• १२ साउन २०८१, शनिबार

विद्युतीय मञ्चमा फस्टाउँदै साहित्य

blog

काठमाडौँ, असार ८ गते । राम्रो कविता लेख्दा कसलाई सुनाउने होला भनेर अब भौँतारिँदै हिँड्नु पर्दैन । अहिले आफूले सिर्जना गरेका रचना सामाजिक सञ्जालमा पोस्ट गरेर, वाचन गरेको भिडियो हालेर वा लाइभ गरेर एकै पटक लाखौँ श्रोतालाई सुनाउन सकिन्छ । सूचना प्रविधिमा आएको विकासले अन्य क्षेत्र जस्तै साहित्य क्षेत्रले पनि फस्टाउने मौका पाएको छ ।

औपचारिक कार्यक्रम गरेर नै कविहरूले एकल कविता वाचन गर्ने गरेका थिए । अहिले भिडियो लाइभ वा रेकर्डिङ गरेका कविताहरू एकै पटक लाखौँ पाठकका मन मनमा पुग्छन् । प्रत्यक्ष भेट्न नसके पनि डिजिटल माध्यममा उनीहरूका रचना सहजै सुन्न र पढ्न सकिन्छ । विभिन्न मेला महोत्सवमा समेत सिनेमाका पर्दामा देखिने कलाकारभन्दा कविहरूलाई प्रत्यक्ष हेर्न र सुन्न चाहनेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । 

केही वर्षयतादेखि श्रोता/पाठकको अभावमा साहित्यकारले पनि मन खिन्न पार्नपर्ने अवस्था अन्त्य भएको छ । राम्रा रचना र सिर्जनालाई सामाजिक सञ्जालले ठुलो चौतारी उपलब्ध गराएको छ । पर्दामा देखिने कलाकारलाई जस्तै साहित्यकारका पनि यस्ता माध्यममा लाखौँ दर्शक फलोअर हुन थालेका छन् ।  

तीमध्ये एक नाम हो, नवराज पराजुली ।  ‘ब्रान्डेड कवि’ को छवि बनाउन सफल पराजुलीका कविताहरू निकै चर्चित छन् । साहित्यिक कार्यक्रमहरू मात्रै होइन, विभिन्न साङ्गीतिक कार्यक्रममा समेत उहाँको माग बढ्दो छ । उहाँका कविता युट्युबदेखि फेसबुकसम्म उत्तिकै चर्चित छन् । कविता भन्नासाथ नाक खुम्च्याउने पछिल्लो पुस्ता पनि पराजुलीका कविता सुन्न टिकट काटेरै कार्यक्रमा पुग्न थालेका देखिन्छ । डिजिटल प्लेटफर्ममा पनि उहाँलाई पछ्याउनेहरू उत्तिकै छन् ।   

साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवस भन्नुहुन्छ, “साहित्यले यसरी फड्को मार्नुको कारण प्रविधिको सुविधा नै हो । यो प्रविधिलाई अझ बढी कसरी सदुपयोग वा प्रचारप्रसार गर्ने भन्नेतर्फ पनि सोच्नु पर्छ । प्रविधिको प्रयोग हुन थालेपछि विगतको तुलनामा कविता लेखन र वाचन थप लोकप्रिय हुन थालेको छ ।” किताब लेखन, प्रकाशन, पढ्ने बानी र विभिन्न महोत्सवले साहित्यलाई झन् माथि उकास्ने काम गरेको उहाँको भनाइ छ । उहाँ साहित्यलाई उच्च बनाउने काम कवि र लेखकको मात्र नभई निजीस्तरबाट खुलेका प्रकाशन गृहहरूले पनि उत्तिकै जिम्मेवारीबोध गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

कवि विप्लव प्रतीक पहिले सरकारी प्रकाशन गृह साझा प्रकाशनले मात्र यो जिम्मेवारी पूरा गर्दै आएकोमा हाल केही निजी प्रकाशन गृह पनि खुलेपछि साहित्य क्षेत्रमा बढोत्तरी आएको बताउनुहुन्छ । निजी प्रकाशन गृह थपिएसँगै लेखकहरू पनि थप प्रोत्साहित भएका छन् ।  उहाँ भन्नुहुन्छ, “लोकप्रिय हुने नहुने पछिको कुरा हो तर चर्चामा आउन जसले पनि पाउँछ । अलोकप्रियहरू पनि चर्चामा आउन पाउँछन् । भ्रष्टहरूको वाहवाही मच्चिरहेछ भने साहित्यकारहरूले चर्चामा आउन किन नपाउने ? पाउनु पर्छ । जसले हृदयस्पर्शी, जीवनोपयोगी र मोहक रचना गरेका छन्, तिनको प्रचार हुनु राम्रो कुरा हो ।”

कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट् बालकृष्ण सम, भूपी शेरचन, विश्वेश्वरप्रसाद कोइराला जस्ता लेखक नेपाली साहित्यका धरोहर हुन् । कवि, लेखकले त्यति बेलाको नेपाली समाजलाई परिवर्तनको सँघारमा ल्याएका थिए । फरक यति मात्रै हो, त्यति बेला समाजमा शिक्षितको बाहुल्य थिएन । साहित्य सीमित व्यक्ति र समुदायले मात्र रुचाउँथे । अहिले त्यस्तो छैन । समाज विकास र आधुनिकतासँगै नेपाली साहित्य क्षेत्रमा नयाँ नयाँ कवि र लेखक जन्मिएका छन् । तिनले नेपाली साहित्यको फाँट फराकिलो र अग्लो बनाएका छन् । अझ अहिले जीवनी, आत्मकथा र गैरकाल्पनिक पुस्तकहरूको त ओइरो लाग्न थालेको छ । ती विषय पनि अब पुस्तकमा पढिरहनु पर्दैन, डिजिटल प्लेटफर्ममा रेकर्ड सुन्दा हुने अवस्था छ । यसले साहित्यकार वा लेखकको दायरा फराकिलो बनाइदिएको छ ।