलाई रेबिज लागेपछि वा मरेपछि र पशु मरेपछि पनि नदीमा फालिदिन्छन् ।” जति नजिक गयो त्यति काला थुप्रा देखिन थाले, त्यो निलो पानीको दहभित्र मरेका पशुको । यहाँ मात्र हो कि अरू ठाउँमा पनि यस्तै हुन्छ भनी सोधेँ । सबै ठाउँमा यस्तै हुन्छ भन्ने जवाफ पाएँ । त्यसपछि त लामो समयदेखि खड्किएको हिमनदी दूषित हुनको कारण थाहा पाएँ । 

हिमा नदीको यो अवस्था थाहा पाएपछि नदी सफा राख्नका लागि जनचेतना जगाउनु पर्ने पहिलो प्राथमिकता भएको महसुस भयो । यो विषयमा हाम्रो समूहमा सल्लाह गरी पहिलो चरणमा कनकासुन्दरी र बिराट गाविसमा कार्यक्रम चलाउने निर्णय ग¥यौँ । यी हिमा नदीका सिरानमा रहेका गाविस हुन् । महिला विकास कार्यव्रmमसम्बन्धी तीन दिने परिचयात्मक कार्यक्रममा हिमनदीको महत्व र नदीनाला सफा राख्नाले हुने फाइदा तथा नदी प्रदूषित हुने बेफाइदासम्बन्धी विषयवस्तु समावेश गरी कार्यक्रम सञ्चालन गरियो । स्वीकृत विषयवस्तु तथा थप विषयवस्तुबारे छलफल तथा अन्तर्क्रिया गरियो । जलजलाबाट बगेकी हिमा नदी कनकासुन्दरी, बिराट, पाण्डुगुफा, बड्की र कालिकाखेतु हुँदै खलङ्गा जुम्लाबाट आएकी तिला नदीसँग माग्मामा मिसिन्छिन् । जुम्ला खलङ्गा हुँदै बगेकी तिला नदी पनि हिमनदी हुन् ।

नदीनाला सभ्यताका प्रतीक हुन् । नदीनालाको संरक्षण तथा सरसफाइले स्थानीय बासिन्दा र समाज कति सभ्य छ भन्ने परिचित गराउँछन् । साथै स्वच्छ र सफा पानीको प्रयोगबाट वातावरण स्वच्छ हुनुका साथै तल्लो पहाडी भेक र तराई भेकका बासिन्दाले पनि स्वच्छ र सफा पानीको प्रयोग गर्न पाउँछन् । तल्लो भेकमा हिमालबाट बगेर गएको पानीलाई पवित्र गङ्गाजल भनी एकादशी, औँसी, सक्रान्ति जस्ता विशेष दिनमा गङ्गा स्नान गर्ने र पानीलाई पवित्र गङ्गाजल मान्ने प्रचलन छ । त्यसैले यहाँका नदीको पानी सफा, शुद्ध र स्वच्छ गरी पठाउनु यहाँका बासिन्दाको कर्तव्य हो । यो महान् कार्यमा संलग्न भई यहाँको नदीको पानी सफा, शुद्ध र स्वच्छ गरी पठाउँदा बगेर गएको पानीबाट नदी किनारको प्राकृतिक सौन्दर्यता बढ्नुका साथै दूषित पानीको प्रयोगबाट लाग्ने रोग लाग्दैनन् । त्यहाँका बासिन्दा र जीवजन्तु स्वस्थ र निरोगी हुन्छन । आफ्नो ठाउँका नदीनालाको सफा राखी, शुद्ध र स्वच्छ पानी बग्न दिनु महान् धार्मिक कार्य हो । यसबाट हामीलाई पुण्य प्राप्त हुन्छ भन्ने विषयबारे जानकारी गराएका थियौँ । छलफलको क्रममा सहभागी महिला निकै रुचिका साथ छलफलमा सहभागी भए । सहभागीले भने, ‘नदी फोहोर गर्न हुँदैन, फोहोर हुँदा हुने बेफाइदाबारे हामीलाई जानकारी थिएन । अबदेखि हामीले आफ्नो ठाउँका नदीनाला सफा गर्छौं, फोहोर हुन दिँदैनौँ, स्वच्छ र सफा पानी बग्ने वातावरण मिलाउँछौँ । अब हामी यो काम गर्न तुरुन्तै सुरु गर्छौं । हाम्रो गाउँमा पौडी खेल्न जानेका युवा छन्, उनीहरूलाई नदीभित्रको फोहोर बाहिर निकाल्न पठाउँछौँ, नदी किनारमा हामी महिलाले खाल्टो खन्छौँ र नदीभित्रबाट झिकेको फोहोर वस्तु खाल्टोमा राखी पुर्छौं, अबदेखि नदी फोहोर गर्दैनौँ र फोहोर गर्न पनि दिँदैनौँ ।’ उनीहरूबाट कार्यक्रममा यस्तो प्रतिबद्धता जाहेर भएपछि हामी खुसी भयौँ । 

कार्यक्रम सकिएपछि आफ्ना गाउँमा बैठक बसी नदी सफा गर्नका लागि छलफल भएछ । पौडी खेल्न जानेका युवाले उनीहरूको अनुरोधमा सहयोग गर्ने रुचि देखाएन छन् । त्यसपछि महिला साडी कम्मरमा बाँधी तिमीहरूले साथ दिएनौँ, अब हामी नै नदीमा जान्छौँ भनी निलो दह पानी भएको नदीभित्र जान तम्सिए छन् । पौडी खेल्न नजान्ने महिला निलो दहमा जान तम्सिए पछि युवा उनीहरूलाई रोक्दै पौडी खेल्न जाने युवा पानीभित्र पसेछन् र त्यहाँको फोहोर बाहिर निकाले छन् । महिलाले नदी किनारमा खाल्टो खनी फोहोर गाड्दै गएछन् । यसरी नदीभित्रको फोहोर पूरै सफा गरेछन् । नदी सफा गरिसकेपछि पौडी खेली पानीभित्र जाने युवालाई कार्यक्रममा आबद्ध महिलाले अबिर र फूलमाला लगाई सम्मान गरेछन् । प्रति महिला ५० (पचास) रुपियाँ उठाई पुरस्कृत समेत गरेछन् । यो क्रम पाण्डुगुफा, बड्की र कालिकाखेतु गाविसमा पनि सुरु भई सिजा भेकका सबै गाविसले हिमानदी सफा गरी पानी खान योग्य बनायाैँ भनी महिला बालबालिका कार्यालय खलङ्गा जुम्लामा जानकारी गराएका थिए । 

स्थानीय स्तरबाट नदीनाला र पानीका मूल संरक्षण हुन सकेमा झाडापखाला हैजा जस्ता प्रदूषित पानीबाट फैलिने सरुवा रोगबाट बच्न र बचाउन सकिने छ । हिमनदी वा हिमाल ब्राण्डेड पानीका लागि महँगो साधन हेलिकप्टर प्रयोग गर्न पर्ने छैन किनकि बाटोको संरचना नेपालका गाउँ र बस्ती बस्तीमा पुगेको छ । नपुगेको ठाउँमा पु¥याउने सरकारी क्रम पनि जारी नै छ ।

जुम्ला खलङ्गा हुँदै नाग्मा कालिकोटतिर बगिरहेको तिला नदीको बारेमा जानकारी लियौँ । तिला नदी पनि हिमनदी हो । तिला नदीको अवस्था पनि त्यस्तै रहेछ, मरेका खच्चड, मरेको घोडा, रेबिज लागेको कुकुर, मरेका कुकुर, मरेका वस्तुलगायत सबै फोहोर तिला नदीमा फाल्ने । हिमा नदी सरसफाइ गरेको प्रक्रिया र सफा राख्न सिजा भेकका महिलाले गरेको प्रतिबद्धताबारे तिला नदी कार्यक्षेत्रका महिलालाई जानकारी गरायौँ । उनीहरूले पनि तिला नदी सफा राख्ने बारेमा सक्रियता देखाए । त्यसपछि लगत्तै महिला विकास कार्यक्रम अन्तर्गतका महिला संस्थाको अन्तर्क्रिया कार्यक्रम थियो । त्यसमा पनि सिजाका महिला विकास कार्यक्रममा आबद्ध महिलाले गरेको नदी सरसफाइसम्बन्धी सहासी कार्यको बारेमा छलफल भयो । सिजाका महिला दिदीबहिनीले गरेको साहसी कामको प्रभाव अन्तर्क्रियाका सबै सहभागीमा पर्न गयो । अन्तर्क्रियाका सबै सहभागीले आआफ्नो ठाउँका नदीनाला सफा राख्ने सक्रियता देखाए । 

त्यसको केही समय पछि मेरो जुम्लाबाट सरुवा भयो । सेवाबाट अवकाश लिएँ । कार्यक्रमलाई पृष्ठपोषण तथा निरन्तरता दिने अवस्था भएन । अहिलेको हिमा नदी र तिलानदीको अवस्था त मलाई थाहा भएन । यहाँ भन्न खोजिएको के हो भने स्थानीय स्तरमा सचेतनाका कमीले नदीनाला फोहोर हुने रहेछन् । स्थानीय बासीलाई जिम्मेवार बनाएर नदीनाला सरसफाइसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्ने हो भने स्थानीय स्तरबाट नै नदीनाला सफा हुँदा रहेछन् । यसको उदाहरण हिमा नदी सरसफाइ गरेर सिजाका तत्कालीन पाँच गाविसका कार्यक्रममा आबद्ध महिला समूहले गरेको कामलाई लिन सकिन्छ । महिला विकास कार्यक्रम अन्तर्गत देशभरि नै पीडित महिलालाई सहयोग गर्ने, घरमा बस्न नसकेका महिलालाई घरमा बस्ने वातावरण मिलाइदिने, बेचबिखनमा पर्न लाागेका महिला बालबालिकाको उद्धार गर्ने, असहाय बालबालिकाको गाउँमै संरक्षण दिने, साना बालबालिकालाई गाउँमा अन्न उठाएर दिउँसो स्कुलका लागि खाजाको व्यवस्था गर्ने अभियान चलाइयो । बालबालिकाले खाजा खाने समयमा पालोपालो गरी विद्यालयमा गएर सहयोग गर्ने, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पढाउने व्यवस्था मिलाउने, झैझगडा र सीमासम्बन्धी विवाद मिलाउने, ज्येष्ठ नागरिकलाई सहयोग गर्ने जस्ता उदाहरणीय काम महिला विकास कार्यक्रममा आबद्ध महिला समूहले अनगिन्ती गरेका छन् ।

यो विषयमा नेपाल सरकार जानकार नै छ । विडम्बना राष्ट्रका आधाभन्दा बढी जनसङ्ख्या ओगटेका र विकासमा पछाडि परेका अति विपन्न र अशिक्षित महिलाको बहुल्यता रहेको वर्गलाई सम्बोधन गरी तत्कालीन नेपाल सरकारले सञ्चालन गरेको महिला विकास कार्यक्रमले महिलाको जीवनस्तर माथि उठाएको थियो भने यो स्तरका महिलालाई नेतृत्व स्तरमा पनि पु¥याएको थियो । यस कार्यालयबाट नेपाल सरकारले दक्ष र अनुभवी महिला कर्मचारीद्वारा महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि प्रत्यक्ष फाइदा हुने कार्यक्रम सञ्चालन गरिएको थियो । 

अहिले नेपाल सरकारले महिला विकास कार्यक्रमको आवश्यकतालाई हृदयगम गर्न नसकी स्थानीय निकायको एउटा कोठामा लगेर राखेको छ । त्यहाँ महिलाका लागि पर्याप्त बजेट, कार्यक्रम र कर्मचारी छैन । यस्तो अवस्थामा ग्रामीण क्षेत्रका, अति विपन्न, असहाय, अशिक्षित र हिंसापीडित महिलाका लागि राहत हुने कार्यक्रम सञ्चालन गर्ने नेपाल सरकारको जिल्लास्तरको संरचना महिला बालबालिका कार्यालय सरकारी खर्च कटौती गर्न भनी जिल्ला स्तरबाट खारेज गरिएको छ । सरकारी खर्च कटौती गरी आर्थिक मितव्ययिता गर्ने सोचले जिल्ला स्तरीय संरचना खारेज गरिएकाले महिला बालबालिका र ज्येष्ठ नागरिकलाई निकै मर्का परेको छ । 

नेपाल सरकारको महिला विकास कार्र्यक्रम भनेको राष्ट्र विकासको सन्दर्भमा राष्ट्र विकासको जग हो । घर बनाउँदा घरको जग बलियो बनाउन जगमा बलिया ढुङ्गा, इँटा राखे जस्तै नेपालको सन्दर्भमा राष्ट्र विकासको जग बलियो बनाउन महिला विकास कार्यक्रम आवश्यक छ । यो कार्यक्रमले महिलाका समस्या बुझ्न र उनीहरूबाट सामाजिक चेतना विस्तारका साथै मूल प्रवाहीकरणमा सहयोग पुग्ने छ । नेपाल सरकारले जिल्लास्तरको संरचना महिला बालबालिका कार्यालय खारेज गर्ने निर्णयलाई पुनरवलोकन गरी स्थानीय स्तरको कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्छ । जिल्ला स्तरको संरचनालाई पुनः स्थापित गरी प्रभावकारी रूपमा महिला बालबालिकाका कार्यक्रम सञ्चालनको व्यवस्थापनका लागि नेपाल सरकारसँग अनुरोध छ ।

लेखक पूर्वप्रमुख महिला विकास अधिकृत हुनुहुन्छ ।

   

Author

कमला खनाल