• ७ असार २०८१, शुक्रबार

ओमानमाथि श्रीलंका १० विकेटले विजयी

blog

पाँच विकेट लिएपछि श्रीलङ्काका वानिन्दु हसरङ्ग । तस्बिर : क्रिकइन्फो

काठमाडौं, असार ८ गते। आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको शुक्रबारको खेलमा श्रीलंका ओमानमाथि १० विकेटले विजयी भएको छ। ओमानले दिएको ९९ रनको सामान्य लक्ष्य श्रीलंकाले विना विकेटको क्षतिमा १५ ओभरमा पूरा गरेको हो। 

जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भएको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो। 

श्रीलंकाका लागि दिमुथ करुणारत्नेले ५१ बलमा ६१ रन बनाउनुभयो भने पथुम निशंकाले ३९ बलमा ३७ रन बनाउनुभयो। ओमानले विकेट लिन नसक्दा श्रीलंका बिना विकेट विजयी भएको हो। 

यसअघि ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाउनुभएको थियो। ओमानका लागि जतिन्दर सिंहले २१ तथा फयाज बुटले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसक्दा सामान्य लक्ष्यमा समेटिनु परेको थियो।

ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिनुभयो भने लाहिरु कुमाराले तीन विकेट हात पार्नुभयो। 

त्यस्तै कसुन रजितले एक विकेट लिनुभयो। 

लगातार दोस्रो जित निकालेको श्रीलंका चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। यो जितसँगै श्रीलंका सुपर सिक्समा पुग्ने पक्का भएको छ। श्रीलंकासँग पराजित ओमान दोस्रो स्थानमा झरेको छ। उसकोसमेत सुपर सिक्स प्रवेशको सम्भावना भने बलियो छ। ओमानले तेस्रो खेलमा पहिलो हार ब्यहोरेको हो।