• १२ मंसिर २०८१, बुधबार

सांस्‍कृतिक विरासतको संरक्षण

blog

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्व छन् । जसमध्ये सांस्‍कृतिक समानतालाई एउटा प्रमुख घटनाका रूपमा लिन सकिन्छ । सरकारको सञ्चालन आफ्नै तरिका र परिस्थितिहरूको बाध्यात्‍मक अवस्थाबाट भइरहेको हुन्छ तर दुई देशबिचको सांस्‍कृतिक समानताका कारण जनस्तरमा स्‍थापित सम्बन्ध र बन्‍धुत्व कहिल्यै कमजोर भएन । नेपाल र भारतबिच सांस्‍कृतिक सम्बन्ध यति बढी प्रगाढ एवं अद्वितीय छन् कि यसको बराबरी विश्‍वका अन्य कुनै पनि मुलुकको सम्बन्धले गर्न सक्‍दैन । नेपाल र भारत एक अर्कासित अध्यात्मिक, धार्मिक एवं सांस्‍कृतिक रूपमा अनन्‍य भावले जोडिएका छन् । प्रधानमन्‍त्री दाहाल ‘प्रचण्ड’ को गत महिना सम्‍पन्‍न भारत भ्रमणले पनि यसलाई थप बलियो नै बनाएको छ ।

नेपाल एंव भारतबिचको सांस्‍कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्‍न सक्‍दैनौँ किनभने बौद्धिक ज्ञानको दृष्टिले, हामीले आँखा खोलेदेखि नै नेपाल–भारत सांस्‍कृतिक सम्बन्धको अस्तित्वलाई हामी आफूसँगै सुन्दै र बुझ्‍दै आएका छौँ । धर्म अध्‍यात्‍म र सांस्‍कृतिक एकताले भारतलाई नेपालसित अन्तरिक रूपमा यसरी बाँधिदिएको छ कि दुवै देश पृथक् भएर पनि अभिन्‍न छन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्‍कृतिक चेतना छ । नेपाल र भारत दुबै देश एउटै सांस्‍कृतिक चेतनाका साझेदार संवाहक छन् । हिमालय, हामी दुवैको निम्ति आत्‍मसाधनाको स्‍थान रही आएको छ । अनन्तकाल देखि नै हिमालयका महान् शिखरहरूले हामी दुवैलाई आध्यात्मिक ऊर्जा प्रदान गर्दै आएको छ ।

तीन दशक लामो पञ्चायती शासनको अन्त्य तथा देशमा प्रजातन्‍त्रको पुनस्‍थापनापश्‍चात् नेपालको अन्तरिम सरकारका प्रधानमन्‍त्री कृष्‍णप्रसाद भट्टराईले दुई देशबिचको सम्बन्धबारे संस्कृत भाषाका आदिकवि काली दासको महाकाब्य मेघदुतम्को पङ्क्तिलाई उद्धृत गर्दै भनेका थिए । 

‘अस्‍तुयतरस्‍यां दिशि देवात्मा हिमालयो नाम नगाधिराज ।

पुर्वापरौ तोयनिधि वगाहय स्थितः पृथिव्याइब मानदण्‍ड ।।’

देउताहरूको आत्‍मा, ऋषिमुनिहरूको तपोभूमि, गङ्गा, यमुना, कोशी, गण्‍डकी, कर्णालीको उद्गम स्‍थल विदेशीको आकर्षण हो । मनोहर हिमालय यस पृथ्‍वीको मापन यन्‍त्र हो । यो रमणीय हिमालय नेपाल र भारतका प्रत्येक व्यक्तिको आस्‍था एवं श्रद्धाको केन्‍द्रबिन्‍दु रहिआएको छ । यस हिमालयको दक्षिणी भेगमा नेपाल र भारत अव‍स्थित छ । जगत्का माता पिता पार्वती र शङ्कर हाम्रा आदिदेव हुन् । उनको निवास स्‍थान कैलाश मानसरोवर नेपाल र भारत दुवै देशका भक्तजनको निम्ति पवित्र स्‍थल छ ।

नेपाल र भारतको सांस्‍कृतिक संरचनाका साथै सामाजिक रीतिरिवाज, खानपान, वेशभूषा र बोलीचालीको भाषामा पनि निकै सामीप्यता पाइन्‍छ । जसरी भारतका जनता धार्मिक रूपले उद्धार एवं सहिष्‍णुता पाइन्‍छन्, ठिक त्यसरी नै नेपाली पनि धार्मिक, उद्धार र सहिष्‍णु छन् । सायद त्यही भएर होला, कुनै नेपाली भारत भ्रमणमा जाँदा अथवा भारतका नागरिक नेपाल आउँदा अपनत्‍वको अनुभूति भइरहेको हुन्छ । कुनै समस्या आउँदैन ।

सर्वे भवन्‍तु सुखिनः सर्वे सन्‍तु निरामया ।

सर्वे भद्राणी पश्‍यन्‍तु मा कश्चित दुःख 

भाग भवेत ।।

सबैको सुख र आरोग्य एवं सफलताको कामना गर्ने काम हाम्रो समाजमा मात्रै सम्‍भव छ । उपरोक्त  कल्‍याणमयी भावनाले यी दुई देशको सामाजिक व्यवस्था ओतप्रोत रहेको पाइन्‍छ । चार वेद, अठार पुराण, गीता र रामायणलगायत हाम्रा सबै धर्मशास्‍त्र एउटै हुन् । नेपाल र भारतका आर्यहरू एउटै ऋषिका वंशज एवं सन्तान हुन् । तीन देवता ब्रह्मा, विष्‍णु, महेश, तीन श‍क्ति महाकाली, महालक्ष्‍मी र महासरस्‍वतीलाई हामी समान रूपले पूजा गर्दछौँ । यस्तै पञ्च देवता, विष्‍णु, पञ्च भौतिक, दस दिक्पाल एवं नवग्रहादी देवताको पनि सम्मानित रूपमा पूजा अर्चना गरिन्छ । हिंसा परमोधर्मः को भावना हामी दुवै देशको जनतामा समान रूपले विद्यमान छ । पशुपन्छी, जड जङ्गम सबैमा ईश्‍वरको अंश हेर्ने हाम्रो मान्यता रहिआएको छ । आज पनि हजारौँ भारतीय तीर्थालु दैनिक रूपमा भगवान् पशुपतिनाथ, गौतम बुद्धको भूमि लुम्बिनी तथा माता जानकीको नगरी जनकपुरधाम आउन गरेका छन् । त्यसैगरी हजारौँ नेपाली चार धाम, १२ ज्योतिर्लिङ, मथुरा, अयोध्या र तिरुपतिको दर्शन गर्न जाने गरेका छन् । 

नेपाली वाराणसी, कोलकाता, सिरडी, कामरूप कामाख्‍या, वृन्दावन आदि धार्मिक स्‍थलहरूमा जाने गर्दछन् । गङ्गा स्‍नानलाई आफ्नो जीवनको परम कर्तव्य ठान्‍ने मान्यता नेपालीको पनि रहेको छ । 

पशुपतिनाथको दर्शन नगरे आफ्नो मानव जीवन सफल नहुने मान्यता भारतका पनि कतिपय हिन्‍दुको रहेको छ । नौ वर्षअघि नेपाल भ्रमणमा आएका बखत भारतीय प्रधानमन्‍त्री नरेन्‍द्र मोदीले भगवान् पशुपतिनाथको दर्शनपश्‍चात् भन्नुभएको थियो, “नेपालका पशुपतिनाथ र भारतका केदारनाथ दुवै एउटै शिवको दुई वटा नाम हो, एउटै ईश्‍वरीय शक्तिको दुई वटा रूप हो ।” दुई भिन्‍न स्‍थान, दुई भिन्‍न देशमा अवस्स्थित रहेर पनि यिनमा तात्त्विक भिन्‍नता छैन । चाहे यी दुई देशको संस्‍कृति र परिवेशमा समयका कारण केही भिन्‍नता किन नरहोस् । उहाँले पशुपतिनाथको नगरी काठमाडौँ र काशी विश्‍वनाथको नगरी वाराणसीसित आवगमनको सुविधा सहज हुनुपर्ने आवश्‍यकता औँल्याउनुभएको थियो । वाराणसीसित नेपालको गहिरो नाता रहेको छ । पहिला नेपालीको निम्ति शिक्षा आर्जन गर्ने प्रमुख थलो नै वाराणसी हुने गर्दथ्यो । कला, साहित्य र सङ्गीतका लागि पनि वाराणसी नेपालीका निम्ति सहयोगी ठाउँ रहिआएको छ । नेपालमा आन्‍दोलन र निर्वासन बेला त नेपालका राजनीतिज्ञहरूका निम्ति यो आश्रम स्‍थल नै रहेको थियो । 

नेपालका प्रधानमन्‍त्री ‘प्रचण्‍ड’ गत महिना भारत भ्रमणमा जाँदा उज्‍जयनको महाकाल मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो । केही दिनअघि भगवान् पशुपतिनाथको म‍न्दिरमा पनि पूजा अर्चना गर्दा उहाँका राजनीतिक विरोधीले त्यसको आलोचना पनि गरे तर आफ्नो धार्मिक मान्यता र विश्‍वास अनुसार पूजा गर्न मन्दिर जाँदा देवस्‍थल जानुमा गलत के छ ? आज पूरै विश्‍व सनातन धर्म संस्कृतिबाट प्रभावित भइरहेको छ । संस्‍कृत भाषाको मान्यता आवश्‍यकता र ‍स्वीकार्यता बढेको छ । योगको महìव बढेको छ । संसार आयुर्वेदतिर आकर्षित भइरहेको छ । 

हामी पनि त सनातन धर्म संस्‍कृतिका वाहक हौँ । उत्तराधिकारी हौँ । नेपाल र भारतले मिलेर सनातन धर्म संस्‍कृतिको संरक्षण गर्नु पर्छ । यसको विकासमा ध्यान केन्द्रित गर्नु पर्छ । अहिले विश्‍वका प्रायः सबै जसो पुराना सभ्यता अस्तित्वविहीन भएका छन् । केवल चिनियाँ र पूर्वीय अथवा हिन्‍दु सभ्यता मात्रै अस्तित्वमा छन् । हाम्रो सभ्यता नै हाम्रो पहिचान हो । 

प्रधानमन्‍त्री प्रचण्ड हाम्रो सभ्यता र संस्‍कृतिको विकास भएको हेर्न चाहनुहुन्छ । उहाँ यसकै संरक्षण होस् भन्‍ने पक्षमा हुनु हुन्छ भ‍ने अन्यथा किन मान्‍नुपर्ने ? उहाँ सबै धर्मको कार्यव्रmममा सहभागी हुनुभएको छ । सम्मान र सत्कार स्‍वीकार गर्नुभएको छ तर आफ्नो धर्म संस्‍कृति मान्‍नु गलत कसरी हुन सक्‍छ ? 

भारतका प्रधानमन्‍त्री नरेन्‍द्र मोदी र नेपालसमेतको सहमतिमा प्रस्‍तावित रामायण सर्किट र बुद्धिस्‍ट सर्किट निर्माणमा पनि हाम्रो ध्यान केन्द्रित हुन आवश्‍यक देखिन्छ । यसबाट हाम्रो देशमा विश्‍वभरिकै पर्यटक आकर्षित हुने छन् । हाम्रा सांस्‍कृतिक सम्बन्ध अझ प्रगाढ हुनु पर्छ ।

लेखक समसामायिक विषयका जानकार हुनुहुन्छ । 

  

Author

श्रीमननारायण